बन्दी

pipala dhungana पिपला ढुंगाना

पीपला ढुंगाना

सोच्दैछु ति खाली बाटाहरू
के गर्दै होलान् यतिबेला!
मैले सम्झिएजस्तै,
कल्पनाको पाइला लम्केजस्तै,
यिनीहरू पनि सम्झन्छन् कि सम्झदैनन् होला,
आफ्नाे सदाबहार बटुवालाई?

एउटा घेरा लगाइएको
खुल्ला आकाशमुनि
म मथिङ्गलमा तिनै बाटाकाे यादमा
गाेलचक्कर मारिरहेछु

जस्तो कि परपुरुषको समागममा
चरमोत्कर्षमा पुग्छे
घर देशको दुखले लखेटेर
परदेशले खरिद गरेको एउटी अवला
सम्झेर आफ्नो प्रिय पुरुष,!

जसरि जबर्जस्ती
स्खलित हुन्छ कुनै गाडा मजदुर
कुण्ठाले खरिद गरेको पुतलीसँग
आफ्नी प्रियतमाको
अङ्गालोको कल्पनामा!

यो घेराभित्रको गाेलचक्कर
त्यो अवला र गाडा मजदुरकाे सन्तुष्टि
ठ्याक्कै उस्तै लाग्छ अचेल।

अनि ति सतिसाल जस्ता मान्छेलाई
उतिस बनाएर दन्काउने
समाजको याद आइपुग्छ
मगज खजमज्याउन
र पनि
म चुपचाप हुनुको परिबन्धमा छु
केवल टुलुटुलु मुकदर्शक बन्नु सिवाय
केही गर्न नसक्ने
देखेर पनि
नदेखे जस्तै गर्नु परेको छ
नदेख्दा र नदेखे जस्तो गर्दा
खास ठोस फरक पर्ने वाला छैन
किनकी म बन्दी हुँ

बन्दी बनाएको छ समयले मलाई।।

STORY / कथा

कथा (Story) एक साहित्यको महत्त्वपुर्ण अङ्ग वा भाग मध्येको एक हो।कथाले वास्तबमम मानव जीवनको सचित्र व्याख्या प्रस्तुत गर्दछ।त्यसैले पनि कथालाई मानव जीवनको प्रतिविम्बका रूपमा पनि लिन सकिन्छ।

Continue reading

MUKTAK / मुक्तक

मुक्तक, चतुष्पदीय (चार हरफको), आफैँमा स्वतन्त्र र अर्थ दिने पद्यात्मक रचना हो। । मुक्तकलाई गजल कै लघु रूपमा बुझ्न सकिन्छ। मुक्तक साहित्यको एउटा बिधा हो। खास गरी मुक्तक आफैमा एउटा स्वतन्त्र बिधा हो।

Continue reading

BOOK/किताब

समय अझै बिग्रिसकेको छैन उमेर अनुसारको किताब हाम्रो नानीहरूको हातमा थमाइदिनुहोला, स्मरण रहोस् घर नै पहिलो विद्यालय हो – संस्कार र शिक्षा दुवैको।

Continue reading

रानी

जिस्किएर मस्किने त्यो बानी अर्कै कुरा
फाइदा मात्रै देखेकालाइ हानी अर्कै कुरा
रानी बनाउँछु भन्ने हरु बिर्सिदिन्छन् कहिले काँही
साँच्चै रानी र रानी वाला कहानी अर्कै कुरा

आमा

pipala dhungana पिपला ढुंगाना

पीपला ढुंगाना

‌अँधेरो मझेरीको जून हुन् उनी
जसले सँधैभरि उदाइरहनु पर्छ
झलमल्ल भएर
बादलिने अधिकार छैन उनलाई
किनकी उनी आकास होइनन्
बादल लाग्ने अधिकार त
केवल उचाई सँग हुन्छ
सगर सँग हुन्छ
कि त हुन्छ सागर सँग
पुर्ण गहिराइ सँग

उनी न पुर्ण गहिरिन पाउँछिन्
न पुर्ण उचाई छुन
कर्तव्यको दायराले
निलुन्जेल सम्म
पानीको रफ्तारले
काटुन्जेल सम्म
निभाइरहनु पर्छ उनले
निस्फिक्री बगिरहने नदिको
दर्शक धर्म

उनी त बगर हुन्
जसले निल्नु पर्छ
प्रत्येक बहाव र छालहरु
र पनि सुख्खा रहनुपर्छ
त्यो उनको नियति हो

चुनौती पनि
किनकी उनी आमा हुन्
अनि
आमा मात्रैले सक्छिन्
यति विघ्न भार थाम्न
सहन
र सहेर मुस्कुराउँन
त्यसैले त जिन्दगीको
चन्द्रमा हुन् उनी
कहिल्यै नथाक्ने
कहिल्यै नलुक्ने
लाग्दैन उनमा
झरीको सुत्र
न लाग्छ बादलकै
न त ग्रहण नै लाग्छ कहिल्यै
र त स्वस्ति शान्ती हुन् उनी
प्रत्येक जीवनको
ग्रह गोचर शान्त बनाउने

धर्तीमा भएका प्राणी जगतका सम्पूर्ण आमाहरु प्रती हार्दिक नमन! 🙏

रंगिन फूल

pipala dhungana पिपला ढुंगाना

म सडक बाटाेमा
रंगिन फूल फूलेकाे देख्छु
अनेक रंगका
फलफूल पनि देख्छु
देख्छु कहिले
एकाध हरिया पहिरन
देख्छु कहिले मायालु बच्चाहरु
अनि मलाई केवल
ती एक जाेर अाँखाकै
याद अाउँछन्!

म मन्दिर हूँ

pipala dhungana पिपला ढुंगाना

लाग्छ म मन्दिर हूँ

मलाई मन परेको मान्छे
भर्खरै मात्रै पार भयो म देखि
मलाई बाँया पारेर
र थाहा छ
उ अब कहिल्यै फर्केर आउँदैन
यो बाटो
र पाँउदिन मैले
उसको दाँया पर्ने अबसर!!

छुरा धस्ने सँग

पाइला पाइलामा बच्नु पर्ने मुटु भित्र बस्ने सँग
अघिल्तिर हुँदा सम्म घस्नु चिल्लो घस्ने सँग।।
सामना गर्ने हिम्मत हुन्छ आँखा अघि जाइलागे
कायल हुन्छ जीवन पछि बाट छुरा धस्ने सँग।।

-पिपला ढुंगाना

फूल

जिन्दगी फूल हो र त झर्छ एक दिन नचाहरै
अविनाशी होइन र त मर्छ एक दिन नचाहेरै
आफैँलाई सच्याउनु छ समयको रफ्तार सँगै
नत्र जीवन अप्ठ्यारोमा पर्छ एक दिन नचाहेरै

-पिपला ढुंगाना