सबै समान सबै उस्तै समयले आँट्यो भने
उचाई क्षणमै ढल्दो रैछ प्रकृतिले काट्यो भने
मैँ बलियो बाँङ्गो मैँ छु भन्नु पनि व्यर्थ रैछ
आणविक कै चल्दैन जोर जैबिकले ढाँट्यो भने
जिन्दगी
आगो भर्भराउँथ्यो देखियो आज काल भर्भराइरहेको
जीवन रुपि श्लोक गाउने अोठ बेस्सरी थर्थराइरहेको।।
कृष्ण तिमी माया माया भन्छौ अन्जान बालक जसरी
म सुन्दैछु सुस्केरा सुन्दैछु पुकार जिन्दगी बर्बराइरहेको।।
काल
आफ्नै आविष्कार आफ्नै अघि काल बनेर कराइरहेछ
आफ्नाकै छुवाई आफ्नैका लागि घाउ बनेर चहराइरहेछ
मृत्युको असली भय के हो?सोध्नु काँपिरहेको बिरामी सँग
धान्नकै लागि एक मुठ्ठी प्राण आज विश्व हडबडाइरहेछ
प्रहर
तिम्रो निम्ति देउरालीमा बनाएको घर एउटा
बिर्साउने सबै गल्ती विस्वासीलो भर एउटा
मैले पुज्ने देउता तिमी सधैँ पुजा लायक बन्नु
कता छुट्छ कस्ले जान्नु जिन्दगीको प्रहर एउटा।।
झूटाहरु
न चुमेरै आफ्ना भए चुरोटका ठुटाहरु
खेपि अप्जस जोगाउँछन् फूल गुलाबका
वुटाहरु
परिस्थिति अलिकति तल माथि पर्नु पर्छ
आफैँ बाटो तताउँछन् नकावधारी झूटाहरु।।
प्रित
उ नै गित संगित उहि प्रित क्यारि भयो होला?
एकै मान्छे जिन्दगीको रित क्यारि भयो होला?
मेरो निम्ति संजीवनी बुटी नै हौ भन्ने मान्छे
आज फेरि अर्कै मान्छे सित क्यारि भयो होला??
नारी
Pipala Dhungana पिपला ढुङ्गाना
अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना सम्पूर्णमा।।
प्रेम आब्हान र स्मृति
Pipala Dhungana पिपला ढुङ्गाना
अगणित संम्झनाहरुले
रुवाईदिन्छ कतिबेला
जब वर्षौं पहिले भेटिएकाहरु
गुमनाम हुन्छन् यादको अदालतमा
ठ्याक्कै उसैबेला
अत्याउने गरी आइदिन्छ
चार निमेषका लागि भेटिएका
पात्रहरूको याद
समयको नियम मिथ्या लाग्ने गरेर।
प्रिय पात्र
यो ठिक उहि समय हो
र
म तिमीलाई नमज्जाले
संम्झना गरिरहेको छु।
संम्झनुको विकल्प पनि छैन र
बिर्सनुपर्ने खास कारण पनि
खास बाडुल्कीको नियम
लागु हुन्छ भने
तिमी नरोकिएरै
हिकहिक गर्दै हुनुपर्छ यतिबेला
मलाई त सम्झियौ पनि कसरी भनौँ र
त्यो युग देखि यो युग सम्ममा
मलाई झुक्किएर पनि बाडुल्की लागेको छैन।
लोभ नगरी पठाइदेउ
अलिकति संझना यता पनि
ताकि मलाई हिक्हिकाउन पुगोस्
रुमानी बेगमा
संम्झनाका लहरहरु सँगै
समय,मान्छे र मान्छे भित्रको मन बिचको
बिचित्रको लडाइँ चल्दैछ
एकांकीको रंगमञ्चमा
र म गरिरहेछु अभिनय
नअलमलिएरै
तिम्रो फुर्सद मिल्यो भने
आउनु तिमी पनि
जो मेरो लागि राहत बन्नेछ।
प्रिय पात्र,
तिमीलाई याद गरेपछि
मात्रै हेक्का आयो आज
वर्षौँ भएछ
मैले धरातललाई याद नगरेको
त्यो पारिको क्षितिज त
बिरानो छ उसै पनि
आकाश त्यसैपनि टाढा भाग्छ
म बाट छुइने डर बोकेर
मैले धरातललाई बिर्सेको दिन पछि
आजसम्म आफ्नो धरातल बिर्सेको छैन
क्षितिजलाई पनि उसैदिन भुलिदिएँ
जुन दिन टुट्यो भ्रम उसको काँध
आकाश पुग्ने अन्तिम बिन्दु हो भन्ने
तर
तिमीलाई म केवल
पुजाको लागि याद गर्नेछु
जीवनको त्यो चार निमेष
कसैको जीवन बन्छ भनेर
कुन मनले कल्पिन्छौ र तिमी
तिम्रो कल्पना भन्दा पर,त्यो पुग्न नसकिने आकाश
भन्दा पनि बिशाल
अश्वमेध यज्ञ जो बनाएर गयौ मनको मन्दिर भित्र
भलै अबिर यात्रा गर्ने ढोंगीहरुको कमि थियो
तिमी पत्याउछौ?
मैले बाँचेको युग भरि पछ्याएका सबैलाई
नछोएरै पछ्याएँ आजसम्म
तिमीलाई गल्तीले छुन पाँए
यति मिठो गल्ती कि
जसलाई म हज्जार पटक दोहोर्याउन चाहन्छु
बिना कुनै गुनासो बिना कुनै पश्चाताप!
तिनका सग्लो अनुसार मात्रै
आउँछन् याद बनेर
तर तिम्रो
बास्ना देखि बेगरका सबै सबै याद बनेर आउँछन्
जसले अत्याउन सम्म अत्याउँछ।
हो मलाई उचाई सँग प्रेम छ र त
आकाशलाई प्रेम गर्छु
उसले आजसम्म म सँग भेट्छु भनेर
कसम पनि खाएको छैन
प्रेमालाप पनि गरेको छैन
उ यति ज्याद्रो छ कि
चुपचाप नियाल्छ मेरो छट्पटी
सायद उसको त्यहि ज्याद्रोपनले
मलाई ज्याद्रो बनाएको हुनुपर्छ
यो चुपचाप सताउने उसको बानीको
आदत बनेको छ मलाई
ठ्याक्कै उस्तै रमाउँछु म
तिम्रो मौनता सँग अचेल
हृदयको स्पन्दन बाटै दिनु तिमी
मैले सोधेका हज्जार प्रश्नहरुको उत्तर।
याद गर्नु तिमी
यो बयान नभएर प्रश्न हो
आदेश नभएर आब्हान हो
कहिले मिल्छ तिम्रो एक टुक्रा समय??
बन्द गरेर कर्ण हृदयले सुन्नेछु तिमीलाई
मलाई भरपुर बाँच्नुछ त्यहि समयमा
यहि काललाई साक्षी राखेर।
नामको भोकले दौडिएको एउटा मनुवा
जब नियतिको मझेरीमा
कैयौँपटक पछारिन्छ
ठोक्किन्छ,
पल्टिन्छ,
अनि बजारिन्छ कर्मको बलँेसीमा
समयले अबेला गरिदिन्छ बिर्सेरै
पर्खाइमा आफ्नो उभिने पालो
देखिरहन्छ सपना
किनकि सपना देख्नु
उसको अन्तिम लक्ष्य हो ।
या भनौँ आदत भएको छ उसलाई
ऊ कसरी पो मारोस्
नाम रूपी भोकको कीरा
मनको कुनाबाट ?
सपना देख्नु त नियति हो जिन्दगीको
कसरी निमोठ्न सक्छ र मान्छे
आफ्नै सपनाको घाँटी ?
जिन्दगी आखिर
लड्नु र उठ्नु नै त हो जानेरै पनि
फगत आफ्नै बलबुताले चलाएर जिन्दगी
चलाएर या घिसारेर जे भने पनि
पाइला रोकेको छैन
भलै दौडिनेहरुको भीडमा एक्लियो ऊ
सक्दिनँ राम बन्न त के हराम नै बन्नुपर्छ भन्ने छ र ?
एकालाप गर्दै सङ्घर्षको इतिहासभरि
किनकि आफूलाई आफूले जति
बुझ्ने कोही भेटेन उसले
ताकि सकोस वार्तालाप गर्न
उसले लडेको सम्झियो
शङ्कै गरेन कतै मलाई लडाइयो कि भनेर
किनकि ऊ निसङ्कोच विश्वास गर्न जन्मेको हो
आफूले आफूलाई बुझ्दासम्म लहैलहैमा
जिन्दगीले बिट मारिसकेछ ।
पश्चाताप समाधान होइन भनेर
जान्दा जान्दै पनि
मनन गर्दै गर्दा
आँखै अगाडि आफ्नै सपनाले
खरानी बनाएको
आफ्नै विम्ब प्रतिविम्ब देखेर
धेरै बेर पछुतायो ऊ
जिन्दगीको अन्तिम चरणमा पनि
ठीक उसैबेला
चिसो सिरेटो मष्तिस्क
छेड्ने गरी
एउटा कुनाबाट दगुर्छ
झस्काउँछ उसलाई
तन्द्रा पर्छ केही निमेषको
त्यहाँ पनि लखेटिन्छ बिचरो
र
लखतरान भएर फर्किन्छ
हातमा सिङ्गो शून्य लिएर
शून्य नै शून्य ओढेका
मान्छेहरुको बस्ती हुँदै
भुस्याहा कुकुर काखी च्यापेर,
निदाइरहेको बिर्खे माइलो भेट्टाउँछ
अलिपर देख्छ
एक्सन कटको डाइलग बोलिराखेकी जुनेली
अवचेतन मनको निम्ता स्वरूप
सुँघिरहेकी हुन्छे ग्लु स्निफिङ
त्यो शून्यताको अन्त्य नहुँदै
फेरि अर्को बिहान जन्मन्छ
उस्तै उस्तै सिरेटो बोकेर
उसैगरी च्यापु थरथराइ रहेका
मान्छेहरुको बस्ती बिउँझिन्छ
एउटा कालो युगदेखि
कालो युगसम्म आइपुग्दा
बल्ल ब्युतिन्छ बिचरो
जिन्दगी कति बिजायो
भनेर गिन्ती हुनथाल्छ
युगले नेटो काट्दै गरेको देख्छ
र
जीवन जिउनुको मज्जा आउँदैन उसलाई
अनि
सर्लक्क पन्छाएर प्राणरूपी बोझ
जिन्दगीभर देखिएका
गगनचुम्बी सपनाहरु
विपनामाथि नै थाँती राखेर
समयले थमाएको रिस्ता निभाउँदै
एउटा कालो युगको प्रतिनिधित्व स्वरूप
झ्याप्पै निभ्छ प्रेमील दीपक
निष्पट्ट अँध्यारोको बेवास्ता गरेरै
सधैँ आफू अँध्यारोमा बसेको ऊ
बल्ल आज आजाद भएको छ
बल्ल आज उज्यालिएको छ ।