समय भर्सेस दशैँ

केटाकेटी हुँदा आउँथ्यो दसैँ
बेस्सरी आउँथ्यो आकासमा उज्यालो
फुल्थे सयपत्री, गोदावरी र मखमली
बज्थ्यो मालश्री धुन
र छुन्थ्यो मनको गह्रासम्म
घन्कन्थे रेडियोमा शुभकामना
र थर्कन्थे गाउँ बस्ती
धुन्धान आउँथ्यो बास्ना
कटराइजको घाँघर
धान खेत र कोदो बारी
देखिन्थे उज्याला
लाग्थ्यो दसैँ त लागेको छ तिनलाई पनि
कमेरो र रातो माटोले
उज्यालिन्थ्यो घर
घर भन्दा कैयौँ गुणा उज्यालिन्थ्यो मन
गज्जबको हुन्थ्यो
सुकाएको मसलाबाट निकालिएको
दालचिनी र सुकुमेलको स्वाद
थियो बेग्लै
चिउरा कुट्ने चटारोका आमाहरु
सँग सँगै उठ्नुको मज्जा
सिका लगाइएको काँक्रोको
खल्पी राख्ने दिन
तीते तीते जा मीठे मीठे आइज भन्दै
झुम्मिन्थे केटाकेटी बा को वरिपरी
र हुन्थ्यो गिद्रो खाने प्रतिस्पर्धा
उठाइन्थ्यो बाबियो
र लगाइन्थ्यो बाट्न रहरको उचाई
हात्तिछाप चप्पलको गोलाइ काटेर
जोडिन्थ्यो निगालो र बनाइन्थ्यो लट्टाई
बाँधेर धागो पानी कागतको चङ्गामा
उडाइन्थ्यो रहर फुरुङ्ग परेर
चङ्गा चङ्गा हुन्थ्यो मन चङ्गा चेट हुँदा पनि
टीका जमरा भन्दा पहिला आँखा पर्थे
कटकट गर्ने नयाँ नोटमा
हजुरबाको मन्त्रोच्चारणले गुन्जिन्थ्यो माहोल
हजुरआमाले शिरमा राखिदिनु हुन्थ्यो आशिष
औँला भाँचि भाँचि खुब गाइन्थ्यो बाल गीत
दशैँ आयो
खाउँला पिउँला
कहाँ पाउँला
चोरी ल्याउँला
धत् ! पापी चोर्नु भन्दा छुट्टै बसौँला ।
अहिले त आउँदैन दशैँ आएर पनि
न उज्यालिन्छ मन उस्तो
उहि हो मालश्री धुन र पनि
लाग्दैन उति मीठो
उस्तै फूल्छन् फूलहरू
उस्तै छ याम, उस्तै नै हो ऋतु
मात्रै बदलिएको छ मेरो उमेर
बदलिएको छ परिवेश
अचेल रेडियोहरु लाटो भएका हुन्
वा नसुन्ने भएको हुँ म
धेरै भयो उस्तो शुभकामना नसुनेको
होइन यसरी किन खोसियो हँ
मेरो नयाँ घाँगरको बास्ना?
कति छिट्टै फुङ्ग उडेको त्यो कमेरोको रङ
जस्लाई अस्ति भर्खर छ्यापेको हो मैले मेरै हातले
यो जाहिल समय
त्यो दालचिनी र सुकुमेलको स्वाद मेरो जिब्रोबाट खोस्दा
अलिकति सर्माएको भए
म उहि स्वाद लिएर चपाइरहन्थेँ खुसी
यो समयमा पनि
अचेल बा एक्लै काट्छन् खल्पि राख्ने काँक्रो
र गिद्रो खाने प्रतिस्पर्धा हुन्छ आमासँग
गिद्रो जस्तै अमिलो मन बनाएर
मन कुँड्याउँन आइपुग्छ सन्तानको याद
तीते तीते जा मीठे मीठे आइज जस्तो
कहाँ छ र जिन्दगी
जे आउँछ स्वीकार्नु पर्छ
ङिच्च देखाएर दाँत
उस्तै उम्रिन्छन् बाबियो आज पनि
कान्लामै सुक्छन् जिङ्रिङ्ग परेर
बन्दैनन् ति रहरका उचाई
हात्ती छाप चप्पलका लट्टाईमा
लागेको छ धमिरा
जस्लाई हेरेर मेरी आमा
आज पनि मलाई देख्छिन् उस्तै सानी
चिउरा कुट्ने ढिकिको
ढिकिच्याउँ आवाज बिनै
खुब कुटिँन्छ जिन्दगी अचेल
र उति सारो चटारो हुँदैन गाउँमा आमाहरुलाई
त्यो आवाजलाई पनि गरेको छ बिस्थापित समयले
मेरो रहरलाग्दो उमेरलाई
विस्थापित गरे जस्तै
अहिले त मन्त्रोच्चारण पनि
भएको छ छोटो
भएको छ मौन
तान्दैन अहिले दक्षिणाले
जब आशिष थाप्न मन लाग्छ
सम्झनुपर्छ आँखा चिम्म गरेर
स्वर्गवासी हजुरबुबा र हजुरआमा
अचेल सम्झन्छु म
गाउँमा केटाकेटीहरु
बाल गीत गाउन छाडे कि गाउँदै होलान्?
र सोध्छु आफैँलाई
साँच्चै मोफसलमा मेरो दशैँ किन आउन छाड्यो हँ ?

संक्रमणकाल

pipala dhungana पिपला ढुंगाना

पिपला ढुङ्गाना

कोखको मुल्य तोकिएको समयमा
तिमीले मलाई
ग्रहण गर्नै हुँदैनथ्यो
आमा
मलाई मान्छे भएर जन्मनु थियो
बित्थामा
यो दुनियाँ देख्न हत्तारमा
च्यापिँदै निस्किएँ म
र फेर्दैछु स्वास
वादको गन्ध मिसिएको हावामा ।
जसले निम्त्याएको छ खतरा
तिम्रै अस्तित्वमाथि

डर छ
कतै म मान्छे हुनु पहिले नै
वादको खोलले ढाकिएर
निसास्सिएँ भने ?
पारियो अबरुद्ध भने मेरो गला ?
कसाई दाजुले कुखुरा निमोठे जस्तै
निमोठियो भने मेरो घाँटी ?
बर्गर हाउसको किचनमा प्याक भए जस्तै
कुखुराका खुट्टा
बेरिएँ भने म पोलिथिनको झोलामा ?
साँच्चै भन त आमा
कुमारी आमा बन्नुको कसुरमा
के सक्छौ र माफ गर्न आफैँलाई ?

कि बनाउँछ्यौ मलाई पनि आफैँ जस्तो
मुल सडकमा अस्तित्वको नारा लगाइरहेको जुलुङ्गो ?
जसलाई बनाएर हतियार
मोटाइ रहन्छन् थुप्रै जुम्राहरु ।

आमा
भो छाडिदेउ चिच्याउन बराबरीका लागि
भो छाडिदेउ लगाउन आजादीका नारा
भो छाडिदेउ गाउन समानताको गीत
एक दिन आउनेछ
हो, आमा एक दिन यस्तो आउनेछ
जितको बाढी
र बगाउनेछ यो संक्रमणकाललाई
हुँदैनन् यी महिलावादी
न रहन्छन् उ त्यो माथि बसेका पुरुषवादी झुण्ड
हो, त्यहि दिन तिमी सँगसँगै आउँनेछु म पनि
र मनाउँनेछु हर्षोत्सव
भन्नेछु मानवता जिन्दावाद

त्यो भन्दा पहिले त तिमीले ठोक्नु पर्छ सुइँकुच्चा
पिठ्युँमा बाँधेर तिम्रो ममताको डल्लो।
हिँड आमा हिँड
तिम्रो आँखाअगाडि
तिम्रो काख रित्तो बनाइनु पहिले,
तिम्रो छातीको देब्रे पाटो चस्किनु पहिले ।

राता मान्छे

Pipala Dhungana पिपला ढुंगाना पिपला ढुङ्गाना

पिपला ढुङ्गाना

कसैले भन्यो
रातो हुन्छ पैसाको मुख
सानोमा बा भन्नुहुन्थ्यो
रातो हुन्छ बाघको मुख भनेर
बासँगै चिडियाखाना घुम्दा
बाघ नदेखेपछि
रातै भएको थियो मेरो अनुहार पनि
रातै थियो दशैँको मुहार
रातै थियो कुलपुजाको जमीन
हो, रातै थिए
दशैँको अक्षता लागेका केहि थान दक्षिणा
त्यो बेला मैले देखेको अर्को राता मुख थिए
राँको बोकेका मान्छेहरुको

बा, यिनीहरू बाघ नभएर पनि
राता किन छन् ?
मेरो प्रश्नको उत्तर फर्काउँदा
रातै भएको थियो बाको मुख पनि
लाग्थ्यो, हामीले मुक्ति पाउने
क्रान्तिको आगो बल्छ कि उसैबेला
र, डढाउला कि मेरा बालाई !

जतिबेला मेरा मसिना नशाहरुमा
उम्लिन्थ्यो रगत कता कता
मनले गाउँथ्यो
जिन्दावाद र मुर्दावादको नारा
लाग्थ्यो, यी राता मान्छे सँगसँगै हिँडु
र, बौलाउँ उसैगरी
जसरी बौलाइरहन्थे ती रातको अँध्यारोमा
छलेरै स्याटेलाइट राज्यको

उ बेला
तिनै भर्भराउँदो रातो
राँको बोकेका च्यामे दाइलाई
अलि अस्ति हो मैले पत्रिकामा देखेको
रातो मुख लगाएर
लिएर भोक मेटाउने याचना
थापिरहेथे कछाडको फेरो
शासकको आँगनमा
ठिक उसैबेला भारी पुष्पवृष्टि भो आकाशबाट

रामे दाइहरुको राँके जुलुसले ल्याएको
गणतन्त्र दिवस थियो त्यो दिन
सायद चिल्लो र रातो हुनुपर्छ
त्यो शासकको मुख पनि
हो, बाघको जस्तै
हो, पैसाको जस्तै
ठ्याक्कै तानाशाहको जस्तै
र, त गर्जिरहेछ
रुख चढाउने टेकोहरुको टाउकोमा टेकेर
गाँस खोस्ने धावा ।