प्रेमलाई

थाहा छैन नजानेरै पुण्य गरेँ या पाप गरेँ
तिमी भन्छौ बिना सित्ति दुनियाको सन्ताप गरेँ।।
कतै लाग्यो मनमा तिमी अलमलियौ मेरो कारण
बनाएर पत्थर मुटु आफ्नै प्रेमलाई ईन्साफ गरँ।।

मुस्कुरायो फूलले

झर्नु पर्छ जानेरै नि मुस्कुरायो फूलले सँधै
सुक्नुपर्छ जानेरै नि कलकलायो मूलले सँधै
मान्छे मात्रै बैगुनि हो बिर्सिदिन्छ रितहरु
गल्ती बाटै सच्चिनलााई सिकिरह्योभूलले सँधै

भरोसा

जानिजानी लाटो जस्तो अभिनय चलेको छ
देख्दा मान्छे पिपल जस्ता नाममा आगो बलेको छ।।
पराइ सँग बरु कतै बाँकी होला भरोसा त्यो
साँप जस्ता आफ्नै सँग नौ नारी नै गलेकोछ।।

तक्दिरहरु

बिर्से पनि बज्रिएका लाठि मुङ्ग्रा तीरहरु
खीलझै गड्छ जिन्दगीमा जालझेल छलका झिरहरु।।
समयले पुर्दोरैछ तनका चोट आस्ते आस्ते
मर्दो रैछ मान्छे भित्रै लिलाम हुँदा तक्दिरहरु ।।

बन्धन

म बन्धनलाई बन्दना बनाउँछु,उ बन्दनालाई बन्धन बनाउँछ
रैछ कस्तो शक्ति झुटमा विवेक विचार सबैलाइ तनाउँछ
लाशै किन नहोस् सत्य, चिहान उठ्छ जुर्मुराएर
तैपनि बिर्सेर छोप्छ मान्छे एक न एक दिन अवश्य गन्हाउँछ।

कलाकार

निराकार थियो जिन्दगिले आकार बनायो
सपना पनि देख्नैका लागि साकार बनायो।
लम्बा चौँडा नजान्ने त्यो मूर्ति जस्तो मान्छेलाई
हेर्दाहेर्दै समयले कलाकार बनायो।।

तिमी बस्ने मुटु

तिमी बस्ने मुटु कतै दुखाईले टुट्यो भने
सुन्दर बगैँचा मायाको असिनाले चुट्यो भने।
मलाई मात्रै नलागोस् दोष, नसकेर आजित भइ
टाल्दा टाल्दै मनको बाँध सदाका लागि फुट्यो भने।।

रोएँ

हिजो जिन्दगीले झुक्यायो र रोएँ।
आज फेरी जिन्दगीले दुखायो र रोएँ
आँशु पनि तलतल लाग्ने अफिम जस्तै लत भएछ
पिउँदा पिउँदै मनको तलाउ सुकायो र रोएँ।।

बाध्यता

जब जब रहर सँगै बाध्यता अाउँछ
लाग्छ सपनाको चङ्गा निमेषमै हराउँछ।
नसिकाउँनु पर्ने सिकाइदिन्छ जिन्दगीले त्यतिबेला
जब मिष्ठान्न भोजनकै अघिल्तिर भोको पेट कराउँछ।।

भगवान

जसको साधनाले ढुङ्गोलाई भगवान बनाउँछ,
जो पुज्छ भगवान र साधकलाई कसरी ढुङ्गो बनाउँछ?
खबरदार परै बस्नु जातियताको वकालत गर्नेहरु हो!
तिम्रो बिखण्डनकारी चलखेल अघेरै गन्हाउँछ!