मुक्तक

५.भन्दा भन्दै लेख्दिन म कलम किन थमाउँछौ
जब लेख्न थाल्छ सत्य हात किन समाउँछौ
तानेरै भा नि दोस्राको खुट्टा आफुलाई उचो बनाउँथ्यौ त
अव उभिनु छ एक्लै तिमीले खुट्टा किन कमाउँछौ?

६.सम्झियो भगवान जसलाई उसैले किन दास देख्छ
देओस् कोही अक्सिजन नै देख्नेले किन बतास देख्छ
साविक भन्दा अलि बढी चिल्लो चाप्लो घस्नेलाइ नै
किन होला दुनियाले देख्नु सम्म खास देख्छ।।

७.गयौ पनि यसरी गयौ नमुना बनाएर
आफु भोटको मदन मलाई मुना बनाएर
कुर्दा कुर्दै जिन्दगीको आधा सफर सक्किएछ
मुटु भित्र पिरको पहाड दुगुना बनाएर।।

८.तिमी भित्तो म पात्रो सँगै हुने कुरै भएन
तिमी महल म छाप्रो सँगै हुने कुरै भएन
किन पर पर हुन्छेउ भन्दै प्रश्न नसोध्नु भो
तिमी खल्ती म कात्रो सँगै हुने कुरै भएन।।

मुक्तक

१.गाउँमा जस्तो प्रिय कुरा भेटिदैन शहर तिर
दुर गाउँको मीठो झल्को मेटिदैन शहर तिर
जान्दा जान्दै मुखमा राम बगलीमा छुरा हुन्छ
रहरले कोहि पनि लखेटिदैन शहर तिर।।

२.म घाम हुँ आकाश बदल्न सक्दिनँ
र म तिम्रो इसारामा चल्न सक्दिनँ
कुर्ने हिम्मत नहुँनेले आफ्नो बाटो फेरे हुन्छ
बेलै नभइ पश्चिम दिशा ढल्न सक्दिनँ

३ करले हुँदैन माया, डरले हुँदैन माया
तिमी गर्छौ व्यर्थै रहर, रहरले हुँदैन माया,
पर्खेर समय त्यो जितौँला प्रित नसोचे
जो हुन्छ हुन्छ आफैँ,प्रहरले हुँदैन माया।

४.सवाल हरुको वस्तीमा म जवाफ खोजिरहेछु
लाग्छ हत्तारको दुनियामा लगाब खोजिरहेछु
सबै आफ्ना सबै राम्रा शंका गर्नु कसलाई गर्नु
त्यहि भिडमा नकावधारी खराब खोजीरहेछु।।

गाइडिङ गर्दा जन्मदिनमा भोकै

नियमित स्तम्भ गाइडमा नेपालनाम्चा प्रस्तुत गर्छ, पिपला ढुङ्गाना ।

तपाई टुर गाइड । कहिलेखि गाइडिङ सुरु गर्नुभयो ?
हजुर म पथप्रदर्शक । सन् २०१७ को शुरुवातदेखि (टुर गाइड) पथप्रदर्शकको हैसियतले पर्यटन क्षेत्रमा रहिआएको छु ।

किन र कसरी सुरु भयो यो यात्रा ?
मलाई पहिलेदेखि नै नयाँ ठाउँ र नयाँ मान्छेहरुको बारेमा जान्न निकै मन पर्थ्यो, जसबाट हामीलाई प्रत्यक्ष रुपमा धेरै कुराहरु सिक्ने अवसर प्राप्त हुन्छ । नयाँ मान्छे भेट्ने मौका मिल्नु भनेको नयाँ संस्कृतिका बारेमा जान्ने ठुलो अवसर पनि हो । र, मान्छेका फरक प्रवृतिलाई नजिकैबाट नियाल्ने मौका पनि हो । फेरि म प्रकृति प्रेमी मान्छे । मलाई अहिले पनि प्रकृतिको नजिक हुनुले जतिको आनन्द अन्य कुराले दिँदैन । अन्य पेशामा रहेर यो सबैका लागि समय छुट्याउनु समय व्यवस्थापनका दृष्टिले भनौँ या आर्थिक रुपले पनि त्यति सहज हुँदैन थियो । फेरि म फ्रिल्यान्सर भएर काम गर्न मन पराउने मान्छे, त्यो भन्दा पहिले गरेका कामहरुको अनुभव भनौँ भने पनि १०-५ कै जागिर मात्रै गर्नुले मलाई खास सन्तुष्टि मिलेन । फेरि भुकम्पपछिको समयमा धेरै मान्छेहरु बेरोजगार भए । त्यसमा म पनि परेँ । त्यहि खाली समयको सदुपयोग स्वरुप मैले चिनियाँ भाषा सिक्ने अठोट गरेँ । र पर्यटन क्षेत्रमा केहि गर्छु भनेर पथप्रदर्शकको पेशा अँगालेको हुँ ।

खासमा यो गाइडिङ भनेको के हो ?
हामी गाइडहरू पर्यटनलाई नै पेशा बनाएका मान्छे हौँ । हामीले आफ्नो देशमा भएका फरक संस्कृति, भेषभूषा, भाषा साथै हाम्रा सम्पदा र धरोहरको बारेमा भएका चाखलाग्दा र महत्वपूर्ण जानकारी सहज र सरल भाषामा आफ्ना पाहुनाहरुलाई दिन सक्नुपर्छ, जसबाट आफ्नो राष्ट्रको बारेमा एक किसिमको सकारात्मक सन्देश प्रवाह गर्न सकियोस् । साथै आगन्तुकहरुले भ्रमण गर्ने ठाँउहरूको अर्थ बुझ्न मद्दत पुर्याउनु पनि हाम्रो काम हो र त्यो नै सहि मानेमा गाइडिङ हो जस्तो लाग्छ । त्यसैले पनि होला पथप्रदर्शकलाई ​एक किसिमको राजदुत हो भनिने गरिएको ।

झट्ट हेर्दा गाइडिङ भनेको फन जस्तो लाग्छ । तर, के यो फन मात्रै हो त ?
झट्ट हेर्दा गाइडिङ भनेको फन हो जस्तो उहाँहरुलाई लाग्छ जो यो क्षेत्रभन्दा बाहिरबाट हुनुहुन्छ । यो क्षेत्रको बारेमा जान्नका लागि यसैमा लागेको मान्छे चाहिन्छ । गाइडिङ भनेको फन मात्रै हो भन्ने कुरा घरमा बसेर दिल्ली यस्तो ठाउँ हो भनेर गरिने आँकलन जस्तो मात्र हो । अन्य पेशा व्यवसायमा काम गर्ने एउटा निश्चित समय हुन्छ । तर, हाम्रो पेशा त्यस्तो पेशा हो जहाँ समयको सिमा हुँदैन । पाहुनाका समस्या समाधानका निम्ति हामीले आफुलाई सदैव तयार राख्नु पर्छ । खाने समयदेखि आराम गर्ने समयसम्म कुनै निश्चित हुँदैन । हाम्रो खाना खाने समय, आराम गर्ने समय र फरक भुगोलबाट आएका मान्छेहरुको समय उस्तै हुने कुरै भएन, जुन कुरा त्यति सहज कुरा होइन, जसको कारण गाइडिङलाई मान्छेले बाहिरबाट हेर्दा जस्तो फन मात्रै हो भन्न मिल्दैन । तर, आफ्नो कामप्रतिको विश्वास र लगावले हामीलाई यसले फन नदिएर धरै छैन ।

असल गाइडमा हुनुपर्ने पाँच गुण के हुन् ?
असल गाइडमा हुनुपर्ने धेरै गुणहरू छन् । त्यसमध्ये पनि मलाई महत्वपूर्ण लागेका ५ गुणहरू :

क. समयप्रति निष्ठावान,
ख. कर्मप्रतिको इमान्दारिता,
ग. धैर्यता,
घ. नेतृत्व गर्न सक्ने क्षमता,
ङ. उर्जावान व्यक्तित्व ।

गाइडिङ गर्दाका केही सम्झनायोग्य प्रसंग होलान् । सम्झनुस्न् ।
त्यस्ता सम्झनलायक कुराहरु धेरै छन् । केही रमाइला छन् र केही नमज्जा लाग्ने पनि छन् । मन दुखेको कुरा नै सुनाउँछु । २ वर्ष पहिले मेरो जन्मदिनको दिन म एउटा फ्रेन्च जोडीसँग थिएँ । बिहानको खाना खाने समय भयो । हामी बसन्तपुरको द तलेजु भ्यु मा थियौँ । रेस्टुरेन्ट पुरै प्याक थियो । रुफ टपमा एउटा टेवल खाली रहेछ । उनीहरुबीच के कुरा मिलेन कुन्नी, बुढाबुढीबीच झगडा भयो । फ्रान्सेली भाषामा झगडा गरे गर्न त तर मलाई भने त्यहाँ बस्न नै गाह्रो भयो । न छाडेर हिँड्नु न त खाना सँगै खानु ? उनीहरूको झगडा के बिषयमा भयो पनि थाहा भएन । कतै मैले केहि कुरामा गल्ती गरेँ कि भन्ने पनि लाग्यो । बुढाबुढी ६० को हाराहारीका थिए । बुढाचाहिँ हिँड्न अलि नसक्ने भएकाले हामी बिस्तारै नै हिँडेका थियौँ । त्यहि पनि छिटो भएछ कि जस्तो पनि लाग्यो । उनीहरू शान्त नभइन्जेल म त्यहीँ उभिइरहेँ । पछि उनीहरु आफैँले तिमी केहि खाएर आउ भोक लाग्यो होला, ३० मिनेटपछि तलेजु भवानीको मन्दिर अगाडि भेट्ने भनेर मलाई बल्ल हल्का भयो । हुन्छ भनेर म निस्किएँ । खाना खान एक्लै कहाँ जाने ? त्यहाँ बस्ने ठाउँ पनि थिएन । म निस्किएर कफी पिउँन गएँ । तर, मनमा भने नमज्जा लागिरहेको थियो । फेरि भोक पनि लागिरहेको थियो । ३० मिनेटमा त खाना अर्डर गरे पनि ल्याइदिँदैनन् । किनकी बिहानको खाना खाने समय त्यसै पनि व्यस्त हुन्छन् रेस्टुरेन्टहरु । म त्यो दिन भोकै परेँ । एक त जन्मदिनमा काम गरेको थिएँ । त्यो पनि भोकभोकै, अनि पाहुनाको रिसको कारण बुझ्न सकेको थिइनँ । दिनभर आफुलाई सामान्य राख्ने सक्दो प्रयास गरेँ । रिभिउमा केही नराम्रो लेख्ने हुन् कि भन्ने तनाव पनि भयो दिनभर । प्राय म एसियाली राष्ट्रहरूका आगन्तुकसँग हुन्छु । उनीहरूको स्वभाव सबै नमिल्ने भए पनि धेरै कुराहरु हामीसँग मिल्दोजुल्दो हुन्छ । पहिले पनि अन्य युरोपेली आगन्तुकसँग काम गरिसकेको भए पनि त्यो अनुभव मेरो लागि पहिलो थियो । र, कहिल्यै बिर्सन पनि सक्दिनँ त्यो जोडी अनुहार र मेरो जन्मदिन ।
घर परिवारसँग टाढा रहेर काममा खटिनुपर्ने काम रोजेपछि कहिलेकाहीँ मन दुख्नुलाई स्वभाविक रुपमा नै लिनुपर्छ । र, मैले पनि त्यसरी नै लिएँ ।

गाइड हुनुअघि र गाइड भइसकेपछि आफुले आफुलाई कस्तो फरक पाउनु भयो ?
गाइड हुनु अगाडि र पछाडि मैले आफुलाई धेरै नै फरक पाएँ । किनकी, म पहिले अत्यन्तै भावुक मान्छे थिएँ । सानो कुरामा पनि चित्त दुखाइ हाल्ने स्वभाव थियो । तर, जब काम गर्दै गइयो, ती कुराहरुलाई सम्हालेर जानुपर्ने रहेछ भन्ने कुरा सिक्दै गएँ । सामान्य कुराहरुमा पनि प्रतिक्रिया जनाइ हाल्नुपर्ने मान्छे सहनशील हुनु पर्छ भन्ने कुरा कामले सिकाउँदै लग्यो । समयको महत्व बुझ्ने अवसर प्राप्त भयो । म नेपाली समय भनेर कहिल्यै पनि समयमा उपस्थित नहुने मान्छेलाई समयमा पुग्नु भनेको कति महत्वपूर्ण कुरा हो भनेर कामले नै सिकाएको हो । यहि पेशाले नै मान्छेहरुसँग निर्धक्क भएर अन्तरक्रिया गर्न सक्ने बनाइदियो । यो भनेको राम्रो कुरा हो ।

अहिले कोभिडक्रमले यो पेशा त चौपट्टै भयो । व्यवहार र दिनहरु कसरी बितिरहेका छन् ?
वर्तमान समयमा म र मजस्ता थुप्रैको पेशा धरापमा परेको छ। अझ भनौँ पर्यटन क्षेत्र नै जटिल अवस्थाबाट गुज्रिरहेको छ। अहिलेको समय भनेको पर्यटन र पर्यटनसँग सम्बन्धित सम्पूर्णको लागि संकटको समय हो । यो समयसँग हामी सबै मिलेर सामना गर्नुको विकल्प पनि छैन । अहिले म काठमाडौंका केही विद्यालयहरुमा चिनियाँ भाषा अध्यापन गर्दै आएकी छु ।

आफ्नो पेशासँग खुशी हुनुहुन्छ ?
हजुर खुसी छु । पथप्रदर्शकको हैसियतले पर्यटन क्षेत्रमा रहेर काम गर्छु भन्ने निर्णय मेरो आफ्नो हो । मलाई मेरो पेशा छनोटप्रति ग्लानि छैन । खास खुसी भनेको त्यही नै हो ।

नयाँ आउने गाइडहरुलाई के सन्देश दिन चाहनुहुन्छ ?
पर्यटन क्षेत्र त्यस्तो क्षेत्र हो, जो देखे जति सहज छैन र मनबाट काम गर्यो भने त्यस्तो कठिन पनि छैन । देखासिकी गरेर, कसैले कमाएको देखेर मात्रै यो क्षेत्रमा आउनु भयो भने मात्रै गाह्रो हो । म पर्यटनमा नै केही गर्छु भनेर दृढतापूर्वक आउनुभयो भने यो स्वर्ग पनि हो । हाम्रो पेशा मौसमी पेशा हो । हुन पनि सक्छ नहुन पनि सक्छ । त्यसको लागि आफुलाई तयार गरेर मात्रै आउनु भयो भने भोलि पछुतो हुँदैन ।

अन्त्यमा केही भन्नु छ ?
खास त्यस्तो केही भन्नु त छैन । तर, यो कठिन समयमा कति धेरै पथप्रदर्शक साथीहरुको घर परिवारको बिचल्ली भएको छ, कति साथीहरु बेरोजगार हुनु भएको छ । पर्यटन जस्तो देशको अर्थतन्त्रमा ठूलो सम्भावना बोकेको क्षेत्रमा काम गर्ने सम्पुर्णप्रति राज्यको आँखा परोस् भन्ने लाग्छ । उनीहरूको हक र हितका लागि पनि आवाज उठ्नुपर्छ । आवाज उठ्ने मात्र होइन कि उनीहरुको हक र हितका निम्ति पहल गरिनु पर्छ । अहिले पनि पथप्रदर्शकहरुको जीवन विमाको कुरा नउठ्नु लज्जास्पद हो । अहिलेको पर्यटनको ब्यापार पनि सिमीत ठाउँमा मात्रै भएको छ । ट्रेकिङ्गमा भन्दा पनि टुरको क्षेत्रमा यो समस्या धेरै छ । त्यसैले यसको क्षेत्र विस्तार पनि अबको आवश्यकता हो भन्ने लाग्छ ।

सक्किएको इहलीला

Pipala Dhungana, पिपला ढुङ्गाना

लेखिका पिपला ढुङ्गाना/ pipala dhungana

माघ महिनाको कठ्याङ्ग्रिँदो जाडोमा आधा आधी फाटिसकेको एकसरो घाँघरमा देखिन्छे चमेली।उसलाई देखेर आफ्नो बालापनको एउटा यथार्थ झल्को आउँथ्यो ।फुरुङ्ग परेर हावाको तेज जसरी आउँदै गरेकी उसलाई हेरिरहुन् जस्तो लाग्थ्यो।मेरो हेराइ को गति भन्दा पनि तेज उ मेरो अगाडि आइपुग्छे।दिदी कहिले आउनु भा? म हिजो आएको नानी,तिमी सन्चै छौ?मैले भनेँ।कता हिडेकि नानी? मैले सोधेँ ,त्यहीँ तल गैरीगाँउमा दूध लिन जान ला।उसले भनी।किन गाउँमा दूध पाइँदैन? मेरो प्रश्नको जवाफ मा उसले फर्काई,गाउँमा त सबै बस्तु भुईँचालो ले मरे नि दिदी ।कसै कसैको मा छन्,त्यही पनि त्यति ठुलो भइसक्यो भाइ यिनीहरूको फुर्ती,जे पनि खान्छ नि भन्छन्। दूध दिनै मान्दैनन्। त्यहीभर तल बाटै ल्याउने ग-याछ।यस्ती सानी बच्चीको दिमागमा पनि नराम्रो लागेको कुरा मान्छे हरू कसरी भन्न सक्छन् होला?

मनमनै आफैलाई प्रश्न सोधेँ । दिदी म गएँ है।अहिले पछि हाम्रो घराँ आउनु भन्दै चमेली दौडिन्छे र ओझेल पर्छे मेरो आँखाबाट। मेरा आँखा भने उसले टेकेको जमिन छाड्न मानिरहेका छैनन्  ।अगाडि ममी देखिनुहुन्छ । नानु चिया खान आइज । म झसङ्ग हुन्छु !अनि उठेर चिया पिउन जान्छु । चियाको गिलास समाउँदै मैले भनेँ यो चमेली कति ठुली अनि बुझ्ने भएकी है मामु?

पुतली जस्तै राम्री पनि छे।कति छुनुमुने।उडुँला जसरी हिडेकि म पनि यसरी नै हिँड्थेँ है मामु ? मेरो कुराले ममी लाई मेरो बचपन को याद आयो होला।ममी केही अध्यारिनु भयो ।तँ त यो भन्दा पनि छुनुमुने थिइस्।जे काममा पनि हतार गर्ने ।यहाँ पढ्दा सम्म त ठिकै थियो नजिकै छे भन्ने लाग्थ्यो । ६ कक्षा बाट चाहिँ सारै पिर लाग्थ्यो ।भिरको बाटो,उमेरले पनि अरूभन्दा सानी थिइस्।लड्छे कि भनेर चिन्ता हुन्थ्यो ।सधैँ अरूले छोडेर आँउथेे, हिँड्न नसक्ने भनेर ।लिन जान पनि भ्याइनभ्याइ हुन्थ्यो घरमै।फेरी लिन जाने पुर्‍याउन जाने चलन पनि नहुने ।नआउन्जेल आधामन बनायो त्यति हो।मैले ममी लाई हेरी राखेँ। तैँले एस एल सी पास गरेपछि काठमाडौँ जाने कुराले म कति रुन्थेँ।अर्काको ठाउँ कसैले केही गर्लान् कि जस्तो लाग्थ्यो ।आमाको आखाले आफ्ना बच्चालाई सधैँ साना देख्छन् नि बाबै!ममी त रुन पो थाल्नु भो।मामु किन रुनु भको हो के??म हजुरकै अगाडि सकुशल त छु।मैले भनेँ । चिया सेलाउन लागिसकेछ गफैगफमा चिया सेलाएछ मामु,मैले भनेँ।तताइ दिँउ ?? ममिले सोध्नुभयो ,पर्दैन मैले भनेँ।

साँच्ची मामु त्यो चमेलीका बा कहाँ छन् अचेल ? लीला भाउजू त भूकम्पमा परिन् है बिचरी!ममी केही सम्झिए जस्तो गरेर बोल्नु भयो ।कहाँ हुनु मोरो एउटी स्वास्नी च्यापेर दिल्ली पस्यो रे।घरमा ४ जना बच्चा र बुढी आमा छन्।कमाउने कोही छैन।भएको दैवले हरी हाले!ममी बोलिरहनु भयो । बिर्खे दाइले त्यसो पो गरे है ? मैले मनमनै दोहोर्‍याएँ ।अनि मामु हेर्दैनन् केही पनि?ममीको कुराले प्रस्ट भइसक्दा पनि अझै चित्त नबुझेर सोधेँ मैले।के हेर्थ्यो ४ ठाउँमा पोइल गइसकेकी,आमा कि उमेरिकी  स्वास्नी टिपेर हिँडेको मरे जिउँदोको खुट छैन।

ती साहिँली दिदी पनि सारै अभागी रहिछिन्।उ बेला बाहुन हुँदा नि कहिल्यै सुख दिएनन्।टन्न खान पनि डर थियो।सम्पत्ति जति भए पनि के काम रहेछ र?।पछि ७ वटी छोरी मुनी यो बिर्खे जन्मेको ।न सुत्केरी मा स्याहार पाइन् न टन्न खान।मान्छेहरू छोरा छोरा भनेर मरिहेर्छन् आ केही नाप्दैनन् छोराले पनि!ममी आक्रोश पोख्दै हुनुहुन्थ्यो ।लीला हुँदा कस्ता थिए यी बच्चाहरू अहिले कस्ता छन्,बिचरा!भगवान् लाई पनि राम्रै चाहिँदो रहेछ।सँगै पुरिएकी सासू लाई धन्न बेलैमा निकाले।नभए त अहिले बाटोमै हुन्थे बिचराहरू।बाउ नभएर छोराछोरी टुहुरा हुदैनन ।आमा भनेको आमै हो बाबै। हुने भए नि खुनी भएनि।आमा नभए पछि त बाटोमै आउदारहेछन्।कुनै कुनै बाउ मात्र हुन्छन् आफ्नो कर्तव्य पूरा गर्ने।ममिलाई पनि को सँग पोखूँ जस्तो भएको रहेछ।म सँग पोख्नुभयो।हलुका भयो होला मन।त्यसपछि ममी खाना पकाउन थाल्नुभयो।म घाम ताप्न निस्केँ।पानिपरेको भोलिपल्ट,पानी रोकिए पनि घाम मज्जाले लाग्न सकेको थिएन।जस्ताको कटेरोमा यो ठंडी काट्न मुस्किल परिसकेको थियो पुरै बस्तीलाई।

बाहिरी शरीर लाई झरीले चिसो बनाए पनि मन भत्भति पोलेको छ। फेरी उही बाटो भएर चमेली आउँछे,म हेरी रहन्छु।साँच्चै आमा हुँदा र नहुँदाको फरक कति छ है??मन मनै दोहोरिइरह्यो।हातमा एउटा कोकाकोला को मैलो बोतल ।धुवाँले कालो भएको ,त्यसमा आमाको छातीको न्यानोपन खोजाउनु आफ्नो भाइलाई ।घाम ताप्न ला दिदी ??अगाडि आएर उ सोध्छे।अँ नानी , म त्यति मात्रै बोल्छु।उसलाई देखेपछि मेरा आँखा आँसुले टम्म भए।मन पनि भारी,गह्रुङ्गो!!कुन्नि के ले थिचे जस्तो ।निसास्सिए म !वास्तवमा मेरो मनमा वैशाख १२ को भन्दा पनि ठुलो भूकम्प गयो ।चिच्याउन मन लाग्यो यो बेथितिको विरुद्ध ।

एउटी आइमाई बिना महिना दिनको मेलोमेसो धान्न नसक्ने हरुले महिला माथि नै गरेको अन्याय को विरुद्ध!प्रत्येक दिन रक्सी खाएर घर आउँथे बिर्खे दाइ, पिट्थे ,तथानाम भन्थे र पनि आफ्ना बच्चाहरूको लागि कहिल्यै खाँचो र मायाको अभाव हुन दिइनन् तिनलेेे आज उनी नहुँदाको दशौँ महिना पनि बितेको छैन,पुरै अँध्यारो युगको सुरुवात भएछ । ३बटी छोरी मुनीको चमेलीको भाइ,बिचरा आमाको अनुहार समेत सम्झन सक्ने भएको छैन।यही छोरो पाउनको लागि कति छोरीहरूको हत्या भयो होला लीला भाउजूको कोखमा??जिन्दगी कति गाह्रो छ है ?? चलुन्जेल चल्छ,नचले घिसारेर भए पनि चलाउनु पर्ने ।

जसको अनुपस्थितमा आफ्नो एक जोर मोजा खोजेर लगाउन पनि मुस्किल पर्छ उसकै इज्जत गर्दैन लोग्ने मान्छे ।सती साबत्री जस्ती लीला भाउजूलाई लात्ताले भकुर्ने बिर्खे दाइ जस्ता बाउका कति बच्चाले आफ्नो मातृत्व गुमाए होला??मनमा अनेक वितृष्णा पैदा हुँदैनथ्यो ,ममीको आवाज कानमा ठोकिन्छ।नानु खाना खान आइज।म बिस्तारै घामको आशा कुर्न छाडेर खाना खान जान्छु ।।दिन भर फेरि पानी पर्छ।चिसो झन् मौलाएको छ।टिनबाट पानी चुहिएर झन् आशिलो बनेको छ आच्छ्यान!!अर्को एउटा चिसो निन्द्रा निदायो बस्तीले।

तपतप पानीको छानो ओढेर बिहान उठ्दा गाउँ भरी हल्लाखल्ला थियो।बिर्खेलाई मारेछन् नाकाबन्दी को अवज्ञा ग-यो भनेर ! लास बुझ्न जानू प-यो रे ! आङ सिरिङ्ग हुन्छ ।चमेली उसैगरि दूध लिन जाँदै हुन्छे,उही फाटेको घाँघर र खाली खुट्टा । उसलाई सुनाएका छैनन् होला।बिचरी कति न ठुली छे र के बुझ्ली ? ७ वर्षकी त हुँदै छे। कसरी कट्ला बाँकी समय ? साना साना को कति कति बिजोग होला । हुन त अहिले पनि हुनु नहुनु उस्तै हो ,त्यही पनि मन कहाँ मान्छ र?बिर्खे दाइले यी बच्चाहरू प्रति ठुलो अन्याय गरे । त्यो भन्दा ठुलो अन्याय त भगवान्ले गरे। हे ईश्वर के गर्‍यौ नि ! गाउँ पुरै रुवाबासीले शोकाकुल हुन्छ । शङ्खको आवाज कानमा ठोकिन्छ ! ट…………टुँ…….!

बच्चाका अगाडि झगडा, हामी कति तगडा ?

pipala dhungana पिपला ढुंगाना

पिपला ढुङ्गाना

केहि समय अगाडी एउटि साथिसँग कुरा गर्दै थिएँ । कुरैकुरामा उसले आफ्नो घर झगडाको विषय निकालि । र, भनि – ‘फेरि पनि झगडा भयो यार । मैले बच्चाकै अगाडि झगडा भयो र ? भनेर सोधेँ । उसले भनि, ‘हो बच्चाकै अगाडि भयो’ । जे समस्या भए पनि बच्चालाई नदेखाउनु सकेसम्म भन्दै गर्दा उसले भनि कति दिन ढाक्ने के ? जसरी पनि थाहा पाउनु नै छ एकदिन उसले पनि । यसो भन्दै गर्दा उ साह्रै निराश सुनिन्थि। केहि बेरको गन्थनपछि टेलिफोन वार्ताबाट हामी छुट्टियौँ । म सोच्न थालेँ हाम्रो प्रवृत्तिले विचरा वच्चाहरुलाई कस्तो असर पर्दो हो ! मेरी साथिको ५ बर्षे छोराको मनमा कस्तो कुरा खेल्दो हो ? कति त्रास होला विचराको मष्तिष्कमा ?

आजकल सामाजिक सन्जालमा आउँने खबरहरुमा पनि बाउ आमाको प्रत्येक दिनको किचलोले बाल बच्चालाई कति सम्म अप्ठ्यारो पारिरहेको हुन्छ भन्ने थाहा हुन्छ। कति बच्चाहरु त घर छाडेर सडकसम्म आइपुग्छन् । कारण सोध्नुपर्छ घर झगडादेखि दिक्क भएर भन्ने जवाफ दिन्छन् ।

करिब ९ बर्ष अगाडि म किर्तिपुरमा बस्थेँ । त्यो बेला घरबेटी भाइ ११ कक्षामा पढ्दै थिए । घरमा बस्दा पनि दिनभर ढोकामा चुकुल लगाएर बस्ने, आमासँग झगडा गर्ने, बिना काम पैसा माग्ने, कलेज जान पनि मन लागे जाने नभए नजाने गर्थे । राम्रो कुल घरको छोरा यसरी बिग्रिएकोमा परिवारका सबै जना चिन्तित हुनुहुन्थ्यो। उहाँहरुले धेरै नै कोसिस गर्नु भएको पनि हो, उनलाई कुलतमा फस्न नदिनँ । तर, बाउ आमाको दिन दिनैको घरझगडा देखेर हुर्केका उनीलाइ नशाको बानि भइसकेको थियो। सानो हुँदा वास्ता नगरिएका हाम्रा लालाबाला ठुला हुन समय लाग्दैन । हुर्काइले उसलाई जे बनाउँछ त्यो कुरा मेटाउन सजिलो पनि हुँदैन । तर, यो कुरा हामी धेरैलाई जरुरतको बिषय लाग्दैन।

साना बच्चालाई बाउआमाले उति गम्भिर रुपमा लिँदैनन् । सोहि कारण बच्चाको अघि बाउआमा गम्भीर विवाद गर्छन् । र, कतिपय अवस्थामा भौतिक हिंसामा उत्रन्छन् । तर, आमाबाबुले गर्ने सामान्य वादविवाद बालबालिकाको निम्ति भने सामान्य हुँदैन । किनकि उनीहरुमा बाउआमाको अन्तरकलह बुझ्न सक्ने ज्ञान विकास भइसकेको हुँदैन । वालवालिकाको अगाडि सामान्य बहस मात्र गर्दा पनि बालबालिकाका लागि त्यो असामान्य झगडा लाग्न सक्छ। आफ्नो आँखाअगाडि आमाबाबुले बारम्बार एकअर्काको कमीकमजोरी मात्रै केलाइरहँदा, गल्ती देखाइरहँदा र शत्रुवत ब्यबहार गरिरहँदा स्वभाविकरुपमा बालबालिकाहरू व्याकुल, चिन्तित र निराश हुन्छन् । त्यसले बच्चाको मनोविज्ञानमा जीवनभर गम्भीर असर पार्छ।

बालबालिका सामु हामीले जिम्मेवारी निर्वाह गर्ने नाममा र अनुशासित बनाउने चक्करमा जानी नजानी अन्याय गरिरहेका हुन्छौँ । सकारात्मक बनाउनका लागि गरिने कडिकडाईले त बालबालिकालाई तिब्र असर परिरहेको हुन्छ भने सोचौँ त हामीले के के बहानामा उनीहरुलाई अन्याय गरिरहेका छौँ होला ?

सानो कुरामा श्रीमान या श्रीमतीलाई कुटपिट गर्नु, परिवारका कमजोर सदस्यमाथि झम्टिनु विवेक गुमाउनु हो। त्यसो गर्नुमा मान्छेमा ‘आफू सर्वेसर्वा हुँ’ भन्ने इगो र अहंकारले काम गरिरहेको हुन्छ।

एकै घरमा रहँदा आफन्त र परिवारमा सामान्य भनाभन र वादविवाद हुनु फरक कुरा हो। तर हामी सामान्य स्थितिमा पनि आफ्नो रिसलाई नियन्त्रणमा राख्न सक्दैनौँ । जसको परिणामस्वरूप हिंसा निम्तिन्छ । जसको असर बालबालिकामा परिरहेको हुन्छ । छरछिमेकमा सर्दछ र समाजभरी नै सल्किन पुग्दछ।

बालबालिका काँचो माटो हुन् । जसलाई हामीले जस्तो आकार दिन्छौँ उस्तै भएर हुर्कन्छन् भन्ने बुझेर पनि हामी सोही अनुसारको व्यवहार गर्न सकिरहेका छैनौँ । उनीहरुलाई के बनाएर हुर्काउने हो भन्ने कुरा तपाइँ हाम्रो घरको वातावरणले निर्धारण गर्छ । हामीले जुन किसिमको कृयाकलाप देखाएर हुर्काउँछौ त्यो नै बालबालिकाको निम्ति भोलिको संस्कार हो । पारिवारिक कलह र झैझडा भैरहने घरमा हुर्केका प्राय: बालबालिका भोलिका झगडालु हुने निश्चित छ।

हाम्रो झगडाका प्रत्यक्षदर्शी र मुख्य पीडित बच्चा हुन् । तर, हामी ठान्छौं यिनिहरुले थाहा पाएर के नै हुन्छ र ? अझ तँ बच्चा भएर जान्ने हुन नआइजु भन्नु हाम्रो लागि सामान्य हो । तर, त्यो हामीले गरिरहेको वृक्षारोपण भोलि कसरि हुर्कन्छ भनेर हामीले वास्ता गर्दैनौँ । बीउ अनुसार न हुन्छ बिरुवा । हामीलाई समाजले बच्चाहरुको अगाडि प्रेम प्रकट गर्नुमा लज्जा मान्न सिकाएको छ। तर, खुलेर झगडा गर्दा भने अलिकति पनि संकोच मान्दैनौँ । बालबालिकाले के सोचिरहेका छन् भनेर जान्न पनि खोज्दैनौँ । तँ चुपचाप आफ्नो काम गर्नु, खान दिएकै छौँ लगाउन दिएकै छौँँ, यो हामी मध्ये धेरैले सानैदेखि सुनेर आएको गाली हो । तर, के हाम्रा बच्चाहरु चुपचाप रहनु समस्याको समाधान हो त ? बाहिर बोल्न नपाउँदा भित्रभित्रै कति गुम्सिएलान्र् ? हामी बारूद भएर पड्किरहँदा तिनको कलिलो मस्तिष्कमा कस्तो भावना उम्रदो हो ?

अचेलका खबरै हेरौं न, आफ्ना बालबालिकाले देख्लान् कि जस्तो गरेर पढ्नुपर्छ। ‘छोराद्वारा आमाको हत्या ।’ ‘छोरीले मारिन् आफ्नै बावु ।’, ‘५ वर्षीया बालिका १४ वर्षिय बालकबाट बलात्कृत।’ ‘ग्याँङफाइट्मा मारिए १५ वर्षिय बालक।’ यस्ता समाचार पढ्दा आङ नै सिरिङ्ग हुन्छ । तर, के यो सबै हुनुमा तपाई हाम्रो दोष छैन र ? यो सबै हुनुमा केले भुमिका निर्वाह गरिरहेको हुन्छ ? हामीमध्ये कतिले आफ्नो लागि सामान्य लाग्ने कुरा बालबालिकाले सामान्य तवरबाट लिन्छन् कि लिदैनन् भनेर जान्ने कोशिस गरेका छौँ ? यो सवाल आफैँसँग गर्नुपर्ने बेला भएको छ ।

कतिपय अवस्थामा हामीले यस्तै त हो, एकदुईचोटी गर्दैमा के फरक पर्छ र ? पछि सम्झने होइनन् यिनीहरुले भन्दै निस्फिक्री रुपले गर्न हुने र नहुने काम गरिरहेका हुन्छौँ । बालबालिकालाई मन्द स्मरण भएका भन्ठानेर गरेका तिनै कुराहरु पछि गएर हाम्रो ठूलो भुल सावित हुनसक्छ। एक सोधका अनुसार बालबालिकाहरुले सानोमा जे देख्यो, सुन्यो र पढ्यो आजिवन त्यही कुरा मस्तिष्कमा गडेर बस्छ। यहाँसम्म कि उनीहरुले सानो उमरेमा छँदा खाने हरेक खाद्यसामाग्रीको स्वाद र त्यसको परिणाम उनीहरुले चेतनामा सुरक्षित भएर बसेको हुन्छ । त्यसैले प्रत्येक काम कारवाही गर्नु पहिले आफ्ना बालबालिकालाई असर नपर्ने तरिकाबाट गर्नुपर्छ। किनकी तपाइँ हामीले सामान्य मानेका हाम्रा झिना मसिना बेवास्ताहरुले नै हाम्रा बालबालिकालाई दिनानुदिन हिंस्रक बनाउँदै लगेको छ।

नेपाल प्रहरीको तथ्यांक अनुसार २०१८ र २०१९ मा मात्रै २११ वटा बाल यौन शोषणका घटना दर्ता भएका थिए । तर कोविड–१९ को बन्दाबन्दी अवधि ९६ हप्ताभित्र मात्र १८ वटा बाल यौन शोषणको घटना दर्ता भएका थिए । त्यस्तै सरकारी तथा गैरसरकारी संस्थाबाट बिभिन्न समयमा भएका सर्वेक्षणहरुलाई हेर्ने हो भने पनि पिडित बालबालिकाको आँकडा सानो छैन । हाल फैलिरहेको कोरोना महामारीको चपेटाबाट पनि थुप्रै बालबालिका भिन्नभिन्न बहानामा पिडित भइरहेका छन् । अझ भनौँ उनीहरु उच्च जोखिममा परेका छन् । गत जुन महिनामा गरिएको सर्वेक्षणमा मात्रै महिला आयोगमा ६०४ वटा र ओरेक नामक महिला पूनर्स्थापना केन्द्रमा ४६५ वटा घटनाको अभिलेख राखिएको छ । जुन घटना लैङ्गिक विभेदमा आधारित हिंसाका घटना हुन् । तर त्यसको प्रत्यक्ष अप्रत्यक्ष असर बालबालिकामा परिरहेको हुन्छ ।

घरेलु हिंसा र त्यसले बालबालिकालाई पार्ने असरबारे बिभिन्न समयमा भएका अध्ययनले यो देखाउँदछ कि घरेलु हिंसा सहेका बालबालिकालाई शारीरिक र भावनात्मक रुपमा ठुलो चोट परेको हुन्छ । त्यसले उनिहरुलाई चिन्तित र उदास मात्रै नभएर हीन भावना जागृत गराउन उक्साएको हुन्छ । जसको परिणामस्वरूप अपराधको जन्म हुन्छ र उमेरसँगै त्यसको बिकसीत रुप देख्न सकिन्छ ।

घरमा हिंसाको चपेटामा परेका बालबालिकाहरू नै शारीरिक शोषणको सिकार हुन्छन् । घरेलु हिंसाको साक्षी भएका वा आफैँ दुर्व्यवहारको सिकार भएका बालबालिकाहरू दीर्घकालीनरुपमा शारीरिक र मानसिक स्वास्थ्य समस्याको गम्भीर जोखिममा पर्छन् । चाहे ति आमाबाबुबीच भएको हिंसाको साक्षी भएका बालबालिका हुन् या अन्य किसिमको हिंसाको साक्षी भएका बालबालिकाहरू नै किन नहुन् । उनीहरू भविष्यका सम्बन्धहरूमा पनि हिंस्रक हुने सम्भावना बढी हुन्छ ।

यसरी हुर्किएका बालबालिकामा बिभिन्न किसिमको शारीरिक समस्या देखा पर्छन् । मनोवैज्ञानिक रुपमा कमजोर हुनुले पनि शारिरिक समस्या उत्पन्न हुनुमा प्रत्यक्ष सरोकार राख्छ । यि र यस्ता बालबालिकाले आफ्नो धैर्य कायम गर्न सक्दैनन् । जसले उनीहरूलाई रिसाहा बनाइदिन्छ । हिंस्रक बनाइदिन्छ । यसरी पीडित बालबालिकाहरूमा हीन भावना जागृत हुने र आफैँलाई दोषी महसुस गर्ने नकारात्मक उर्जा पैदा हुन पनि समय लाग्दैन ।

घरेलु हिंसा र दुर्व्यवहार सहेर वा देखेर हुर्केका बालबालिकाहरुको आत्मविश्वास कमजोर हुन्छ। उनीहरू विद्यालयको विविध गतिविधिमा भाग लिन पनि रुचाउँदैनन् । उनीहरूलाई म कमजोर छु भन्ने कुराले पिरोलिरहन्छ। जसको कारण उत्कृष्ट नतिजा हासिल गर्न सक्दैनन् । यसरी बालबालिकाहरू जब किशोरावस्थामा पुग्छन् उनीहरूमा शारीरिक बल भरिँदै जान्छ । हिम्मत पनि बढ्दै जान्छ तर हामीले उनीहरुको आँट र हिम्मतलाई सहि मार्ग निर्देशन गर्न सक्दैनौँ । जसले गर्दा नकारात्मक उर्जाले काम गर्ने मौका पाउँछ । यसरी हुर्किएका किशोरकिशोरीहरु नकारात्मक काम गर्न थाल्छन् । जस्तै परिवारका सदस्यसँग झगडा गर्ने, विद्यालय छोड्ने, साथिभाई बटुलेर झै झगडामा संलग्न हुने जस्ता विभिन्न किसिमका जोखिमपूर्ण ब्यवहारहरूमा संलग्न हुन सक्ने सम्भावना प्रबल हुन्छ । जस्तो कि असुरक्षित यौन सम्बन्ध, नशालु पदार्थको प्रयोग, आत्महत्या प्रयास या आत्महत्यामा संलग्न हुन्छन् । आत्मसम्मानको कमीले उनीहरूलाई त्यसतर्फ प्रेरित गर्छ।

समाधान के त ?

सबैभन्दा पहिले तपाइँ हामीले आफ्नै घरभित्रको वातावरण बालबालिका मैत्री बनाउनुपर्छ । आफ्नो रिस र आवेगलाई बालबालिकामाथि पोख्ने बानी हामीमध्ये धेरैमा छ। जसलाई छाड्नुपर्छ । बालबालिकासँग नजिक रहेर उनीहरू के चाहिरहेका छन् र त्यो ठिक छ या छैन भन्ने कुरालाई पहिलो प्राथमिकतामा राखेर उनीहरुलाई असल र खराब के हो बुझाइदिनु पर्छ । असल हो या खराब हो मात्रै भनेर हाम्रा बालबालिकाको उत्सुकता मेटिदैन । त्यसैले उनीहरुलाई कारण सहित किन खराब छ र सहि छ भने के कारणले सहि छ भनिदिनु पर्छ ।

उनीहरुको समस्यालाई सहजीकरण गर्न सहयोग गर्नुपर्छ । समस्याको समाधान हुन्छ भनेर सिकाउनु पर्छ । जसले उनीहरुको मनोबल उच्च बनाउन मद्दत गर्छ । आफ्ना बालबालिकालाई कुनै दोस्रो बालबालिकासँग दाँज्ने काम कहिल्यै गर्नु हुँदैन । सबै बालबालिका आफैँमा बिशेष हुन्छन् । हाम्रो अर्को नराम्रो बानी छ, त्यो हो आफ्नो मर्जी वमोजिमको बिषयमा बालबालिका पोख्त होउन् भन्ने चाहना । त्यो कदापि राम्रो होइन । उनीहरुको रुचिका बिषयमा अघि बढ्न हौसला प्रदान गर्नु पर्छ । र, प्रतिभा निखार्न भ्याएसम्मको सहयोग गर्नु पर्छ ।

आफ्ना बालबालिकामा भएका परिवर्तनलाई नियाल्नु पर्छ । जस्तै बालबालिका उदास हुने, सानो प्रयास पश्चात निराश हुने, चिड्चिडाहट् बढ्ने, एक्लै बस्न रुचाउने गर्न थाले भने आफुले सकेसम्म सकारात्मक वातावरणको सिर्जना गर्ने र उनिहरूको आत्मसम्मानलाई ठेस नपुग्ने गरी सम्झाउने बुझाउने गर्नुपर्छ । आफ्नो समय आफ्ना बालबालिकालाई दिने, उमेर भन्दा पहिले सकिन्छ भने सामाजिक सन्जालमा नजोड्ने, यदि जोड्नै पर्ने भयो भने पनि यसको राम्रो पक्ष नराम्रो पक्ष यो हो भनेर बताइदिने गर्नु पर्छ ।

हाम्रा बालबालिका बिस्तारै निराशावाद तिर उन्मुख हुँदै गएका छन् । जसले गर्दा उनिहरुमा छिट्टै निराश हुने प्रवृत्ति बढ्दो छ । जसलाई कम गर्न बालबालिकालाई आशावादी बनाएर हुर्काउने प्रयास गर्नु पर्छ । त्यसको सुरुवात सानै उमेरदेखि गर्नुपर्दछ र हरेक कामलाई गम्भिरतापुर्वक लिइ व्यवहार दर्शाउँनु पर्दछ । बालबालिकाको हातमा ग्याजेट थमाएर आफुलाई स्वतन्त्र बनाउने काम बिल्कुलै गर्नुहुँदैन । यसले उनीहरुलाई क्षणिक आनन्द र स्वतन्त्रता दिएपनि दिर्घकालिन रुपमा प्रविधिको दासको रुपमा विकास गर्दछ ।

हाम्रो सानो सकारात्मक प्रयास बालबालिकाको भविष्य निर्माणको बलियो आधार हो । त्यसैले यस्ता कुराहरुलाई गम्भिरतापूर्वक अवलम्बन गर्नुपर्छ । र, आफूलाई चुक्नबाट रोक्नुपर्दछ । उनिहरूको समस्याको जरा पत्ता लगाई समाधान गर्न सकिन्छ । जसले गर्दा एउटा संस्कार सहितको भबिष्य निर्माणमा मद्दत पुग्दछ। हामी जसरी सभ्य समाजको परिकल्पना गर्दछौ त्यस्तो समाज निर्माणका निम्ति हाम्रा बालबालिकालाई तयार गर्नुपर्छ।आज खासै ध्यान दिइएन भने भोलि तिनैले चलाएको समाजबाट धेरै आशा नराख्दा पनि हुन्छ।

त्यस्तै हामीले गरेको सानो प्रयास गर्यौ भने सभ्य समाज आफ्नै जीवनकालमा भोग्न सक्छौँ । तर, त्यसको सुरुवात तपाई हामीले आजैबाट गर्नुपर्छ । राज्य र विकासवादी संस्था वा अधिकारका नाममा लड्ने लडाउँने व्यक्ति संस्थाले हामीलाई तात्कालिक अवस्थामा आड भरोसा दिएजस्तो लागेपनि सारमा ती सबै हामीलाई परजिवी बनाउँने यन्त्रणा हुन्।

तसर्थ, हामी आफै जागरुक भएर आउने पुस्ता र युगको घमाइलो परिवेश निर्माणका लागि कम्मर कसेर लाग्नु पर्छ। परिवर्तन हाम्रै जीवनकालमा सम्भव छ। त्यो ल्याउँने जिम्मेवारी तपाई हाम्रो हातेमालोबाट मात्र सम्भव छ।

published at rontlinenepal

गजल

pipala dhungana पिपला ढुंगाना

Pipala Dhungana पिपला ढुङ्गाना
उसको त याद पनि मदिरा पिएर आउँछ
मुटु खान एक गोलो धमिरा लिएर आउँछ

संसार सबै बैरी बनाइ जोडिएको मन पनि
आखिरीमा प्वालै प्वाल र चिरा लिएर आउँछ

बुढेसकालको साहारा सम्झिएको छोरो
मात्रै दशैँमा एक पोको जिरा लिएर आउँछ

साँच्चै मुटु पनि एक्लै कामको नहुँदो हो
र त साथमा धमनी र शिरा लिएर आउँछ

सक्नुपर्छ कटाउन कोइला जस्तो समयलाइ
एक दिन जिन्दगीले आफैँ हिरा लिएर आउँछ।।

गजल

गजल
पीपला ढुंगाना
कोहि आमा काटेर परशुराम बने
बने कोहि बा काटेर हराम बने

उता भोकै छन् पसिना बेच्नेहरु
किन्नेकै पक्षमा यता लाम बने

एउटै हो उभिएको जमिन र पनि
कोहि खम्बा कोहि मात्र डाम बने

तिम्रो पनि शहरमा बल्दैनथ्यो चुल्हो
नजानेर हराम बन्न म जस्तै राम बने

थैलीहरुको एकताले बेइमानी गरेपछि
टाउकोमा टेकेर साशकहरु खाम बने

मुक्तक

नाडि भन्दा मुल्यवान घडि भए पछि
तितो लाग्छ सक्खर पनि बढी भए पछि
पुतली जस्ता चम्किला सपना छिट्टै झर्दा रैछन्
अब फैलाउँछु सपना मणि भए पछि।।

मुक्तक

वाणीदेखि संगीत सम्म धुन अर्कैको हुन्छ
देखिनुमा रवाफिलो गुन अर्कैको हुन्छ
स्वाबलम्बी हुँ भनेर छाति फुलाइ हिड्नेहरुको
गलामा सुन र भान्सामा नुन अर्कैको हुन्छ।।