नारी-पुरुषमा जनेन्द्रिय मात्रै फरक हो

जति नै मन्थन र बहस गरे पनि फरक यौनांग मात्र हो । शक्ति र पहुँचको निम्ति तोकिएको सीमा रेखा होइन त्यो । प्रकृतिले सृष्टिलाई निरन्तरता दिन उत्पन्न गरेको दुई उत्पादक तत्व मात्र हुन्- पुरुष र नारी । धेरैपटक भनिने गरिएको एउटै रथका दुई पाङ्ग्रा हुन् यी नरनारी । तर हजारौं वर्षदेखि नर र नारी दुवैको ब्रेनवास गरिएका कारण महिलालाई ‘अर्कै मान्छे’ का रूपमा बुझिने गरिएको छ, तर अब त्यो स्वीकार्य छैन ।

मात्र फरक प्रजनन गुण र क्षमतालाई हामी कसरी उँचो र नीच भनेर अथ्र्याउन सक्छौं ? घरवार सम्हालेर बस्ने ट्याग लागेका ‘जात’ होइनौं हामी । हामी घरको झ्याल खोलेर सहर, गाउँ, गाउँभन्दा पारिको डाँडो, डाँडापारिका देश र देशभन्दा पर रहेका महासागर, त्यहाँभन्दा पनि परका सहर-गाउँ हेर्न चाहन्छौं । राजनीति र घरबाहिरको दुनियाँ पनि उत्तिकै चासो हो हाम्रो किनभने हामीले जन्माएका हौं संसारका सबै मान्छे ।

छिटपुट मान्छेबाहेक धेरैले सोच्छन्- आइमाई आखिर आइमाई नै हुन् । आमाहरू नै भन्छन्- हारेको कर्म । मैले कहिल्यै बुझिनँ, हामीले कहिले कहाँ हार्‍यौं ? काल्पनिक सत्ययुगमा समेत देवीहरू कमजोर देवगणका अन्तिम सामथ्र्य हुन्थे । उनीहरूकै सहायतामा देवगणले आफ्नो गुमेको सत्ता फिर्ता पाउँथे । ‘यत्र नार्यस्ते पुज्यन्ते, रमन्ते तत्र देवता’ अर्थात् जहाँ नारी पुजिन्छन्, त्यहाँ देवता रमाउँछन् भन्ने श्लोक पढ्ने हाम्रो पूर्वीय समाजमा भने अहिले गर्भमै नारीको हत्या हुनेसम्म घटना अति सामान्य भए । ‘महिलाले पनि यसो गर्न सक्छन् र उसो गर्न सक्छन्’, यो बहस नै उचित छैन अहिले । प्रश्न यति हो- उनीहरू के गर्न सक्दैनन्

तर पुरुष मात्रै होइन, महिला स्वयं पनि पितृसत्तात्मक सोचभन्दा बाहिर आउन सकिरहेका छैनन् । किनकि सस्ता नारा र प्रचारबाजीमा हाम्रो ‘समानता’ अघि बढेको छ । हामीले दिवस मनायौं तर हाम्रो ‘दिव्यज्ञान’ अघि बढेन । ‘जे-जे भए पनि आखिरमा त छोरी नै हो नि, महिला नै हो नि’ भन्ने चिन्तन फाल्न समर्थ भएन समाज । महिला स्वयंमा त्यस्तो ग्लानि भाव देखिनुको कारण हो हामीलाई बताइएको विचार र दिइएको शिक्षा । हामी यो विभेदको वैधता घरबाट मात्रै होइन, एकाधबाहेक सम्पूर्ण समाजका निकायबाट दिइरहेका छौं । दुनियाँ आज मान्दछ र जान्दछ- पुरुषको तुलनामा महिला कम विवेकशील छैनन्, तैपनि पुरुष र महिलाको बेग्लै विरासत किन ?
केही उदाहरण हेरौं वरपर । छोरो महँगो स्कुल पढ्छ, छोरीलाई सामान्य स्कुलले चल्छ । छोरीलाई निजी यातायातको साधन किन चाहियो ? छोराले सहजै बाइक पाउँछ । यहाँ त मायामै विभेद भयो । राजनीतिक दलका ठूला घोषणा हुन्छन् । केही समयअघि राष्ट्रिय दलका घोषणापत्र सार्वजनिक भए । दुईचार दलका त्यति महत्वपूर्ण कार्यक्रम हेर्न पाइयो मिडियामा । एउटा दलको मात्र त्यस्तो सार्वजनिक कार्यक्रममा एक महिला पुरुषहरूबीच बसेको देखिइन् । विचरा महिला ! महिलालाई कसरी ‘ट्रिट’ गरियो भन्ने कुरो त प्रत्यक्षतर्फ महिलाले पाएको टिकटले पनि देखियो ।

उदाहरण बग्रेल्ती छन् । पत्रिकामा नयाँ नेतृत्वको सन्दर्भमा एउटा स्केच छापियो । स्केच पुरुषको थियो, ठूलो शरीरको उसले टोपी र कोट लगाएको थियो । हाम्रो समाजले नेतृत्व भन्नेबित्तिकै भाले जातिलाई बुझ्छ । त्यो सबैको साझा चिन्तन हो । त्यसबाट पनि बुझिन्छ हामी मातृशक्तिलाई कसरी बुझछौं भन्ने कुरो ।
विकसित भनिने अमेरिका र बेलायतजस्ता देशमा पनि समता आन्दोलनको इतिहास उति पुरानो छैन । आज आफूलाई विश्वकै शक्तिशाली दाबी गर्ने अमेरिकाले पनि सन् १९२० मा मात्रै महिलालाई मतदानको अधिकार दिएको थियो । त्यसका निम्ति महिला र विवेकशील पुरुषहरूले संघर्ष गरेका थिए । बेलायतले सन् १९१८ मा मात्र महिला मताधिकारको मस्यौदा पारित गर्‍यो । सौभाग्य नै मान्नुपर्छ, हामीले कमसेकम भिन्न मताधिकारको सिकार हुनुपरेन ।
हामीकहाँ सबै खालको समता र न्यायका माग गर्दा राणाशासकले नसुनेपछि १९९८ सालमा योगमाया न्यौपानेजस्ता वीरंगनाले आआफ्ना ६७ जना अनुयायीलाई साथै लिएर जलसमाधि लिएकी थिइन् । सबै समाजमा न्याय र धर्म स्थापना गर्न नदीमा हेलिएर आफ्नो ज्यानको बलिदानी दिएर यस्तो खालको विद्रोह भएको उदाहरण संसारमा विरलै छ ।
समयको परिवर्तनसँगै कामकाजी महिलाको संख्यामा वृद्धि भएको छ, तर तिनका भूमिकामा झनै वृद्धि भएको छ । बच्चालाई स्कुल पुर्‍याऊ, कार्यालयको काम भ्याऊ, भान्छाकोठाका सामान जुटाऊ, गाईगोठका वस्तुका लागिसमेत समय छुट्ट्याऊ । यो हो आजको नेपाली नारीको जिम्मेवारीको चित्र । ज्यालादारी र तल्लो स्तरको श्रम गर्ने महिलाको हालत त अझ कल्पनासमेत गर्न नसकिने अवस्थामा छ ।

सबै जिम्मेवारी निर्वाह गर्दा पनि अनेक खालका प्रत्यक्ष-परोक्ष हिंसा नझेली सुख पाउँदैनन् तिनले । समान अवसर र ज्याला गफमा सीमित छ । कार्यालय स्तरमा हुने यौन दुव्र्यवहारलाई पचाउने धेरै नारी छन् अनि लोग्नेलाई कमाउँदाकमाउँदै किन काम गर्नुपरेको होला भनेर प्रश्न सोधिने थुप्रै दिदीबहिनी छन् । ‘महिला किन मर्द बन्न खोज्नु’ भनेर सोध्ने पनि हाम्रै दिदीबहिनी हुन् ।अनि लाग्छ, महिलाले प्राप्त गरेको ज्ञान र शिक्षा केवल भान्सा, गोठबारी चलाउनको लागि मात्र हो ? हाम्रै दाजुभाइले चामल केलाएर भाँडामा हाल्न मिल्दैन ? तरकारी काट्दा तिनको अहम् काटिन्छ ? तरकारी ओइरिँदा उनीहरूको ज्ञान डढ्छ ? शिक्षित बुहारी र पत्नी चाहिने तर उनीहरूले आफ्नो जग बसाउन जागिर खान नपाइने ? यस्तो परनिर्भरता अब स्वीकार्य छैन । अब माइती र घरहरू महिलाको सक्रियतालाई लिएर तर्सिनु पर्दैन । महिला रोजगारले उल्टै परिवारको बोझ कम हुन्छ । उस्तै हाडछाला र रगतमासुले बनेका उही होमोस्यापिन्स जाति हौं हामी भनिसकेपछि एउटालाई उन्मुक्त आकाश र अर्कोलाई घरको चौघेरो अनुचित हो ।

नेपालको पहिलो लिखित संविधान २००४ ले नै सम्पूर्ण नागरिक समान हुने व्यवस्था गरेको थियोे । त्यस्तै नेपालको अन्तरिम शासन विधान २००७, नेपाल अधिराज्यको संविधान २०१५, नेपालको संविधान २०१९, मुलुकी ऐनको संशोधन २०२०, नेपाल अधिराज्यको संविधान २०४७ ले समानताको विषय सम्बोधन गर्दै सबै विभेद अस्वीकार गरेको छ । तर कानुन र करणीमा हाम्रो समाजमा गम्भीर खाडल छ, तर यस युगका दुर्गेहरूलाई सो स्वीकार्य छैन ।

नेपालको अन्तरिम संविधान २०६३ ले पनि समान हक र अधिकारको नारालाई आगाडि बढाएको र उक्त संवैधानिक व्यवस्थालाई पार गरेकै दशक नाघिसकेको मात्र छैन, यसबीचमा २०७२ सालमा देशको मुहार बदल्ने ठानिएको ‘नेपालको संविधान’ आएको छ । यसले पनि प्रस्तावनामा नै संविधान बन्नुअगाडि नागरिकले भोग्नुपरेका विभेदलाई आत्मसात गर्दै भविष्यमा यस्ता किसिमका विभेद भोग्नु नपरोस् अनि नदोहोरियून् भनी प्रस्तावनामै राखिएको छ । हिजोका दिनमा जातजाति, वर्ण, लिंग, वर्ग, क्षेत्र, भूगोलका साथै शारीरिक अवस्थाका आधारमा जुन विभेद र दलन भयो, अब त्यस्तो विभेद र दलन नहोस् भनेर प्रस्तावनामै उल्लेख गरिएको छ । संविधानको यो भावना र व्यवस्था उत्कृष्ट छ । त्यसरी लेख्नुको बृहत् अर्थ छ तर कार्यान्वयन नहुँदासम्म त्यो ‘लिखित’ मात्र हो ।

संवैधानिक व्यवस्थाले मात्र समानता स्थापित हुन्न । मेरो र तपाईंको घर, परिवार, समाज र राष्ट्रका मानिसको मनस्थिति बदलिनुपर्छ । त्यसको लागि सबैभन्दा बढी महिलाले नै संघर्ष, प्रयत्न गर्नुपर्छ र उदाहरण बन्नुपर्छ ।७० वर्षको संहिताबद्ध कानुनको अभ्यास गरिरहँदा पनि समानताको कुरो उठाइनेबित्तिकै त्यसलाई मजाक बनाइनुले हाम्रो चेतनालाई ‘इन्डिकेट’ गरिरहेछ । यस्ता विधान र कानुनभन्दा माथि उठेर त्यसलाई व्यावहारिकतामा प्रयोग गर्नका लागि जुट्नुपर्छ र जुट्दैछौं किनकि झन्डैझन्डै शताब्दीको हाराहारीमा पुगेको समानताको आवधारणा आज पनि ज्यूँका त्यूँ हुनु लज्जास्पद हो ।

सार्वजनिक ठाउँहरूमा महिलाको उपस्थिति कम हुन्छ र त्यस्ता ठाउँमा कहिलेकाहीं चर्चा हुन्छ- महिलाले किन आरक्षण पाउने ? किन फलानो जातिविशेषले आरक्षण पाउने ? अवश्य पनि सम्पूर्ण अवसर दिइएको अवस्थामा आरक्षण बेकार हो । आरक्षण स्वयम्मा विभेद हो । तर हाम्रो सन्दर्भ विल्कुलै फरक छ । समाजको चिन्तनमा रहेको दरिद्रताका कारण त्यस्तो आरक्षण चाहिएको हो र आउँदो चुनावको प्रत्यक्षतर्फ महिलालाई गरिएको चरम विभेदलाई नियाल्दा महिलाको आरक्षण जबर्जस्त बढाउनुपर्ने देखिन्छ । यो त समाज र सत्ताको अंगमा प्रतिनिधित्वको विषय राजनीतिक विषय भयो ।

अब आफ्नै कुरा गरौं, हामीमध्ये कति नारी स्वभिमान र स्वतन्त्रताको लडाइँ लड्ने हिम्मत बटुलेर आफूलाई तयार पारिरहेका छौं, खारिरहेका छौं ? हाम्रा बा, दाइ र भाइजस्तै हामी बेग्लै हैसियत, पहिचान र अस्तित्व निर्माण गर्न कस्सिएर लागेमा, समाजले कोरिदिएको सिमाना अस्वीकार गर्दै त्यसबाट बाहिर निस्केमा मात्र हाम्रो स्वपहिचान स्थापित हुनेछ र हामी जे हौं, त्यसलाई स्विकार्न पुरानो समाज तयार हुनेछ । तर जबसम्म स्वतन्त्रता र समान अवसरका कसैसँग भिख मागिरहनुपर्छ तबसम्म हामी आत्मनिर्भर बन्न सक्दैनौं । जसरी समानुपातिकको कोटा पनि खोसिदिन्छन् दलका मुखियाहरूले भन्ने त्रासले केही स्वनामधन्य महिला नेतृहरू अहिलेको चुनावमा खुम्चिए । नेता र पार्टीको रैती र दास बन्ने यस्तो चरित्रले स्वभिमानको आन्दोलन कमजोर मात्र हुन्छ ।

हामीले भोगेको समय र समाजले हामीलाई सधैं भोगविलासको साधन ठान्यो । जबसम्म हामी आत्मनिर्भर र स्वतन्त्र बन्ने बाटोमा जाने हिम्मत गर्दैनौं, तबसम्म हाम्रो बाँकी पुस्ताको हैसियत त्योभन्दा माथि जानेवाला छैन । जबसम्म हामी टीका, पोते र शृङ्गारका सामान किन्नकै लागि बा, दाजु, र पतिमा आ िश्रत हुन्छौं, तबसम्म समानता असम्भव छ । परिवर्तन फगत सपना हुन्छ । परजीवी जुका भएर होइन, स्वतन्त्र कमिला भएर हामी समता स्थापित गर्न सक्छौं ।
नाम, सान मान र अभिमान लिएर समाजमा उभिने मात्र होइन, अग्लिने चाहना भएमा मात्र हामी योगमाया झैं हुन सक्छौं । सधैं उही ‘राम्री, सोझी, इमानदार, सहनशील’ को उपमा भिरेर ‘भरे स्वामीले खाना, नाना र चाचा’ लिएर आउनुहुन्छ भन्दै ऐनाअगाडि बसेर दंग परेर त्यो स्वाभिमान र स्वतन्त्रता प्राप्त हुन्न । महिला र पुरुषको सम्बन्ध शासक र शासितको होइन, त्यो सहकार्य र सम्मानमा आधारित सम्बन्ध हो ।
लेखक कानुन विद्यार्थी हुन् ।

यो लेख अन्नपुर्ण पोस्टमा १९ कार्तिक २०७४ मा प्रकाशित भएको थियो http://annapurnapost.com/news/83461

म र जिन्दगी

म दुर चिहाउन निस्केको मान्छे

भुलेछु अासपास चिहाउन नै

तिमी भन्दा पर केही देख्दै नदेख्ने भएछु

अाँखै अगाडिको सुन्दर क्षितिज

शिरै माथिको निलो गगन

अाफ्नै भरोसा टेकिएको प्यारो माटो

प्यास मेटाउन तत्पर कन्चन पानी

फिक्का फिक्का भएछ

निर्जीव बनेछ

मेरै लागि स्वास भर्ने ठेक्का लिएको वायु

सबै सबै बिर्सेर भौँतारिएछु।।

तर सर्वथा बिर्सेर देखेको तिमीले

अाँखा चिम्लेर गरेको भरोसा माथि

यसरी कुठाराघात गर्यौ कि

जिन्दगीका नदेखिएका सत्यहरु देख्न पाँए।

जिन्दगी ले दिएको भन्दा

नदिएका खुशीहरु प्रिय लागे

समय भन्दा बलवान लागेका

बिश्वास हरु

कायापलट भएर

उन्मुलन कै गतिमा बेग लगाइरहेछन्

र पनि

डियर जिन्दगी

तिमी प्रतीको मेरो प्रेम उस्तै छ!

तर पनि

जान मन छ कतै टाढा

यो मतलबी दुनिया

र स्वार्थी मान्छे हरुको चंगूल बाट।

जहाँ

बास्तविक जिन्दगी

बिचरण गर्न पाइयोस।

पाइयोस मायावी समय को

मिठो आलिङ्गन

बिर्सेर सर्बथा

सम्झेर केही राम्रा

समयका किस्साहरु

शिथिल मन र

गुम्सिएको आभास लाई

बिसाउन कुनै चौतारीमा

जहाँ ढाक्रेहरु बिसाउँछन्

अाफ्ना तन भरिको दुखःहराउँदै यो भिड भन्दा पर

बोकेर तिम्रा मेरा समयका यादहरु

लिएर एउटा विशाल हृदय

डियर जिन्दगी तिमी

मलाई माफ गर्नु है

थकान मेटाउने बहानामा

म अाफैँ कतै गुमनाम भएँ भने !!

 

तबमात्रै मतदान केन्द्र पुग्न सकिनेछ…

चार वर्षअघि काठमाडौंको सामाखुसीमा अज्ञात समूहबाट सार्वजनिक सवारीमा बम विस्फोट गराइयो । त्यतिखेर वैद्य नेतृत्वको माओवादीले चुनाव बहिस्कार गरेको थियो र देशभर यस्तै खालका विध्वंसक कृयाकलाप गरिरहेको थियो । विध्वंसमा माइक्रोबस चालक रामबहादुर थापाको ज्यानै गयो । विस्फोटमा बालबच्चासहित करिव दर्जन घाइते भए । उनीहरूको जीउ डढेको थियो । उतिखेर वैद्यको बन्द अवज्ञा गरेको नाममा निर्दोस व्यक्ति मारिन पुगे । ठ्याक्कै त्यस्तै अवस्था अहिले पनि देखिएको छ । उतिखेर विस्फोट गराउने वैद्य माओवादी अहिले ‘चुनावको उपयोग गर्ने’ भन्दै चुनावमा छ तर विप्लव भने ताण्डव प्रदर्शन गरिरहेका छन् ।

अहिलेसम्म झण्डै दर्जनको हाराहारीमा त्यस्ता हिंसात्मक गतिविधि भइसकेका छन् । यस्तै सुरक्षा स्थितिले चुनावी सरगर्मीलाई चिसो बनाउँछ कि भन्ने डर बढेको छ । उम्मेदवारलक्षित आक्रमणले  हाम्रा सुरक्षा संयन्त्रमाथि स्वभाविक प्रश्नचिन्ह खडा भएको छ । त्यो रोल्पाको चुनावी प्रचारका क्रमममा भएको बर्षमान पुनमाथिको हमला होस या तनहुँमा भएको रामचन्द्र पौडेलमाथिको आक्रमण, नुवाकोटमा भएको रामशरण महतको गाडीलाई लक्षित आक्रमण नै किन नहोस्, निशाना शीर्ष नेतामाथि नै छ ।

त्यस्तै रौतहटमा बाम गठबन्धनको सभा नजिकै भएको बिस्फोट र ओखलढुंगामा भएको आक्रमण प्रतिनिधि घटना मात्र हुन् । चुनावको पूर्वसन्ध्यामा भएका यी घटनाले निर्वाचन भयरहित बातावरणमा सम्पन्न हुन्छ–हुन्न भन्न सकिने स्थिति छ । व्यवस्था नै मान्दिनँ भन्नेले चुनाव बिथोल्न खोज्नु स्वभाविक हो तर ज्यानै जानेगरि आक्रमण गर्नु अस्वभाविक हो । अझै अस्वभाविक चाहिँ यस्ता घटना हुँदा पनि राज्यले त्यसप्रति उति चासो प्रकट नगर्नु अति नै अस्वभाविक हो ।

युद्धस्वप्नको रहरमा सर्बसाधारणप्रति गरिने अन्यायपूर्ण व्यबहार कहिलेसम्म जारी रहने हो ? किन हुँदैछ असुरक्षित स्थितिको सिर्जना ? देशलाई सधैं हिंसाको गोलचक्करमा राखिरहन विप्लवहरूलाई कसले प्रयोग गर्दैछ ? हामीकहाँ आज पनि सुरक्षाको अर्थ शहर–चोक–गल्ली र आसपासमा प्रहरी तैनाथ गर्नु भन्ने बुझिन्छ ।  तर कतिपय अवस्थामा सुरक्षा निकायको उपस्थितीकै कारण पनि हिंसात्मक तत्व सल्बलाउने समेत गरेका छन् । ग्रामीण भेग यस्ता क्रियाकलापको चपेटामा पर्ने गरेका छन् । त्यसको मारमा पर्ने गरेका छन् ग्रामीण र सोझा सर्बसाधारण ।

आज समय पहिला भन्दा फरक भएको छ । धुले नै सही, ग्रामिण स्तरमा सडक निर्माण भएको छ । जसले नेताजीहरुको चुनावी प्रचारप्रसारलाई सहज बनाइदिएको छ । धुलाम्मे र साँघुरो सडकमा पार्टीको झन्डा सहितको करोड पर्ने गाडीको आगमनले ग्रामीण बालबालिकालाई नतान्ने कुरा नै भएन । अनि गाउँमा भेटिने भनेका चौतारीमा दुःख बिसाएर बस्ने उमेरका बृद्धवृद्धा नै हुन् । उनीहरूलाई पनि गाडीको गरर र लावालस्करले ध्यान खिच्ने नै भयो । यस्तोमा चुनावी बिथोल्नेहरुको धराप निर्धा र अशक्तमाथि पो पर्ने देखिन्छ । यस्तोमा निर्दोषहरू पीडित हुनु राम्रो होइन । हुन त हिंशा कसैमाथी हुनु पनि राम्रो होइन तर धान खाने मुसो चोट पाउने भ्यागुतो  त अझै नराम्रो हो । गाउँमा कि त मसिना बालबालिका छन् कि त डाँडापारीका घामसरह वृद्धृवृद्धा । त्यसबाहेक हामीकहाँ कि त नेता छन् कि त कार्यकर्ता । कार्यकर्तालाई जनता भन्न सकिने स्थिति पनि छैन । जनता हुनलाई त कालो सेतो छुट्याउन सक्ने खुबी हुनु पर्छ । यहाँ त यस्तो छ कि कालो सेतो मतलब छैन । जो होस्, त्यो आफ्नै पार्टीको होस् भन्ने मानसिकता छ । यस्तो अभ्यासले हामीलाई कस्तो नेतृत्व चुन्न मद्दत गर्ला ?

बिगतका घटनाहरूलाई पाठको रूपमा लिएर सरकारले सुरक्षा बढाइएको हुन्थ्यो भने आज केही हदसम्म यी क्रियाकलाप कम हुन्थे होलान् । तर हामिमा दुरदर्शिता भन्ने नै छैन । सरकारमा त्यस्तो देखिएन । जति बेला जे पर्छ,  त्यसै टर्छझैं किन गर्छ सरकार ? ‘जब प¥यो राती, तब बुढी ताती’ भन्ने उखान चरितार्थ भएको छ हाम्रो सवालमा । सरकारले क्षेत्र पहिचान गरि सामान्य, संबेदनसिल  र अति संबेदनसिल गरि बस्तुस्थितीको प्रकार छुट्टाएको छ । तर त्यतिले मात्र पुग्दैन । चुनावी हिंसालाई जरैबाट निमिट्यान्न पार्नेगरि सरकार नउत्रे त्यसले मतदातालाई मतदानकेन्द्रसम्म पु¥याउन कठिन पार्नेछ ।

विध्वंसात्मक घटनाहरूको जिम्मेवारी नेत्रबिक्रम चन्द (विप्लव ) विप्लव नेतृतवको माओवादीले लिएको पनि छैन र यस्ता गतिविधी उनको एक्लो प्रयासबाट भएजस्तो देखिन्न । कसैको कृपा र सहयोग भइरहेजस्तो देखिन्छ । त्यसमाथि हिंसाको विषयमा दलहरू गाँड कोराकोर गरिरहेछन् । त्यो उचित छैन । त्यसमाथि सरकार पनि विप्लवका कार्यकर्तालाई पक्राउ गरझैं मात्र गरिरहेछ । झट्ट हेर्दा कारबाही देखिन्छ तर मौन समर्थनजस्तो देखिन्छ । यसलाई रोक्न प्रभावकारी कदम नचालिनुले आम जनमानसमा कस्तो सन्देश प्रवाह होला ? जुनसुकै दललाई सत्तामा जाने या प्रतिपक्षमा बस्ने स्वतन्त्रता छ तर जनाधिकार हनन हुनेगरि विध्वंस मच्चाउने अधिकार तिनलाई छैन ।
कसैको उग्र सपना पूरा गर्ने नाममा समाजमा त्रास र अस्थिरता निम्तिनु हुदैन । यो समाज र राष्ट्रप्रति ठूलो अन्याय हुन्छ । तपाईं निर्वाचनमा भाग लिनुस् या नलिनुस्, तपाईंको अधिकारको कुरा भयो । तर मतदानको अधिकारमाथि हस्तक्षेप गर्नु कुनै क्रान्ति होइन । यो त मानवीय अधिकार माथीको हस्तक्षेप हो । यस्ता अवान्छित गतिविधीलाई जुनसुकै हालतमा रोक्नु पर्छ । यस्ता क्रियाकलाप रोक्न नसक्नुले सरकारको निरिहपनाको झल्को दिन्छ, त्यसले दण्डहिनतालाई प्रोत्साहन मिल्छ । यसो हुनु भनेको जनतामा राज्यप्रतिको भरोसा हराउनु हो । जनताको नैसर्गिक अधिकारमाथि कुठाराघात गर्ने अधिकार कसैमाथि छैन र हुँनुहुदैन पनि । हामीले प्रत्येक गल्तीबाट नयाँ पाठ सिक्दै आगामी दिनमा यस्ता गल्ती नदोहो¥याउने भर्पुर कोसिस गर्नुपर्छ । त्यसो हुँदा आगामी दिनमा शान्तिसुरक्षाको व्यवस्थाप्रति जनताको भरोसा रहनेछ ।

 

यो लेख रातोपाटीको  मंसिर ८, २०७४ मा   प्रकाशित भएको थियो  http://www.ratopati.com/story/22937

लालबाबुको दोस्रो अवतार

Pipala Dhungana पिपला ढुङ्गाना.

केपी शर्मा ओलीको प्रधानमन्त्री पदको शपथ ग्रहण कार्यक्रममा पुगेका एमाले सेलिब्रिटी नेता लालबाबु पण्डितलाई ओलीले ‘सरप्राइज’ दिएर जनसंख्या तथा वातावरणमन्त्री बनाइदिए। नवप्रधानमन्त्री ओलीबाट दुनियाँले अपेक्षाका पोका उन्दै गर्दा असली राष्ट्रवादी छवि बनाएका पण्डितबारे झनै बढी अपेक्षा सुनिन थालेका छन्। नेपालको सरकारी जागिर खाँदै अमेरिका र युरोपमा स्थायी बसोवासको दोहोरो हैसियत बनाउनेहरू स्वतः सरकारी कर्मचारीबाट बर्खास्त हुने गरी कानुन बनाउने काममा सफलता पाएका पूर्वसामान्य प्रशासनमन्त्री लालबाबु पण्डित सोही लोकप्रिय भए।

आफ्नै पार्टीका कतिपय ‘राष्ट्रवादी र युवा’ नेताले त्यस्तो कानुन नबनाउन दबाब दिँदा पनि उनी डेग चलेनन्। लालबाबुको आत्मकथा ‘सिंहदरबार बदल्ने कथा’ पढेपछि लालबाबुको नियतबारे धेरै कुरो बुझिन्छ। किताब पढ्दा यस्तो लाग्छ, नैतिक रूपमा बलशाली मान्छेका अघि बडेबडेको समेत केही लाग्दैन। लालबाबुविरुद्ध अन्य दलका बाबुसाहेबहरू त लागे नै, एमाले, युवासंघ र महिला संघका ‘बडे’ हरू पनि लागेका कथा किताबभित्रआएका छन्। ऐनविरुद्ध लवि गर्नेहरूको एकएक नाम किताबमा निर्भीकताका साथ उनले उल्लेख गरेका छन्। लालबाबुको इमानदार मिसन पुस्तकबाटै प्रस्टिन्छ।

मधेसमा जन्मेर पहाडी स्कुल पढेका लालबाबु एमालेभित्रका वैचारिक नेता हुन्। मजदुर फाँटबाट आएका उनी पहाड–पर्वत–हिमाल र मधेसको मर्म राम्ररी बुझ्छन्। मदनकुमार भण्डारीसँगै पञ्चायतकालीन संघर्षबाट खारिएर आएका उनले पार्टी, सरकार र समाजमा हुने विभेद, अर्घेल्याईं र षड्यन्त्रका कथा राम्ररी बुझेका छन्। जीवनभर नेपालको जागिर खाएर मर्नेबेलामा सुकिलो देशतिर गएर मर्ने रहर गर्ने सरकारी कर्मचारीबाट देशको विकासको अलिकति पनि अपेक्षा गर्न सकिँदैनथ्यो। नेपालको जागिर खाने, जागिरकै सिलसिलामा अकूत सम्पत्ति कमाएर बालबच्चा विदेश ‘एक्सपोर्ट’ गर्ने अनि पेन्सन पाकेपछि विदेश जाने, पेन्सन झिक्न र बेलाबेला ट्रेकिङ जानका लागि नेपाल आउने ! यो रोगले नेपाल आक्रान्त थियो र एउटा इमानदार नेताले गरेको पहलकदमीले कमसेकम त्यो बेथिती आज रोकिएको छ।

मान्छेहरू भन्छन्, ‘तानाशाही शासनमा मात्रै हो व्यक्तिले समाजमा ठूला परिवर्तन गर्न सक्ने, हाम्रोमा प्रणाली नै बर्बाद छ, एउटा मान्छेले के नै गर्न सक्छ ? ’ लोकतन्त्रमा अनेक जञ्जाल र सञ्जालको हस्तक्षेप र प्रभाव चर्को हुन्छ। कानुन, थिति, रीति, ऐन, विधिविधान र प्रक्रियाजस्ता कुराले आमूलालबाबुको दोस्रो अवतारल सुधारको बाटो रोक्छ। तर पण्डितले सबै व्यवधान पाखा लगाएर मन्त्रीकालमा अहम् काम गरे। उनको पुस्तकका सबै कथन मान्ने हो भने उनी लाखौं–करोडौंमा बिकेनन्। इमानका अघि पैसाका बिटा कायल भए। गत चुनावमै पनि पण्डितको इमानदारी झल्कियो। पैसा नकमाएका ‘आम आद्मी’ उनले कांग्रेसको गढ मानिने मोरङमै कोइराला परिवारका शेखर कोइरालालाई हराइदिए।

ठेकेदार, जग्गा दलाल र म्यानपावरका पैसावालाहरूका पैसा र डोनेसनमा चुनाव लड्ने नेतालाई चुनौती बन्दै उनले चुनावी अभियानमा जनतासँग चन्दा मागेर चुनाव लडे। पण्डितलाई विदेश बस्ने व्यक्तिहरूले समेत केही सहयोग पठाइदिए। इमानदार भएर बाँच्न कठिन हुँदै गएको समयमा पण्डितको इमानदारीले सबैलाई कायल पार्‍यो। चुनावपछि उनले आफ्नो चुनाव खर्च पनि सार्वजनिक गरे। चुनावी प्रचारका क्रममा उनी पत्रकारहरूसँग भनिरहेका थिए, ‘मन्त्री हुँदा मैले गर्न खोजेको कामलाई सकारात्मक रूपमा चर्चा गरिदिएर मलाई सहयोग गर्नुभयो, अब चुनाव सय–पचास पैसा रुपैयाँ दिएर सहयोग गर्नुहोस्।’ चुनावमा उनलाई लक्षित गरेर बमसमेत फ्याँकियो, तर बलले उडाएन लाल सपना।

वाम सरकारको घोषणापत्रमा विद्युतीय सवारीमा शतप्रतिशत कर छुटको कुरा उल्लेख छ। यतिमात्रै कार्यान्वयन गराउन सके भने स्वच्छ हावाको जस पण्डितले पाउनेछन्।

राष्ट्रपति भवनमा ओलीको शपथ कार्यक्रममा पुगेका पण्डितलाई ओलीले मन्त्रीमा नियुक्त गर्नुपछाडिको मूल कारण पण्डितको नैतिक बल नै हो। आलोेपालोका नाममा प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट नहट्ने योजनाका साथ अघि बढेका ओलीलाई आफूले चुनेका अनुहार विवादरहित मात्रै होइन, लोकप्रिय पनि चाहिएको थियो। पण्डितको नियुक्तिमा कसैले विरोध गर्न सक्दैनन् भन्ने ओलीले बुझेका छन्। पार्टीभित्र अर्को पक्षको आवाज सुन्नेभन्दा पनि तिनलाई कमजोर तुल्याउनेतिर अग्रसर भएका ओलीसमेत पण्डितको लोकप्रियताबाट नतमस्तक भए। प्रदेश ३ को मुख्यमन्त्रीमा अष्टलक्ष्मीलाई जिल्याइदिने ओलीले नत्र घनश्याम भुसालको वैचारिक स्कुलका पण्डितलाई अनौठो ‘सरप्राइज’ दिने थिएनन्।

हाम्रोमा ‘फलानो मन्त्रालय बलियो र ढिस्कानो कमजोर’ भन्ने मान्यता छ। शक्तिको अभ्यासमा त्यस्तो हुन्छ पनि। बुझिल्याउँदा अहिले पण्डितलाई थमाइएको मन्त्रालय शक्ति र जिम्मेवारीका हिसाबले ‘मालदार’ होइन। उसो त अघिल्लोपटक पण्डितले सम्हालेको मान्त्रालय ‘धन्दा र कमाइ’ का हिसाबले खासै चर्चित र मालदार थिएन। कामै गरेरै उनले आफ्नो र मन्त्रालयको नाम उजिल्याएका हुन्। तर झन्डा हल्लाउन मात्र मन्त्री नभएका उनलाई यहाँ अवसर उत्तिकै देखिन्छ।

बीस वर्षअघिका हाम्रा खोलानाला, पहाड, पर्वत र फाँट हेरे मात्र पनि हामीले कति वातावरण विनाश गर्‍यौं थाहा हुन्छ। सडक, बजार र राजमार्गमा कालो धुवाँको मुस्लो उडाउँदै हिँडेका गाडी हेर्दा हाम्रो वातावरण र स्वास्थ्य कति खतरामा छ भन्ने देखिन्छ। सडक र सार्वजनिक स्थानमा ठालु पल्टेर चुरोट पिउँदै बुङबुङ्ती धुवाँ उडाउनेहरू देख्दा हाम्रो कानुन उल्लंघन भएको बुझिन्छ। क्यान्सरका कारण अस्पतालका बेडमा किमोथेरापी लिँदै जीवनसँग संघर्ष गरिरहेका बच्चाहरू देख्दा हामी वायु प्रदूषणको कति भयावह अवस्थामा छौं भन्ने थाहा हुन्छ। इँटाभट्टाबाट निस्केको धुलो र धुवाँका कारण घुर्मैलो बनेको आकाशबाट हाम्रो वातावरणको वास्ताविकता देखिन्छ।

काला धुवाँ उडाउने सवारी चालक र धनीलाई गम्भीर कारबाही गर्ने हो भने कालो धुवाँ रोक्न कठिन छैन। विद्यमान कानुनलाई कडा कार्यान्वयन गरे मात्रै पनि सार्वजनिक स्थानमा निकोटिनका धुवाँ उडाउनेहरू नियन्त्रित हुनेछन्। पोलिथिन, गुट्खा, चाउचाउ र टफी (साना चक्लेट) का कागजले हाम्रो माटो भरिएका छन्। त्यस्ता उत्पादनमा नियन्त्रण र पोलिथिन ब्याग नियन्त्रणसम्बन्धी विद्यमान कानुन लागू गर्ने हो भने परिवर्तन देखिनेछन्। खोलामा ढल मिसाइएका कारण र खोलामा मनलाग्दी करेन्ट लगाएर र विषादी हालेर माछा मार्ने कामले समग्र पर्यावरण सखाप भएको छ। हाम्रा जलचर लोप भएका छन्। यस्तोमा पनि कानुन र कडा कारबाही आवश्यक छ।

पण्डितले पहिले बनाएको छविका कारण पनि मन्त्रालयले ल्याएका नयाँ कार्यक्रम लागू गर्न सहज हुनेछ। वाम सरकारको घोषणापत्रमा विद्युतीय सवारीमा शतप्रतिशत कर छुटको कुरा छ। यसैमा पण्डितले ‘डिल’ गरे भने पनि भोलि स्वच्छ हावाको जस उनले पाउनेछन्। चुनाव पहिले पण्डितका प्रतिस्पर्धी उम्मेदवार शेखर कोइरालाले कुनै मन्तव्यमा आफूले लालबाबुलाई नचिनेको बताए।

लालबाबुले यो कुरा थाहा पाएपछि ठट्यौली पारामा प्रतिक्रिया दिए, ‘डा. सापले मलाई चिन्नुभएको रहेनछ, अब चुनाव जितेपछि कोइराला निवासमा साइकल चढेरै पुग्छु र उहाँलाई लड्डु खुवाउँछु।’ उनले चढ्ने साइकल सादगीको त प्रतीक हो नै, सँगै विश्वभर कार्बन उत्सर्जन नगर्ने सफा सवारीसाधनको प्रतीक पनि हो। दिगो, विकास, मानव स्वास्थ्य, पर्यावरण संरक्षण र जनसंख्या नियन्त्रणजस्ता विषयमा चट्टानी अडानी लिएर लालबाबुले आफूलाई फेरि प्रमाणित गरून्। डीभी प्रकरणमा धेरै नेपालीले चिनेका उनलाई यति गर्न सके विश्वले चिन्नेछ, वातावरणसम्बन्धी ठूलाठूला अन्तर्राष्ट्रिय संस्थाले चिन्नेछन्। उनको दोस्रो अवतार हेर्ने रहर छ।

यो लेख  अन्नपुर्ण पोस्टमामा ७ फागुन २०७४ मा   प्रकाशित भएको थियो http://annapurnapost.com/news/91357#undefined.uxfs

समीप

तिम्रो जवानी खाडीमा पग्लिएको

अनि कोरियाको हिउँसँगै जमेको

जब सम्म यो देशले नियाली रहन्छ ,

म मान्दिनँ मेरो देशमा गरिबहरुको दिन आएछ!

सपनाको पोको बोकेर

तिमी लाहुर हिँडेको दिन

म यो देशको चुनाबी नतिजाको

व्यग्र प्रतीक्षामा छु!

विभेदका नौ बुँदा

नर र नारी दुवै सृष्टिका सुन्दर रचना हुन्, तर पनि यी दुईका निम्ति समाजले बेग्लाबेग्लै थिति बनाइदिएको छ र तीमध्ये कतिपय प्रचलन र व्यवहार अनुचित र नाजायज हुँदाहुँदै पनि हामीले त्यसलाई पर्याप्त चुनौती दिन सकिरहेका छैनौं। उस्तै कोखमा पैदा भएका, उस्तै वीर्य–डिम्बबाट बनेका, उस्तै रगत बग्ने मान्छेबीचको विभेदलाई

पहिचान गर्न नसक्दा हामी त्यस्ता अन्यायबाट अहिले पनि जकडिएका छौं। हामीले साँच्चै युगान्तकारी परिवर्तन चाहेका हौं भने त्यस्ता गलत अभ्यास छोड्नुपर्छ। समाजले बनाएका तिनै केही विभेदकारी संस्कारलाई नौ बुँदामा संक्षेपमा तल उल्लेख गरिएको छ। यी हाम्रो समाजमा भएका हजारौं विभेदका केही प्रतिनिधि अंश मात्रै हुन् :

अनौपचारिक दासी

यस्तो लाग्छ, भान्छा महिलाको पेवा हो। भान्छा सम्हाल्ने करारनामामा छोरी जातिले जन्मँदै हस्ताक्षर गरेको हुन्छ। पुरुषले भान्छा सम्हाल्नका निम्ति नै श्रीमती घर भित्र्याउँछ भन्ने तथ्य त कुनै घरमा श्रीमतीको मृत्यु हुँदा लोकले ‘बिचरा फलानोको घरको चुलो निभ्यो, अब अर्को विवाह नगरे कसले चुलो धुवाउँछ ? ’ भन्ने गरेबाटै थाहा हुन्छ। श्रीमान्– श्रीमती अफिसबाट सँगै घर फर्कन्छन्, लोग्नेलाई पानी टक्र्याएर श्रीमती भान्छातिर लाग्छे भने लोग्ने सोफा या बिछ्यौनामा। एकाध जोडीलाई अपवादमा छोड्ने हो भने भान्छामा पकाउने, लुगा धुने र घर सरसफाइको काम नेपाली समाजमा अहिले पनि महिलाकै जिम्मामा छ। छोरी मान्छे भएकै कारण भान्छा, पँधेरो र सरसफाइमा जिन्दगीको आधा समय खर्चनुपर्ने चलन पटक्कै मुनासिव होइन।

बिहान छिटो उठेर दैलो पोत्ने, सन्तानको हेरचाह गर्ने, वस्तुभाउको रेखदेख अनि रातमा कतिपय अवस्थामा चाहनैविना वासना बैठानको साधन बन्नु कतिपय नेपाली महिलाको दैनिक चर्या हो। आजसम्म मेरा बाबाले भान्छा सम्हालेको मैले देखेकी छैन। मेरी छोरीले मेरो भान्छामा पनि यस्तो ‘रिभर्स’ दृश्य देखेकी छैन। हाम्रा छोराहरूले पनि घरमा त्यस्ता दृश्य नदेखेपछि कसरी बुझ्लान् तिनले समानताको कुरो ? जबसम्म भान्छा र ‘नदेखिने श्रम’ मा महिला मात्रै देखिन्छन् तबसम्म परिवर्तन ‘एनजीओका बफे’ हरूमा मात्र आउनेछन्। कमाइको दम्भचाहिँ भालेजातिको एकलौटी विरासत बन्ने अनि घरखेतकी दासीचाहिँ महिला बन्ने यो चलन अनुचित र अस्वीकार्य छ।

वैधानिक–अवैधानिक वेश्या

वेश्या शब्द सुन्दा कतिलाई अपाच्य र असभ्य लाग्छ तर महिलालाई समाजले आज पनि भोग्याका रूपमा व्यवहार गरिरहेको छ। कहिलेकाहीं लाग्छ– व्यवहारका आधारमा हेर्ने हो भने त समाजमा उत्ति नै पुरुष वेश्या पनि छन् तर हाविभेदका नौ बुँदाम्रो समाजमा वेश्या भन्नेबित्तिकै प्रायः सबैले स्त्री जातिलाई बुझ्छन्। पोथी वेश्या हुन्छे भने भाले वेश्या पनि अवश्य हुन्छ किनकि वेश्या भोग्ने पनि वेश्या नै हो। मेरी साथीले मलाई बताएको एउटा कथाले समाजले राम्रो पहिरनमा सजिएर साँझबिहान हिँड्ने स्त्रीलाई पनि वेश्या देख्ने तथ्य उजागर गर्छ। मेरी साथी केहीअघि साँझको समय लाजिम्पाटबाट आफ्नो निवासतर्फ फर्कंदै रहिछन्। रत्नपार्क पुग्दा आफ्नो निवास कालिमाटी पुग्न उनले बस पाइनन्। उनले हिँडेरै कालीमाटी जाने निधो गरिछन्। त्यत्तिकैमा उनका श्रीमान्ले उनलाई फोन गरेर केहीबेर रत्नपार्कमै कुरिराख्न र आफू लिन आउने बताए। साथीका अनुसार उनी रत्नपार्कमा पाँच मिनेटजति मात्र उभिइन् तर त्यसबीचमा धेरै पुरुषले उनलाई ‘दाम कति हो ? , रेट कति हो ? ’ भन्दै उनको मोल सोधेछन्। मेरी साथीले रत्नपार्कमा उनी उभिएको त्यो पाँच मिनेट जीवनकै त्रासदपूर्ण र लामो भएको बताइन्।

लाजिम्पाट, ठमेल र दरबारमार्गका केही घरानियाँ रात्रि जीवनबाहेक आज पनि साँझ र रात भनेको छोराहरूको मात्रै हो। समाजको नजरमा बेलुका हिँड्ने छोरीचेली सबै वेश्या हुन् या वेश्याजस्तै हुन्। कति स्त्रीहरू आफैं कमाउँदै पनि उच्च शिक्षा हाँसिल गरिरहेका होलान् यो सहरमा, तिनलाई रातसाँझ हिँड्नुपर्दो हो। ती पनि मेरी साथीजस्तै ‘रेट’ को प्रश्नले बारम्बार रेटिएका होलान्। रातसाँझमा बस कुर्न उभिएका सबै पोथी जाति ‘वेश्या’ हुँदैनन् भनेर कसले बताइदिने ? दुःख त यतिखेर लाग्छ, यस्ता प्रवृत्तिविरुद्ध महिला कुनै संगठित प्रतिक्रियासमेत जनाइरहेका छैनन्।

कामचलाउ शिक्षा

समाजका धेरै बाउआमालाई आफ्नो भविष्यको चिन्ता छ। त्यसैले ती आफूलाई भोलि पाल्ने छोरोलाई राम्रो स्कुल पठाउँछन् तर छोरीलाई सस्तो शुल्कवाला स्कुल पठाउँछन्। हामीमा सरकारी स्कुललाई कमजोर र निजीलाई राम्रो ठान्ने प्रचलन जो छ। कतिपय अभिभावक त यति निष्ठुर र देखिने गरी नै अपराधी स्वभावका छन् कि छोरालाई मीठोमसिनो र छोरीलाई नमीठोसमेत खुवाउँछन्। छोराले पछि आफूलाई पाल्ने तथा छोरीलाई पढाए पनि आखिर अर्काको घर पठाउनुपर्ने हो भन्ने चिन्तनका कारण सम्भवतः यस्तो गरिएको हो। यो सोचमा विस्तारै परिवर्तन पनि आएको छ। एउटा नयाँ पुस्ताले कमसेकम शिक्षामा छोराछोरीबीच विभेद गर्न छोड्दैछ। त्योचाहिँ राम्रो संकेत हो।

बिहेको अधिकार

छोरीले बिहे नगरी जन्मघरमै बसे त्यसलाई दपेट्ने र बिहे गर्न बाध्य तुल्याउने प्रचलन छ हाम्रोमा। ७० वर्षको बूढो शिव शर्मालाई सात वर्षकी बच्चीबीचको विवाहको कथा पढेर हुर्केको समाज आज पनि अविवाहित छोरीहरूका पक्षमा छैन। स्त्री जातिको दोस्रो विवाह त फलामको चिउरा नै हो आज पनि। किनकि हामीले भाले जातिले मात्रै कमाएर खुवाएका कथा पढ्यौं। उसैले घर चलाउने बहानामा दोस्रो बिहे गरेको संस्कृति झेल्यौं। पोथी जाति त केवल घरको चौघेराभित्र पतिव्रता बनेर बस्ने, पहाड नै खसे पनि सहेरै बस्नुपर्ने जातिका रूपमा चित्रित गरिए। पुराण र ग्रन्थ भाले जातिकै जितका कथामा बनाइए। त्यस्तै, विधवा विवाहको विषय पनि अझै पेचिलो छ समाजमा। विदुरहरूले कसैको प्रश्नविनै दोस्रो बेहुली भिœयाए पनि एकल महिलाले अर्को विवाह गर्दा त्यसलाई नाक खुम्च्याएर हेरिन्छ।

अंगरक्षकको जिम्मा

शारीरिक रूपमा फरक जनेन्द्रिय लिएर जन्मेकै आधारमा आज पनि छोरी–बुहारीको घुमफिरको अधिकारको निर्णय परिवारका भाले जातिले गर्छ। स्त्री जातिको कोखमा हुर्की जन्मिएर आमाकै दूध खाएका र छातीको न्यानोबाट जीवनदान पाएका प्रत्येक पुरुषले आफूलाई सभ्य बनाउने हो भने समाजमा को असुरक्षित हुन्छ ? घरबाट अलिपर जानुपर्ने अवस्थामा छोरी या बुहारीलाई भाइ, देवर या कुनै अभिभावकको जिम्मा लगाउनुको अर्थ हो– अहिले पनि समाज महिलालाई पिँजडामा कैद गर्न चाहन्छ। घरका आमाहरू आज पनि छोरीलाई हकार्छन्– छोरी मान्छे भएर यतियति रातिसम्म घर आउनु पर्दैन ? आमाहरू यसो किन भन्छन् भने आमालाई छोरीप्रति भन्दा पनि समाजले हुर्काएको विभेदकारी नीतिसँग विश्वास छ।

केटा पनि साथी हुन्छ ?

केही समयअघि म एकजना साथीसँगै थिएँ। उनको घरबाट फोन आयो। कुरा गर्दै जाँदा उनले आफू साथीसँग रहेको बताइन्। उताबाट आमाले उनलाई प्रश्न गरिन्– केटा कि केटी ? उनकी आमा चाहन्छिन्, छोरीको केटा साथी नै नहोस्। तर त्यही प्रश्न आफ्ना छोरासँग सोध्न जरुरी ठान्दैनन् बाबुआमा किनकि छोरो विशेषाधिकारले युक्त छ। केटाहरू जहाँ जान पनि निस्फिक्री छन्। स्वतन्त्रता मानव जीवनको सबैभन्दा ठूलो उपहार हो र पनि धेरै छोरीहरू कैद गरिएको स्वतन्त्रताभित्र आजका दिनमा पनि आफ्नो खुसी खोजिरहेछन्।

कमजोर र निम्छरो चित्रण

छोरी धरतीकी सृष्टि हुन् भने उनी कसरी कमजोर हुन्छिन् र ? तर पनि कमजोरीका कुरा हुँदा महिलाकै नाम आउँछ। ‘म पनि हातमा चुरा लगाएर बसेकी छैन नि निहुँ नखोज्न’ मेरो स्कुले जीवनको अन्तिम वर्षतिर गाउँमा भएको दाजुभाइको सामान्य झगडामा भाइले बोलेको यो वाक्यले आज पनि मलाई पीडा हुन्छ। चुरा लगाउनुले पीडा हुन्छ। चुरा उतिबेलैबाट कमजोरीको प्रतीक रहेछ भन्ने परेको छ ममा। सहरमा विवाहित कि अविवाहित भनेर छुट्टिने गरी नहिँड्नुलाई खासै चासोको विषय बनाइँदैन, तर यही विषय गाउँमा महŒवपूर्ण बन्छ अहिले पनि। केही समयअघि गाउँले आफन्तको घर जाँदा धेरै चिनजानका मान्छे भेटिए। त्यही बीचमा एकजना आमाले सोध्नुभयो– नानिको बिहे भएको होइन ? खैत र सिन्दूर–टीका ?

मैले आमालाई नम्र भावमा सोधें– सिन्दूर–पोते नलगाएका स्त्रीहरू पतिव्रता होइनन् भने पुरुषचाहिँ कसरी पत्नीव्रता ? आमाले जिब्रो टोक्नुभयो। मैले भनें– पतिव्रताको चिह्न सिन्दूर–पोते होइन। हामीसँग झुन्डिने हाम्रा नानीहरू नै हामी विवाहित भएको ठूलो प्रमाण हो नि ! मलाई अहिले पनि लाग्छ– खासमा सिन्दुर–टीकाको व्यवस्था पुरुषलाई हुनुपर्ने हो किनकि उसले गर्भवती हुनुपर्दैन, स्तनपान गराउनु पर्दैन। सन्तानोत्पादनपछि महिलाको शरीर बदलिएजस्तो उसको शरीर बदलिँदैन।

स्त्रीशक्तिलाई नस्विकार्ने

मुलुकमा यत्रा उहापोह भए तर अहिले पनि महिला कि ‘सेरेमोनियल’ पदमा छन् कि त उपप्रमुखहरूमा। बाध्यकारी कानुनले ठिंगुराए मात्रै, नत्र संसद्मा समेत महिलाको जुन उपस्थिति छ, त्यो नहुने थियो। ठूला पार्टीका मञ्च र बैठकहरूमा समेत विरलै महिला उभिएको देख्न पाइन्छ। बिछ्यौनामा महिलाको उपस्थितिमा रमाउने पुरुषले महिलाको सामाजिक उपस्थिति मन नपराउनु स्वाभाविक हो तर महिला स्वयंले महिला नेतृत्वलाई शंका गर्ने र अस्विकार्ने मानसिकता दुःखद हो। जातिविशेषकै कारण कसैमा विशेष क्षमता हुँदैन भनेर महिलाले कहिले बुझ्ने होला ? हाम्रै पुस्ताले बलजफ्ती यो विभेदकारी व्यवस्थामा हस्तक्षेप नगरे यो मानसिकता बदल्न गाह्रो छ।

जन्मनुपूर्व नै हत्या

कतिपय बाआमाले छोराछोरी जे भए पनि फरक पर्दैन भन्ने भावना आत्मसात गरिसकेको यो युगमा समेत अस्पतालमा लिंग पहिचान गरेर छोरी भए पेट काटेर निकालेर मारेर फालिदिने प्रचलन अहिले पनि छ। यसो गरेवापत कोही कसैले कानुनप्रति उत्तरदायी हुनुपर्ने अवस्था छैन। छोरी भएकै कारण दुनियाँ देख्नुपूर्व नै गर्भमा हत्या हुनुजति त्रासदपूर्ण घटना अरू के हुन सक्छ ? अनि दुःखको कुरो, हर महिला यस्तो अपराधमा संलग्न छन्। छोरीलाई गर्भमै हत्या गर्ने काममा महिलाभित्रको ‘पुरुष दासता’ जिम्मेवार छ। महिलाले नै छोरी मार्ने घटनाको साक्षी मात्र होइन, समर्थक हुने प्रचलन अन्त्य नभएसम्म महिलाले सम्मानपूर्वक जिउने युगको कहिल्यै स्थापना हुने छैन।

यो लेख  अन्नपुर्ण पोस्टमा २६ फागुन २०७४ मा   प्रकाशित भएको थियो http://annapurnapost.com/news/92891

अाँशुहरु 

कहिलेकाहीँ अाँशुहरु
झरि अोझेल पारिदिन्छन्।
थाहा नपाई परेलिले
वर्षा पनि झारिदिन्छन्।
संझिएको अाफ्नो मान्छे 
छेपारो झैँ रङ्ग फेर्छ
लाग्छ जित्ने जंङ्ग पनि
अाफ्नाहरु हारिदिन्छन्।