पिपला ढुङ्गाना
कोखको मुल्य तोकिएको समयमा
तिमीले मलाई
ग्रहण गर्नै हुँदैनथ्यो
आमा
मलाई मान्छे भएर जन्मनु थियो
बित्थामा
यो दुनियाँ देख्न हत्तारमा
च्यापिँदै निस्किएँ म
र फेर्दैछु स्वास
वादको गन्ध मिसिएको हावामा ।
जसले निम्त्याएको छ खतरा
तिम्रै अस्तित्वमाथि
डर छ
कतै म मान्छे हुनु पहिले नै
वादको खोलले ढाकिएर
निसास्सिएँ भने ?
पारियो अबरुद्ध भने मेरो गला ?
कसाई दाजुले कुखुरा निमोठे जस्तै
निमोठियो भने मेरो घाँटी ?
बर्गर हाउसको किचनमा प्याक भए जस्तै
कुखुराका खुट्टा
बेरिएँ भने म पोलिथिनको झोलामा ?
साँच्चै भन त आमा
कुमारी आमा बन्नुको कसुरमा
के सक्छौ र माफ गर्न आफैँलाई ?
कि बनाउँछ्यौ मलाई पनि आफैँ जस्तो
मुल सडकमा अस्तित्वको नारा लगाइरहेको जुलुङ्गो ?
जसलाई बनाएर हतियार
मोटाइ रहन्छन् थुप्रै जुम्राहरु ।
आमा
भो छाडिदेउ चिच्याउन बराबरीका लागि
भो छाडिदेउ लगाउन आजादीका नारा
भो छाडिदेउ गाउन समानताको गीत
एक दिन आउनेछ
हो, आमा एक दिन यस्तो आउनेछ
जितको बाढी
र बगाउनेछ यो संक्रमणकाललाई
हुँदैनन् यी महिलावादी
न रहन्छन् उ त्यो माथि बसेका पुरुषवादी झुण्ड
हो, त्यहि दिन तिमी सँगसँगै आउँनेछु म पनि
र मनाउँनेछु हर्षोत्सव
भन्नेछु मानवता जिन्दावाद
त्यो भन्दा पहिले त तिमीले ठोक्नु पर्छ सुइँकुच्चा
पिठ्युँमा बाँधेर तिम्रो ममताको डल्लो।
हिँड आमा हिँड
तिम्रो आँखाअगाडि
तिम्रो काख रित्तो बनाइनु पहिले,
तिम्रो छातीको देब्रे पाटो चस्किनु पहिले ।