मुक्तक

२९.तिमी हामी बाँचिरहेको युग यति डरलाग्दो छ
मानौँ सर्पको सवारमा गरिएको यात्रा भरलाग्दो छ
ढुक्कसँग खेलिन्छ मान्छेकाे भावना सँग यहाँ
छैनन् नाता त्यस्ता पनि देख्दा जति रहरलाग्दो छ।।

३०.ठण्डी देखि अघाएर जाडो पनि भाग्छ एक दिन
दुख्दा दुख्दा आत्तिएर दुःखै पाखा लाग्छ एक दिन
कति दिन पो सक्छौ तिमी थुन्न आवाजको मुख?
जुटाएर बोल्ने हिम्मत चूपचाप पनि जाग्छ एक दिन।।

३१.ढुक्क भएँ थाहा पाए देखि पोल्छ मुटु खरानीले
कोही होइनन् आफ्ना, एक दिन छाड्छ आफ्नै परानीले
बल्दो चिता अघिल्तिरै खासखुस गर्दै थिए मान्छे
जिन्दगीको असल उचाई नाप्दो रैछ मरनीले।।

३२.भो नबनाउ सरकार तिमी भत्किएका पुलहरू
तुइन मै झुन्डिउन् ति निमुखाका हुलहरु
मौसुफहरु रित्तै हुन्छन् भो याचना गर्दै नगर्नु
ति आँखाका उन्यू अनि यि आँखाका फूलहरू।।

मुक्तक

५.आफ्नै आविष्कार आफ्नै अघि काल बनेर कराइरहेछ
आफ्नाकै छुवाई आफ्नैका लागि घाउ बनेर चहराइरहेछ
मृत्युको असली भय के हो?सोध्नु काँपिरहेको बिरामी सँग
धान्नकै लागि एक मुठ्ठी प्राण आज विश्व हडबडाइरहेछ।।

२६.सबै समान सबै उस्तै समयले आँट्यो भने
उचाई क्षणमै ढल्दो रैछ प्रकृतिले काट्यो भने
मैँ बलियो बाँङ्गो मैँ छु भन्नु पनि व्यर्थ रैछ
आणविक कै चल्दैन जोर जैबिकले ढाँट्यो भने।।

२७.दियो जस्तै बलिरहनु चिर्नुछ निष्पट्ट रात तिमीले
सुख मात्रै पोख्नु भेट्न आफ्ना हरुको साथ तिमीले
आफ्नो लागि आफैँ लड्न सिकाए झैँ प्रियसीलाई
समयको मल्हम लगाइ पुर्नुछ थुप्रै घात तिमीले।।

२८.तिमी जिन्दगी तिमी नै प्यार बनिदिनु
सम्झना बनिदिनु उस्तै यादगार बनिदिनु
जिन्दगीको हरेक मोडमा साथ दिने गरेर
तिमी यो दिलको स्थायी सरकार बनिदिनु ।।

मुक्तक

२१.पाइला पाइलामा बच्नु पर्ने मुटु भित्र बस्ने सँग
अघिल्तिर हुँदा सम्म घस्नु चिल्लो घस्ने सँग।।
सामना गर्ने हिम्मत हुन्छ आँखा अघि जाइलागे
कायल हुन्छ जीवन पछि बाट छुरा धस्ने सँग।।

२२.उ नै गित संगित उहि प्रित क्यारि भयो होला?
एकै मान्छे जिन्दगीको रित क्यारि भयो होला?
मेरो निम्ति संजीवनी बुटी नै हौ भन्ने मान्छे
आज फेरि अर्कै मान्छे सित क्यारि भयो होला??

२३.न चुमेरै आफ्ना भए चुरोटका ठुटाहरु
खेपि अप्जस जोगाउँछन् फूल गुलाबका
वुटाहरु
परिस्थिति अलिकति तल माथि पर्नु पर्छ
आफैँ बाटो तताउँछन् नकावधारी झूटाहरु।।

२४.तिम्रो निम्ति देउरालीमा बनाएको घर एउटा
बिर्साउने सबै गल्ती विस्वासीलो भर एउटा
मैले पुज्ने देउता तिमी सधैँ पुजा लायक बन्नु
कता छुट्छ कस्ले जान्नु जिन्दगीको प्रहर एउटा।।

मुक्तक

१७.जिस्किएर मस्किने त्यो बानी अर्कै कुरा
फाइदा मात्रै देखेकालाइ हानी अर्कै कुरा
रानी बनाउँछु भन्ने हरु बिर्सिदिन्छन् कहिले काँही
साँच्चै रानी र रानी वाला कहानी अर्कै कुरा।।

१८.जज साब यहि कठघरामा निसाफ गरिदिनुस्
मलाई प्रेमले रोगी बनायो इन्साफ गरिदिनुस्।।
भए जति खन्याएर रित्तै भइसके आफु र नि
अझै के कति मिलेन छ हिसाब गरिदिनुस्।।

१९.जिन्दगीलाई समयको संगीन धारमा राखेर
हिड्छ मान्छे आफैँलाइ मझधारमा राखेर
मल्हम पट्टी गर्छ मान्छे पराईको चोट माथि
सँधैभरि आफ्नालाई चोट र मारमा राखेर।।

२०.जिन्दगी फूल हो र त झर्छ एक दिन नचाहरै
अविनाशी होइन र त मर्छ एक दिन नचाहेरै
आफैँलाई सच्याउनु छ समयको रफ्तार सँगै
नत्र जीवन अप्ठ्यारोमा पर्छ एक दिन नचाहेरै।।

मुक्तक

१३.आउनु पुर्ब नै मनलाइ सुनेर आउनु
भाग्य या मुटु कहाँ बस्ने चुनेर आउनु
यो कोलाहलको वस्ती हो सुन्नु पर्छ धेरै यहाँ
त्यसैले कानका जालिहरु थुनेर आउनु।।

१४.सकिएला जन्ती तर मलामी किन्न सकिन्न
कहिलेकाँही कोइला सम्झि हिरा चिन्न सकिन्न
मपाँइत्वले मात लागेर अन्धो भएका मान्छे सँग
चाहेरै पनि काँधमा काँध मिलाइ हिड्न सकिन्न

१५.भेटी बनोस् जिन्दगी तर टीलो बन्नु नपरोस्
सकेसम्म कसैको मुटुको किलो बन्नु नपरोस्
बन्न सके बनोस् जीवन मलिलो दबदबे नै
चप्पलले छ्यापिने त्यो हिलो बन्नु नपरोस्।।

१६.न त उसले छाडेको त्यो नासो याद आयो
न जिन्दगी सँगको कुनै गुनासो याद आयो
मरण भन्दा जिन्दगी गुरुङ्गो भएछ सरकार
काटेपछी उसको घाँटीको पासो याद आयो।।

मुक्तक

९.गर्छन् प्यार लुकेर खुलेरै झगडा देखाउँछन्
निर्धा पाए आफुलाई खुबै तगडा देखाउँछन्
लाग्दैन भरोसा किन किन आफ्नैहरु सँग पनि
मनमा राखेर तुष आँखामा घडा देखाउँछन्।।

१०.आगो भर्भराउँथ्यो देखियो आज काल भर्भराइरहेको
जीवन रुपि श्लोक गाउने अोठ बेस्सरी थर्थराइरहेको।।
कृष्ण तिमी माया माया भन्छौ अन्जान बालक जसरी
म सुन्दैछु सुस्केरा सुन्दैछु पुकार जिन्दगी बर्बराइरहेको।।

११.रुप भन्दा ठुलो शत्रु आजसम्म भेट्या छैन
बफदारीताले जति त कस्सम दुखले पनि लखेट्या छैन
जति रेटिए मान्छे यहाँ अरुलाई खुसी राख्दा राख्दा
त्यति त गाइनेले युग भरिमा सारंगी पनि रेट्या छैन।।

१२.कोहि अोइलिए कोही फक्रिए घाम एउटै भए पनि
कोहि माथि छन् कोही छन् तलै गाम एउटै भएपनि
इमान बेचेर रवाफिलो हिम्मत किन्छन् र पनि कोही
कुल्चेर रवाफ हिँड्छन् इमानमा काम एउटै भए पनि।।

मुक्तक

५.भन्दा भन्दै लेख्दिन म कलम किन थमाउँछौ
जब लेख्न थाल्छ सत्य हात किन समाउँछौ
तानेरै भा नि दोस्राको खुट्टा आफुलाई उचो बनाउँथ्यौ त
अव उभिनु छ एक्लै तिमीले खुट्टा किन कमाउँछौ?

६.सम्झियो भगवान जसलाई उसैले किन दास देख्छ
देओस् कोही अक्सिजन नै देख्नेले किन बतास देख्छ
साविक भन्दा अलि बढी चिल्लो चाप्लो घस्नेलाइ नै
किन होला दुनियाले देख्नु सम्म खास देख्छ।।

७.गयौ पनि यसरी गयौ नमुना बनाएर
आफु भोटको मदन मलाई मुना बनाएर
कुर्दा कुर्दै जिन्दगीको आधा सफर सक्किएछ
मुटु भित्र पिरको पहाड दुगुना बनाएर।।

८.तिमी भित्तो म पात्रो सँगै हुने कुरै भएन
तिमी महल म छाप्रो सँगै हुने कुरै भएन
किन पर पर हुन्छेउ भन्दै प्रश्न नसोध्नु भो
तिमी खल्ती म कात्रो सँगै हुने कुरै भएन।।

मुक्तक

१.गाउँमा जस्तो प्रिय कुरा भेटिदैन शहर तिर
दुर गाउँको मीठो झल्को मेटिदैन शहर तिर
जान्दा जान्दै मुखमा राम बगलीमा छुरा हुन्छ
रहरले कोहि पनि लखेटिदैन शहर तिर।।

२.म घाम हुँ आकाश बदल्न सक्दिनँ
र म तिम्रो इसारामा चल्न सक्दिनँ
कुर्ने हिम्मत नहुँनेले आफ्नो बाटो फेरे हुन्छ
बेलै नभइ पश्चिम दिशा ढल्न सक्दिनँ

३ करले हुँदैन माया, डरले हुँदैन माया
तिमी गर्छौ व्यर्थै रहर, रहरले हुँदैन माया,
पर्खेर समय त्यो जितौँला प्रित नसोचे
जो हुन्छ हुन्छ आफैँ,प्रहरले हुँदैन माया।

४.सवाल हरुको वस्तीमा म जवाफ खोजिरहेछु
लाग्छ हत्तारको दुनियामा लगाब खोजिरहेछु
सबै आफ्ना सबै राम्रा शंका गर्नु कसलाई गर्नु
त्यहि भिडमा नकावधारी खराब खोजीरहेछु।।

मुक्तक

नाडि भन्दा मुल्यवान घडि भए पछि
तितो लाग्छ सक्खर पनि बढी भए पछि
पुतली जस्ता चम्किला सपना छिट्टै झर्दा रैछन्
अब फैलाउँछु सपना मणि भए पछि।।