समय भर्सेस दशैँ

केटाकेटी हुँदा आउँथ्यो दसैँ
बेस्सरी आउँथ्यो आकासमा उज्यालो
फुल्थे सयपत्री, गोदावरी र मखमली
बज्थ्यो मालश्री धुन
र छुन्थ्यो मनको गह्रासम्म
घन्कन्थे रेडियोमा शुभकामना
र थर्कन्थे गाउँ बस्ती
धुन्धान आउँथ्यो बास्ना
कटराइजको घाँघर
धान खेत र कोदो बारी
देखिन्थे उज्याला
लाग्थ्यो दसैँ त लागेको छ तिनलाई पनि
कमेरो र रातो माटोले
उज्यालिन्थ्यो घर
घर भन्दा कैयौँ गुणा उज्यालिन्थ्यो मन
गज्जबको हुन्थ्यो
सुकाएको मसलाबाट निकालिएको
दालचिनी र सुकुमेलको स्वाद
थियो बेग्लै
चिउरा कुट्ने चटारोका आमाहरु
सँग सँगै उठ्नुको मज्जा
सिका लगाइएको काँक्रोको
खल्पी राख्ने दिन
तीते तीते जा मीठे मीठे आइज भन्दै
झुम्मिन्थे केटाकेटी बा को वरिपरी
र हुन्थ्यो गिद्रो खाने प्रतिस्पर्धा
उठाइन्थ्यो बाबियो
र लगाइन्थ्यो बाट्न रहरको उचाई
हात्तिछाप चप्पलको गोलाइ काटेर
जोडिन्थ्यो निगालो र बनाइन्थ्यो लट्टाई
बाँधेर धागो पानी कागतको चङ्गामा
उडाइन्थ्यो रहर फुरुङ्ग परेर
चङ्गा चङ्गा हुन्थ्यो मन चङ्गा चेट हुँदा पनि
टीका जमरा भन्दा पहिला आँखा पर्थे
कटकट गर्ने नयाँ नोटमा
हजुरबाको मन्त्रोच्चारणले गुन्जिन्थ्यो माहोल
हजुरआमाले शिरमा राखिदिनु हुन्थ्यो आशिष
औँला भाँचि भाँचि खुब गाइन्थ्यो बाल गीत
दशैँ आयो
खाउँला पिउँला
कहाँ पाउँला
चोरी ल्याउँला
धत् ! पापी चोर्नु भन्दा छुट्टै बसौँला ।
अहिले त आउँदैन दशैँ आएर पनि
न उज्यालिन्छ मन उस्तो
उहि हो मालश्री धुन र पनि
लाग्दैन उति मीठो
उस्तै फूल्छन् फूलहरू
उस्तै छ याम, उस्तै नै हो ऋतु
मात्रै बदलिएको छ मेरो उमेर
बदलिएको छ परिवेश
अचेल रेडियोहरु लाटो भएका हुन्
वा नसुन्ने भएको हुँ म
धेरै भयो उस्तो शुभकामना नसुनेको
होइन यसरी किन खोसियो हँ
मेरो नयाँ घाँगरको बास्ना?
कति छिट्टै फुङ्ग उडेको त्यो कमेरोको रङ
जस्लाई अस्ति भर्खर छ्यापेको हो मैले मेरै हातले
यो जाहिल समय
त्यो दालचिनी र सुकुमेलको स्वाद मेरो जिब्रोबाट खोस्दा
अलिकति सर्माएको भए
म उहि स्वाद लिएर चपाइरहन्थेँ खुसी
यो समयमा पनि
अचेल बा एक्लै काट्छन् खल्पि राख्ने काँक्रो
र गिद्रो खाने प्रतिस्पर्धा हुन्छ आमासँग
गिद्रो जस्तै अमिलो मन बनाएर
मन कुँड्याउँन आइपुग्छ सन्तानको याद
तीते तीते जा मीठे मीठे आइज जस्तो
कहाँ छ र जिन्दगी
जे आउँछ स्वीकार्नु पर्छ
ङिच्च देखाएर दाँत
उस्तै उम्रिन्छन् बाबियो आज पनि
कान्लामै सुक्छन् जिङ्रिङ्ग परेर
बन्दैनन् ति रहरका उचाई
हात्ती छाप चप्पलका लट्टाईमा
लागेको छ धमिरा
जस्लाई हेरेर मेरी आमा
आज पनि मलाई देख्छिन् उस्तै सानी
चिउरा कुट्ने ढिकिको
ढिकिच्याउँ आवाज बिनै
खुब कुटिँन्छ जिन्दगी अचेल
र उति सारो चटारो हुँदैन गाउँमा आमाहरुलाई
त्यो आवाजलाई पनि गरेको छ बिस्थापित समयले
मेरो रहरलाग्दो उमेरलाई
विस्थापित गरे जस्तै
अहिले त मन्त्रोच्चारण पनि
भएको छ छोटो
भएको छ मौन
तान्दैन अहिले दक्षिणाले
जब आशिष थाप्न मन लाग्छ
सम्झनुपर्छ आँखा चिम्म गरेर
स्वर्गवासी हजुरबुबा र हजुरआमा
अचेल सम्झन्छु म
गाउँमा केटाकेटीहरु
बाल गीत गाउन छाडे कि गाउँदै होलान्?
र सोध्छु आफैँलाई
साँच्चै मोफसलमा मेरो दशैँ किन आउन छाड्यो हँ ?

Recent Posts

Leave a Comment