भुइँमान्छेको नारा

pipala dhungana पिपला ढुंगाना

पीपला ढुंगाना
ए मलाई नङ्ग्याउन
लागिपरेका मान्छेहरू !
म नाङ्गै छु सदियौँदेखि
निडर भएर उभिएको
वस्त्र च्यातिएको
जुलुङ्गोजस्तो ।

जसको लज्जा
जमानामा नै लुटिसके
एक हुल बाँदरहरूले
अनि
थिल्थिलो हुने गरी
भिजाएर छाडेको छ
बेइमानी झरीले
मक्किने गरी कोमल मुटु ।

ख्याल राख्नु तिम्रो निच वस्त्रको
जो खुस्किएला रङ्गमंचमा,
बिस्तारै
मच्चिएला कोकोहोलो
र, ताली बजाएर हाँस्लान्-
लावालस्कर रमितेहरु
जो वर्षौँदेखि पर्खाइमा थिए
तिम्रो पछारिने पालो ।

चिच्याइरह्यो एउटा भुँइमान्छे
लगाइरह्यो नारा
समयको विरुद्ध
थिचोमिचोको विरुद्ध
ओकलिरह्यो विसंगति
माथि भन्दा पनि माथिबाट
आफ्नो शिर कुल्चिरहेका मान्छेहरूसँग ।

मुकुण्डो भित्रका मान्छेहरु

मुकुण्डो भित्रका मान्छेहरु

मान्छे प्रेमको जाल रचेर
आफ्नो जरुरत पुरा गर्न
यति विघ्न हतारमा छन् कि
कुल्चिन्छन् आफ्नै प्रेम
लत्याउँछन् आफ्नै बचन
रेट्छन् विस्वासको घाँटी
तैपनि
भन्न छाड्दैनन्
म प्रेमको असली पुजारी हुँ

बिर्सिएर
हिजो भाषणमा
के के भनेको थिएँ
किनकी त्यो बचन
बचन नभएर मिथ्या भाषण हुन्छ
जसलाई प्रेम सम्झेर
ठुलो भुल गर्छन्
मन मनै एक्लिएर
भड्किएका केही थान मान्छेहरू !!

जो फगत स्वार्थ हो
भन्ने जानेदेखि
बिर्सन्छन् गर्न भरोसा
आफ्नै छायाँको पनि
किनकी त्यो पनि बदलिरहन्छ
दिनचर्याको नियम सँगै
जून घामको घडी सँगै

र भन्न थाल्छन्
कृपया नजिक हुनुको
मुकुण्डो लगाएर
मेरो छेउमा आउँदै नआउँनु
किनकी डर लाग्छ मलाई
मुकुण्डो लगाएर आएको
अपनत्व नामक तुफान सँग
खैर
भगवानको लागि
मलाई एक्लै छाडिदेऊ
मुकुण्डोको दुनियाँ भन्दा पर
मलाई स्वास लिनु छ
फोक्सो भरिने गरी

ए मुकुण्डोधारी मान्छे हो
मलाई अझै बाँच्नुछ जिन्दगी
धित मरुन्जेल
कृपया कष्ट गरेर
तिमी आउँदै नआउँनु
मेरो बाटोमा तगारो बन्न
ताकि
म मेरै बाटोमा हिड्न सकुँ
जसरी हिँड्थे पहिले
अनि
चिच्याई चिच्याई डौडिन सकुँ
गुनगुनाउँदै
स्वतन्त्रता ।।

Pipala Dhungana पिपला ढुङ्गाना

परदेशी लाइ पत्र

Pipala Dhungana, पिपला ढुङ्गाना

आमा फर्कदैछु आफ्नै मुल थलो
बोकेर एक पोको भोक
लिएर अलिकति साहस
साथ लागेर केही थान संगीको
किनकी
भरोसा आफ्नै माटोको लाग्दो रहेछ

झल्झली याद आइरहेछ
छाडेर घर
सपना किन्न हिँडेको दिनको
मुटु भन्दा पनि पेट ठूलो हो
सिकाउँदैछ समयले
र त म
मुटु जस्तो शहरलाई
हल्लाएर बिदाइको हात
चाल्दैछु पाइला
सम्झेर आफ्नै हरियो खोरिया

किनकी भोकको उपचार
आफ्नै खोरिया हो
जो वर्षौँ देखि बाँझो छ
भिज्न नपाएर पसिनाले

राजनीति

गुनगुनाउदै राष्ट्रभक्ति कति दिन टिक्छ मान्छे ?
कालोबजार मौलाउदा सेताँ क्यारी बिक्छ मान्छे ?

भोको पेटमा चिसो रात कटाउनै गाह्राे हुँदा
परिभाषाकसो गरि सिक्छ मान्छे?

एउटा संसार गुन्द्री अेाढी सिरेटोमा लड्दै गर्दा,
न्यानो हुन कम्बल पाखी कुन मुटुले झिक्छ मान्छे ?

युगले हेर्यो भाइचारा बिर्सि हुण्डरीमा होमिएको
वंश मासी लाल इतिहास कुन मसीले लेख्छ मान्छे?

आँखा भरि छरिएका परिवर्तनको धुलो पन्छाइ
राजनितिको राज निती कुन दृष्टिले देख्छ मान्छे?

Pipala Dhungana

पासो

न त उसले छाडेको त्यो नासो याद आयो
न जिन्दगी सँगको कुनै गुनासो याद आयो
मरण भन्दा जिन्दगी गुरुङ्गो भएछ सरकार
काटेपछी उसको घाँटीको पासो याद आयो