हाम्रै निम्ति कुरेको त्यो प्रहर हुनेछ।
प्रेम नै प्रेम को मायावी त्यो शहर हुनेछ।।
जब पर्खाइको सिमा अन्तिम तिर ढल्दै हुन्छ ।
मेरो सामु तिम्रो प्रेमिल नजर हुनेछ !
~Pipala Dhungana पिपला ढुङ्गाना
ऊ के गर्दै होला? एतिबेला
सम्झँदै मैलाइ होला कि
हराउँदै आफैँमा होला?
म त
म त सम्झिएरै हराउछुँ उसैमा
साँच्चै उ पनि हराएरै सम्झँदो हो त?
ऊ के गर्दै होला एतिबेला??
त्यो थुम्को माथि को बादलु ले
ऊसकै झझल्को दिलाइ रहेछ
ऊसले पनि हेर्दै होला कि
बिर्सियो होला ?
हाम्रो माया
ऊसले मलाइ सम्झे पनि
या नसम्झे पनि
म त उसकै अाकृति मनभरि सजाएर
बिर्सिरहेछु आफ्नो धरतल!
डाँडा को सल्लाको रुख
ढल्यो होला कि उस्तै होला?
म त उसै गरि नाम कोरिरहेछु
सल्लेबिर को जङ्गल भरि
साँच्चै उ मलाइ बिर्सेर पनि सम्झँदो हो कि
सम्झेर पनि बिर्सँदो हो?
आज केतुकेको झाङ देखेँ
म त चुर्लुम्म डुबेछु
त्यही झाडिमा
चसक्क बिझाउने गरि
उसको यादको इतिहास
उसलाइ पनि
दुख्यो होला त मेरो
चहराउने घाउहरु ले??
पिपला ढुङ्गाना, pipala dhungana
मैले उन्मुक्तिको नारा लाउन
उसै दिन छाडिदिएँ मेरी अामा
जब बुख्याचाहरूको बस्तीमा
तिम्रो चिच्याहट विलीन भयो ।
तिम्रो अस्मिताको लूटमा
यो शहरले खुसी मनाईरह्यो।
अनि
रङ्गीन साँझका लागि ओछ्याइए
तिम्रा कुमारी छोरीहरु
मैले बिद्रोह त्यसै दिन छाडिदिएँ मेरा बा
जब
तिमीलाई कठपुतली बनाएर
रगतको होली मनाए राक्षस हरुले
तिमी उचालियौ र बजारियौ भुइँमा
तमाशेहरुको भिडमा काटियो फेद
टुप्पोमा चडाएर तिमीलाई
उन्मुक्तिको नारा उन्मुक्त हुन
काफी नदेखेपछि
बिद्रोही स्वर न्याय प्राप्तिको
मिसाल नभेटेपछि नै हो
मेरा बा
मैले शालीन र शान्त भएर
तिम्रा प्रत्येक रगतका छिटाहरुको
बदला चाहेको
र
लाचार बेश्या बनेर पाई पाई हिसाब खोजिरहेछु
तिम्रो अस्मिताको
मेरो भाइको अर्थी उठेको दिन
दाइको चिता बलेको दिन
अनि दिदी बलात्कृत भएको दिन
यो दुनियाँले मनाएको तिहार सम्झेरै हो
मैले युद्ध त्यागिदिएको
रगत उमाल्ने संगीतले
आजकल मलाई छुँदैछुँदैन
मैले उमालेर पोखाउनेहरुको
बस्ती नियालिसकेँ
मौनताको तागत बुझेरै हो
मेरा बा
मैले होहल्ला छाडिदिएको
र प्राप्त गरेको हुँ मोक्ष ।
पिपला ढुङ्गाना, pipala dhungana
एउटा चिसो शरीर थियो ,तातिएको बाटो छेउमा ,
सुग्घरीलो भिडभाडमा देखेँ उसलाई माटो छेउमा,
कुल्चिएरै हिड्थे मान्छे बिर्सिएर मानवता ,
धर्म गर्ने होडबाजी सबेरै त्यो घाटो छेउमा ।
शंख घण्टी अावाज त्यो भित्रै पनि सन्नाटा थियो ,
कोलाहल मै शुन्य थिई उ समाजसेवा को दोबाटो छेउमा ,
कति गर्छौं? ए दुनियाँ ! ढोंगको खेती बन्द गर,
अालो घाउ नजरअन्दाज मल्हम लाँउछौ खाटो छेउमा ।
रक्ताम्य थियो फरिया उसको ,कुन्नि कति भोक मेटिए¿¿
खह्रो लागि ढल्दा पनि कतै थिएन अाँटो छेउमा ।
पिपला ढुङ्गाना, pipala dhungana
अतिक्रमणमापरेको नेपथ्यको
सदावहार यात्री म
मलाई छिचोल्नु छैन कुनै प्रतिस्पर्धा
म्याराथुनकै गतिमा हुँदो हुँ र पनि ।
–
टुकुचाको गल्लीमा नाक थुनेरै
यात्रा कटाइ रहन्छु
तर
कहिल्यै गन्हाएन मलाई
छेवैमा सेकुवा बेचिरहेकी
आमाको परिश्रम
गन्हाएन कसाइ दाजुको
रगतले लत्पतिएको हात
गन्हायो त केवल एउटा
अन्धाधुन्ध अव्यवस्था ।
–
डोकोभरि साग बेचिरहेकाहरु
पुल ढाक्ने गरी बसिरहेछन्
कपडा बेच्नेहरुको घुइँचो उस्तै छ
कठ्याङ्ग्रिदो जाडोको वेपर्बाह।
म देख्दैछु परिश्रमीहरु
नाथे गरिबीलाई
कति सजिलै लगाइरहेछन् पाखा
र लडिरहेछन् यो अस्तब्यस्त शहरसँग ।
–
पोहोर साल उजेली बम्बैमा मरी अरे
गरिबीबाट मुक्ति खोज्न निस्किएकि ऊ
अाफैं मुक्त भई
कुन्नि कति उकुसमुकुसपछि
सपनाको शहरले निल्यो उसलाई
यो साग बेच्दै गरेकी युवती
उजेली भैदिएकी भए।
मन भारी भएर पनि यो उजेली होइन
केवल गरिबी मात्रै मिलेको हो उसको ।
–
तल्लो गाउँकी चमेलिलाई कुवेत मा
झुन्ड्याइयो अरे कुन्नि कुन बेकसुरमा
त्यो बाटोको कपडा बेच्ने दिदी
चमेली भएर पनि चमेली होइनन् ।
जब रहर लाग्दो सपना काल बनेर
अाँखै अगाडि लमतन्न परि दिन्छ
मान्छे विवश बन्दोरहेछ
अात्मसमर्पण गर्न जिन्दगीसँग ।
–
विज्ञान विषयको डिग्री बोकेर
खाडी भासिएको रामे
हिजै हो काठे बाकसमा फर्किएको
विद्वान बन्ने सपनाको हत्या भएपछि
मलाई नसोध कसरी चल्दै छौ यो शहरमा भनेर
भ्याइनभ्याई छ मलाई
तमासेहरुको चटक हेरेरै
म नियाली रहेछु एउटा लाचार समय।
ज्याद्रो ब्यवस्था
भावना शून्य बस्ती
मानवता हराएका एक झुण्ड मान्छेहरु।।
म दुर चिहाउन निस्केको मान्छे
भुलेछु अासपास चिहाउन नै
तिमी भन्दा पर केही देख्दै नदेख्ने भएछु
अाँखै अगाडिको सुन्दर क्षितिज
शिरै माथिको निलो गगन
अाफ्नै भरोसा टेकिएको प्यारो माटो
प्यास मेटाउन तत्पर कन्चन पानी
फिक्का फिक्का भएछ
निर्जीव बनेछ
मेरै लागि स्वास भर्ने ठेक्का लिएको वायु
सबै सबै बिर्सेर भौँतारिएछु।।
तर सर्वथा बिर्सेर देखेको तिमीले
अाँखा चिम्लेर गरेको भरोसा माथि
यसरी कुठाराघात गर्यौ कि
जिन्दगीका नदेखिएका सत्यहरु देख्न पाँए।
जिन्दगी ले दिएको भन्दा
नदिएका खुशीहरु प्रिय लागे
समय भन्दा बलवान लागेका
बिश्वास हरु
कायापलट भएर
उन्मुलन कै गतिमा बेग लगाइरहेछन्
र पनि
डियर जिन्दगी
तिमी प्रतीको मेरो प्रेम उस्तै छ!
तर पनि
जान मन छ कतै टाढा
यो मतलबी दुनिया
र स्वार्थी मान्छे हरुको चंगूल बाट।
जहाँ
बास्तविक जिन्दगी
बिचरण गर्न पाइयोस।
पाइयोस मायावी समय को
मिठो आलिङ्गन
बिर्सेर सर्बथा
सम्झेर केही राम्रा
समयका किस्साहरु
शिथिल मन र
गुम्सिएको आभास लाई
बिसाउन कुनै चौतारीमा
जहाँ ढाक्रेहरु बिसाउँछन्
अाफ्ना तन भरिको दुखःहराउँदै यो भिड भन्दा पर
बोकेर तिम्रा मेरा समयका यादहरु
लिएर एउटा विशाल हृदय
डियर जिन्दगी तिमी
मलाई माफ गर्नु है
थकान मेटाउने बहानामा
म अाफैँ कतै गुमनाम भएँ भने !!