बन्दी

pipala dhungana पिपला ढुंगाना

पीपला ढुंगाना

सोच्दैछु ति खाली बाटाहरू
के गर्दै होलान् यतिबेला!
मैले सम्झिएजस्तै,
कल्पनाको पाइला लम्केजस्तै,
यिनीहरू पनि सम्झन्छन् कि सम्झदैनन् होला,
आफ्नाे सदाबहार बटुवालाई?

एउटा घेरा लगाइएको
खुल्ला आकाशमुनि
म मथिङ्गलमा तिनै बाटाकाे यादमा
गाेलचक्कर मारिरहेछु

जस्तो कि परपुरुषको समागममा
चरमोत्कर्षमा पुग्छे
घर देशको दुखले लखेटेर
परदेशले खरिद गरेको एउटी अवला
सम्झेर आफ्नो प्रिय पुरुष,!

जसरि जबर्जस्ती
स्खलित हुन्छ कुनै गाडा मजदुर
कुण्ठाले खरिद गरेको पुतलीसँग
आफ्नी प्रियतमाको
अङ्गालोको कल्पनामा!

यो घेराभित्रको गाेलचक्कर
त्यो अवला र गाडा मजदुरकाे सन्तुष्टि
ठ्याक्कै उस्तै लाग्छ अचेल।

अनि ति सतिसाल जस्ता मान्छेलाई
उतिस बनाएर दन्काउने
समाजको याद आइपुग्छ
मगज खजमज्याउन
र पनि
म चुपचाप हुनुको परिबन्धमा छु
केवल टुलुटुलु मुकदर्शक बन्नु सिवाय
केही गर्न नसक्ने
देखेर पनि
नदेखे जस्तै गर्नु परेको छ
नदेख्दा र नदेखे जस्तो गर्दा
खास ठोस फरक पर्ने वाला छैन
किनकी म बन्दी हुँ

बन्दी बनाएको छ समयले मलाई।।

आमा

pipala dhungana पिपला ढुंगाना

पीपला ढुंगाना

‌अँधेरो मझेरीको जून हुन् उनी
जसले सँधैभरि उदाइरहनु पर्छ
झलमल्ल भएर
बादलिने अधिकार छैन उनलाई
किनकी उनी आकास होइनन्
बादल लाग्ने अधिकार त
केवल उचाई सँग हुन्छ
सगर सँग हुन्छ
कि त हुन्छ सागर सँग
पुर्ण गहिराइ सँग

उनी न पुर्ण गहिरिन पाउँछिन्
न पुर्ण उचाई छुन
कर्तव्यको दायराले
निलुन्जेल सम्म
पानीको रफ्तारले
काटुन्जेल सम्म
निभाइरहनु पर्छ उनले
निस्फिक्री बगिरहने नदिको
दर्शक धर्म

उनी त बगर हुन्
जसले निल्नु पर्छ
प्रत्येक बहाव र छालहरु
र पनि सुख्खा रहनुपर्छ
त्यो उनको नियति हो

चुनौती पनि
किनकी उनी आमा हुन्
अनि
आमा मात्रैले सक्छिन्
यति विघ्न भार थाम्न
सहन
र सहेर मुस्कुराउँन
त्यसैले त जिन्दगीको
चन्द्रमा हुन् उनी
कहिल्यै नथाक्ने
कहिल्यै नलुक्ने
लाग्दैन उनमा
झरीको सुत्र
न लाग्छ बादलकै
न त ग्रहण नै लाग्छ कहिल्यै
र त स्वस्ति शान्ती हुन् उनी
प्रत्येक जीवनको
ग्रह गोचर शान्त बनाउने

धर्तीमा भएका प्राणी जगतका सम्पूर्ण आमाहरु प्रती हार्दिक नमन! 🙏