रोकियो

pipala dhungana पिपला ढुंगाना

साँच्चै अचम्मकै मझधारमा रोकियो
पानी माग्दै जिन्दगी किनारमा रोकियो

देख्नेले अनेक देखे भाग्य पनि मुहारमा
घुमिफिरी कुरा उहि निधारमा रोकियो

ज्याला लिएर गुजारा गर्नेले बिर्से सास फेर्न
जब राहत राजनितिको आधारमा रोकियो

सबै भएर पनि खल्लो लाग्यो आफ्नो भाग
जब स्वादको जस सबै अचारमा रोकियो

दिनु पर्ने नदिनु पर्ने सबै दियो समयले
मात्रै प्रेम झ्यालखानाको संघारमा रोकियो

मुक्तक

यता किसान मानो रोपी मुरी कुर्दै बसेका छन्
ठ्याक्कै साइत मिलाएर सलह गाउँ पसेका छन्
आउन पनि कति सम्म आउँन सक्या महामारी
जे जे आए ति सबैले निमुखालाइ डसेका छन्।।

Pipala Dhungana पिपला ढुङ्गाना

मुक्तक

मैले आकाश देख्न पाको धर्ति टेके देखि न हो
जूनको मूल्य बढ्दै गाको बादलुले छेकि न हो
तिम्रो आँखामा फूल हुँदा सम्मपनि ठिकै थियो
कुरा बिग्रिएको तिमीले काँडा देखे देखि न हो।।

Pipala Dhungana पिपला ढुङ्गाना

मुक्तक

नाडि भन्दा मुल्यवान घडि भए पछि
तितो लाग्छ सक्खर पनि बढी भए पछि
पुतली जस्ता सपनाहरु छिट्टै झर्दा रैछन्
अब उडाउँछु मात्रै चडि भए पछि।।

_Pipala Dhungana पिपला ढुङ्गाना

गजल

pipala dhungana पिपला ढुंगाना

गजल

Pipala Dhungana पिपला ढुङ्गाना

क्षणीक खुसी दिने न हो उपाधिले पनि
एक सुस्केरा सुस्काउँछ आजादीले पनि

डुङ्गा पछि लाग्दै गर्दा भेट्टाउनलाइ रफ्तार
बजाएन घण्टी आउनु पुर्ब बर्बादीले पनि

गर्जो टार्न नसकेर परदेशी बनेको हुँ हजुर
मेरै जून घाम भेट्टाएछ उफ् व्याधीले पनि

भोको पेटले सारंगी नरेटेको भए देखि
जीवन साथि भेट्टाउँथे ति वादीले पनि

मिल्ला शान्ति अलिकति भनेरै खरानी घसेको हुँ
अशान्तिको गुनासो गरिरह्यो समाधीले पनि

मुक्तक

सम्झियो भगवान जसलाई उसैले किन दास देख्छ
देओस् कोही अक्सिजन नै देख्नेले किन बतास देख्छ
साविक भन्दा अलि बढी चिल्लो चाप्लो घस्नेलाइ नै
किन होला दुनियाले देख्नु सम्म खास देख्छ।।

मुक्तक

सवाल हरुको वस्तीमा म जवाफ खोजिरहेछु
लाग्छ हत्तारको दुनियामा लगाब खोजिरहेछु
सबै आफ्ना सबै राम्रा शंका गर्नु कसलाई गर्नु
त्यहि भिडमा नकावधारी खराब खोजीरहेछु।।

मान्छे हुनुको अभिनय

pipala dhungana पिपला ढुंगाना

-पिपला ढुङ्गाना

अप्रत्याशित समय
भावावेशको संघार
केहि मिठा त केही तिता
आफ्नै जिन्दगीले बाँचेको जिन्दगानी
पोल्टाभरिको उकुसमुकुस, र
मुठ्ठीभरिको सकस साक्षी राखेर
एक फाँको मुस्कान चपाइरहन्छ मान्छे
समाज नामक सर्कसमा
स्थापित गरिराख्न आफूलाई

सडिसक्छ जिन्दगी
मुर्दाघरमा राखेको लाश जसरी
डसि डसि लम्पसार पार्ने
उहि समाजको मझेरीमा
त्यहि पनि
लगाइरहन्छ मान्छे जिन्दगी जिन्दावादको नारा।
अनि चिच्याउँछ आफ्नै आँखा अगाडि
साक्षी राखेर ऐनालाई
र भन्ने गर्छ
ए मान्छे तिमीलाई तिमी हुनुमा के ले रोकेको छ हँ?
तरंगित बनेर ऐना भित्रैबाट
सवालको जवाफ आउँछ
ए हमसकल
तिमीले यहि रंगमन्चमा
मान्छेको अभिनय वाला
नाटक मंचन गर्नुछ
अझै थुप्रै बर्ष।।

२ मुक्तकहरु

पिपला ढुङ्गाना

गयौ पनि यसरी गयौ नमुना बनाएर
आफु भोटको मदन मलाई मुना बनाएर
कुर्दा कुर्दै जिन्दगीको आधा सफर सक्किएछ
मुटु भित्र पिरको पहाड दुगुना बनाएर।।

तिमी भित्तो म पात्रो सँगै हुने कुरै भएन
तिमी महल म छाप्रो सँगै हुने कुरै भएन
किन पर पर हुन्छेउ भन्दै प्रश्न नसोध्नु भो
तिमी खल्ती म कात्रो सँगै हुने कुरै भएन।।

तीतो चिठी

Pipala Dhungana, पिपला ढुङ्गाना

पिपला ढुङ्गाना

प्रसव पीडाले छट्पटाइरहेकी
बनिनसकेकी आमाले
सन्तान जन्मिनुँको
पूर्व सन्ध्यामा
जमिन जतिकै उचाइको आवाजमा
मागिन् आगोको मसीले भावना कोर्ने अनुमति
र भनिन्

जुनाफ
एकैछिन पर्खनुहोस्
एउटा तीतो चिठी लेख्न चाहन्छु
मेरो शल्यक्रिया हुनु अघि नै ।

चिठीको व्यहोरा यस्तो छ
प्रिय सन्तान
तिमी जन्मिनु भन्दा
केही समय मात्रै अगाडि
तिम्रा लागि यो चिठी लेख्दैछु
ताकी तिमीले
यो ढुंगा जस्ता मान्छेहरूलाई
देउता बनाउने कला सिक्न सक।
छाडेर बनाउन मान्छेले पुज्ने
पत्थरका देउता।

म रहुँला या नरहुँला
कम्तीमा तिमी रहँदा सम्म
जोगिनू ती ढुंगाको ठेसबाट
जो तिम्रै पसिना पिएर
भर्छन् प्राण अनि तिनै हातले
समाउँछन् कठालो र घोक्राउँछन् तिमीलाई
मन्दिर पसेको कसूरमा
तिमीले बनाएको बहु भूजा भएकी
देवी पूजा गर्नेहरूले
तिमीलाई नै वर्जित गर्छन्
खुसी माग्न टाउको ठोक्काउँछु भन्दा

 

आरनको कोइलामा जवानी पगालेर
नअर्जाप्नु हँसिया र खूर्पा
धार नलगाउनु खुकुरीमा पनि
किनकी
तिमीले तातो रापमा पिल्सिएर
तिमीले नै धार लगाएको त्यो खुकुरीले
तिम्रै घिच्रो छिनाउनेछन्
केही कथित उपल्लो जातको पगरी भित्रका
ठ्याक्कै मान्छे जस्तै देखिने पाखण्डीहरूले
प्रेम गर्नुको अपराधको सजाय
केवल मृत्यु हुनेछ तिम्रा लागि।
त्यसैले तिमी बन्दै नबन्नू
प्रेमको चखेवा,
बरु बन्नु तिमी एउटा लडाकू
जसलाई गुमाउँदा
फुलोस् मेरो छाती
चौडा चौडा भएर।।