मुकुण्डो भित्रका मान्छेहरु

मान्छे प्रेमको जाल रचेर
आफ्नो जरुरत पुरा गर्न
यति विघ्न हतारमा छन् कि
कुल्चिन्छन् आफ्नै प्रेम
लत्याउँछन् आफ्नै बचन
रेट्छन् विस्वासको घाँटी
तैपनि
भन्न छाड्दैनन्
म प्रेमको असली पुजारी हुँ

बिर्सिएर
हिजो भाषणमा
के के भनेको थिएँ
किनकी त्यो बचन
बचन नभएर मिथ्या भाषण हुन्छ
जसलाई प्रेम सम्झेर
ठुलो भुल गर्छन्
मन मनै एक्लिएर
भड्किएका केही थान मान्छेहरू !!

जो फगत स्वार्थ हो
भन्ने जानेदेखि
बिर्सन्छन् गर्न भरोसा
आफ्नै छायाँको पनि
किनकी त्यो पनि बदलिरहन्छ
दिनचर्याको नियम सँगै
जून घामको घडी सँगै

र भन्न थाल्छन्
कृपया नजिक हुनुको
मुकुण्डो लगाएर
मेरो छेउमा आउँदै नआउँनु
किनकी डर लाग्छ मलाई
मुकुण्डो लगाएर आएको
अपनत्व नामक तुफान सँग
खैर
भगवानको लागि
मलाई एक्लै छाडिदेऊ
मुकुण्डोको दुनियाँ भन्दा पर
मलाई स्वास लिनु छ
फोक्सो भरिने गरी

ए मुकुण्डोधारी मान्छे हो
मलाई अझै बाँच्नुछ जिन्दगी
धित मरुन्जेल
कृपया कष्ट गरेर
तिमी आउँदै नआउँनु
मेरो बाटोमा तगारो बन्न
ताकि
म मेरै बाटोमा हिड्न सकुँ
जसरी हिँड्थे पहिले
अनि
चिच्याई चिच्याई डौडिन सकुँ
गुनगुनाउँदै
स्वतन्त्रता ।।

Pipala Dhungana पिपला ढुङ्गाना

Recommended Posts