गाइडिङ गर्दा जन्मदिनमा भोकै

नियमित स्तम्भ गाइडमा नेपालनाम्चा प्रस्तुत गर्छ, पिपला ढुङ्गाना ।

तपाई टुर गाइड । कहिलेखि गाइडिङ सुरु गर्नुभयो ?
हजुर म पथप्रदर्शक । सन् २०१७ को शुरुवातदेखि (टुर गाइड) पथप्रदर्शकको हैसियतले पर्यटन क्षेत्रमा रहिआएको छु ।

किन र कसरी सुरु भयो यो यात्रा ?
मलाई पहिलेदेखि नै नयाँ ठाउँ र नयाँ मान्छेहरुको बारेमा जान्न निकै मन पर्थ्यो, जसबाट हामीलाई प्रत्यक्ष रुपमा धेरै कुराहरु सिक्ने अवसर प्राप्त हुन्छ । नयाँ मान्छे भेट्ने मौका मिल्नु भनेको नयाँ संस्कृतिका बारेमा जान्ने ठुलो अवसर पनि हो । र, मान्छेका फरक प्रवृतिलाई नजिकैबाट नियाल्ने मौका पनि हो । फेरि म प्रकृति प्रेमी मान्छे । मलाई अहिले पनि प्रकृतिको नजिक हुनुले जतिको आनन्द अन्य कुराले दिँदैन । अन्य पेशामा रहेर यो सबैका लागि समय छुट्याउनु समय व्यवस्थापनका दृष्टिले भनौँ या आर्थिक रुपले पनि त्यति सहज हुँदैन थियो । फेरि म फ्रिल्यान्सर भएर काम गर्न मन पराउने मान्छे, त्यो भन्दा पहिले गरेका कामहरुको अनुभव भनौँ भने पनि १०-५ कै जागिर मात्रै गर्नुले मलाई खास सन्तुष्टि मिलेन । फेरि भुकम्पपछिको समयमा धेरै मान्छेहरु बेरोजगार भए । त्यसमा म पनि परेँ । त्यहि खाली समयको सदुपयोग स्वरुप मैले चिनियाँ भाषा सिक्ने अठोट गरेँ । र पर्यटन क्षेत्रमा केहि गर्छु भनेर पथप्रदर्शकको पेशा अँगालेको हुँ ।

खासमा यो गाइडिङ भनेको के हो ?
हामी गाइडहरू पर्यटनलाई नै पेशा बनाएका मान्छे हौँ । हामीले आफ्नो देशमा भएका फरक संस्कृति, भेषभूषा, भाषा साथै हाम्रा सम्पदा र धरोहरको बारेमा भएका चाखलाग्दा र महत्वपूर्ण जानकारी सहज र सरल भाषामा आफ्ना पाहुनाहरुलाई दिन सक्नुपर्छ, जसबाट आफ्नो राष्ट्रको बारेमा एक किसिमको सकारात्मक सन्देश प्रवाह गर्न सकियोस् । साथै आगन्तुकहरुले भ्रमण गर्ने ठाँउहरूको अर्थ बुझ्न मद्दत पुर्याउनु पनि हाम्रो काम हो र त्यो नै सहि मानेमा गाइडिङ हो जस्तो लाग्छ । त्यसैले पनि होला पथप्रदर्शकलाई ​एक किसिमको राजदुत हो भनिने गरिएको ।

झट्ट हेर्दा गाइडिङ भनेको फन जस्तो लाग्छ । तर, के यो फन मात्रै हो त ?
झट्ट हेर्दा गाइडिङ भनेको फन हो जस्तो उहाँहरुलाई लाग्छ जो यो क्षेत्रभन्दा बाहिरबाट हुनुहुन्छ । यो क्षेत्रको बारेमा जान्नका लागि यसैमा लागेको मान्छे चाहिन्छ । गाइडिङ भनेको फन मात्रै हो भन्ने कुरा घरमा बसेर दिल्ली यस्तो ठाउँ हो भनेर गरिने आँकलन जस्तो मात्र हो । अन्य पेशा व्यवसायमा काम गर्ने एउटा निश्चित समय हुन्छ । तर, हाम्रो पेशा त्यस्तो पेशा हो जहाँ समयको सिमा हुँदैन । पाहुनाका समस्या समाधानका निम्ति हामीले आफुलाई सदैव तयार राख्नु पर्छ । खाने समयदेखि आराम गर्ने समयसम्म कुनै निश्चित हुँदैन । हाम्रो खाना खाने समय, आराम गर्ने समय र फरक भुगोलबाट आएका मान्छेहरुको समय उस्तै हुने कुरै भएन, जुन कुरा त्यति सहज कुरा होइन, जसको कारण गाइडिङलाई मान्छेले बाहिरबाट हेर्दा जस्तो फन मात्रै हो भन्न मिल्दैन । तर, आफ्नो कामप्रतिको विश्वास र लगावले हामीलाई यसले फन नदिएर धरै छैन ।

असल गाइडमा हुनुपर्ने पाँच गुण के हुन् ?
असल गाइडमा हुनुपर्ने धेरै गुणहरू छन् । त्यसमध्ये पनि मलाई महत्वपूर्ण लागेका ५ गुणहरू :

क. समयप्रति निष्ठावान,
ख. कर्मप्रतिको इमान्दारिता,
ग. धैर्यता,
घ. नेतृत्व गर्न सक्ने क्षमता,
ङ. उर्जावान व्यक्तित्व ।

गाइडिङ गर्दाका केही सम्झनायोग्य प्रसंग होलान् । सम्झनुस्न् ।
त्यस्ता सम्झनलायक कुराहरु धेरै छन् । केही रमाइला छन् र केही नमज्जा लाग्ने पनि छन् । मन दुखेको कुरा नै सुनाउँछु । २ वर्ष पहिले मेरो जन्मदिनको दिन म एउटा फ्रेन्च जोडीसँग थिएँ । बिहानको खाना खाने समय भयो । हामी बसन्तपुरको द तलेजु भ्यु मा थियौँ । रेस्टुरेन्ट पुरै प्याक थियो । रुफ टपमा एउटा टेवल खाली रहेछ । उनीहरुबीच के कुरा मिलेन कुन्नी, बुढाबुढीबीच झगडा भयो । फ्रान्सेली भाषामा झगडा गरे गर्न त तर मलाई भने त्यहाँ बस्न नै गाह्रो भयो । न छाडेर हिँड्नु न त खाना सँगै खानु ? उनीहरूको झगडा के बिषयमा भयो पनि थाहा भएन । कतै मैले केहि कुरामा गल्ती गरेँ कि भन्ने पनि लाग्यो । बुढाबुढी ६० को हाराहारीका थिए । बुढाचाहिँ हिँड्न अलि नसक्ने भएकाले हामी बिस्तारै नै हिँडेका थियौँ । त्यहि पनि छिटो भएछ कि जस्तो पनि लाग्यो । उनीहरू शान्त नभइन्जेल म त्यहीँ उभिइरहेँ । पछि उनीहरु आफैँले तिमी केहि खाएर आउ भोक लाग्यो होला, ३० मिनेटपछि तलेजु भवानीको मन्दिर अगाडि भेट्ने भनेर मलाई बल्ल हल्का भयो । हुन्छ भनेर म निस्किएँ । खाना खान एक्लै कहाँ जाने ? त्यहाँ बस्ने ठाउँ पनि थिएन । म निस्किएर कफी पिउँन गएँ । तर, मनमा भने नमज्जा लागिरहेको थियो । फेरि भोक पनि लागिरहेको थियो । ३० मिनेटमा त खाना अर्डर गरे पनि ल्याइदिँदैनन् । किनकी बिहानको खाना खाने समय त्यसै पनि व्यस्त हुन्छन् रेस्टुरेन्टहरु । म त्यो दिन भोकै परेँ । एक त जन्मदिनमा काम गरेको थिएँ । त्यो पनि भोकभोकै, अनि पाहुनाको रिसको कारण बुझ्न सकेको थिइनँ । दिनभर आफुलाई सामान्य राख्ने सक्दो प्रयास गरेँ । रिभिउमा केही नराम्रो लेख्ने हुन् कि भन्ने तनाव पनि भयो दिनभर । प्राय म एसियाली राष्ट्रहरूका आगन्तुकसँग हुन्छु । उनीहरूको स्वभाव सबै नमिल्ने भए पनि धेरै कुराहरु हामीसँग मिल्दोजुल्दो हुन्छ । पहिले पनि अन्य युरोपेली आगन्तुकसँग काम गरिसकेको भए पनि त्यो अनुभव मेरो लागि पहिलो थियो । र, कहिल्यै बिर्सन पनि सक्दिनँ त्यो जोडी अनुहार र मेरो जन्मदिन ।
घर परिवारसँग टाढा रहेर काममा खटिनुपर्ने काम रोजेपछि कहिलेकाहीँ मन दुख्नुलाई स्वभाविक रुपमा नै लिनुपर्छ । र, मैले पनि त्यसरी नै लिएँ ।

गाइड हुनुअघि र गाइड भइसकेपछि आफुले आफुलाई कस्तो फरक पाउनु भयो ?
गाइड हुनु अगाडि र पछाडि मैले आफुलाई धेरै नै फरक पाएँ । किनकी, म पहिले अत्यन्तै भावुक मान्छे थिएँ । सानो कुरामा पनि चित्त दुखाइ हाल्ने स्वभाव थियो । तर, जब काम गर्दै गइयो, ती कुराहरुलाई सम्हालेर जानुपर्ने रहेछ भन्ने कुरा सिक्दै गएँ । सामान्य कुराहरुमा पनि प्रतिक्रिया जनाइ हाल्नुपर्ने मान्छे सहनशील हुनु पर्छ भन्ने कुरा कामले सिकाउँदै लग्यो । समयको महत्व बुझ्ने अवसर प्राप्त भयो । म नेपाली समय भनेर कहिल्यै पनि समयमा उपस्थित नहुने मान्छेलाई समयमा पुग्नु भनेको कति महत्वपूर्ण कुरा हो भनेर कामले नै सिकाएको हो । यहि पेशाले नै मान्छेहरुसँग निर्धक्क भएर अन्तरक्रिया गर्न सक्ने बनाइदियो । यो भनेको राम्रो कुरा हो ।

अहिले कोभिडक्रमले यो पेशा त चौपट्टै भयो । व्यवहार र दिनहरु कसरी बितिरहेका छन् ?
वर्तमान समयमा म र मजस्ता थुप्रैको पेशा धरापमा परेको छ। अझ भनौँ पर्यटन क्षेत्र नै जटिल अवस्थाबाट गुज्रिरहेको छ। अहिलेको समय भनेको पर्यटन र पर्यटनसँग सम्बन्धित सम्पूर्णको लागि संकटको समय हो । यो समयसँग हामी सबै मिलेर सामना गर्नुको विकल्प पनि छैन । अहिले म काठमाडौंका केही विद्यालयहरुमा चिनियाँ भाषा अध्यापन गर्दै आएकी छु ।

आफ्नो पेशासँग खुशी हुनुहुन्छ ?
हजुर खुसी छु । पथप्रदर्शकको हैसियतले पर्यटन क्षेत्रमा रहेर काम गर्छु भन्ने निर्णय मेरो आफ्नो हो । मलाई मेरो पेशा छनोटप्रति ग्लानि छैन । खास खुसी भनेको त्यही नै हो ।

नयाँ आउने गाइडहरुलाई के सन्देश दिन चाहनुहुन्छ ?
पर्यटन क्षेत्र त्यस्तो क्षेत्र हो, जो देखे जति सहज छैन र मनबाट काम गर्यो भने त्यस्तो कठिन पनि छैन । देखासिकी गरेर, कसैले कमाएको देखेर मात्रै यो क्षेत्रमा आउनु भयो भने मात्रै गाह्रो हो । म पर्यटनमा नै केही गर्छु भनेर दृढतापूर्वक आउनुभयो भने यो स्वर्ग पनि हो । हाम्रो पेशा मौसमी पेशा हो । हुन पनि सक्छ नहुन पनि सक्छ । त्यसको लागि आफुलाई तयार गरेर मात्रै आउनु भयो भने भोलि पछुतो हुँदैन ।

अन्त्यमा केही भन्नु छ ?
खास त्यस्तो केही भन्नु त छैन । तर, यो कठिन समयमा कति धेरै पथप्रदर्शक साथीहरुको घर परिवारको बिचल्ली भएको छ, कति साथीहरु बेरोजगार हुनु भएको छ । पर्यटन जस्तो देशको अर्थतन्त्रमा ठूलो सम्भावना बोकेको क्षेत्रमा काम गर्ने सम्पुर्णप्रति राज्यको आँखा परोस् भन्ने लाग्छ । उनीहरूको हक र हितका लागि पनि आवाज उठ्नुपर्छ । आवाज उठ्ने मात्र होइन कि उनीहरुको हक र हितका निम्ति पहल गरिनु पर्छ । अहिले पनि पथप्रदर्शकहरुको जीवन विमाको कुरा नउठ्नु लज्जास्पद हो । अहिलेको पर्यटनको ब्यापार पनि सिमीत ठाउँमा मात्रै भएको छ । ट्रेकिङ्गमा भन्दा पनि टुरको क्षेत्रमा यो समस्या धेरै छ । त्यसैले यसको क्षेत्र विस्तार पनि अबको आवश्यकता हो भन्ने लाग्छ ।

Recent Posts

Leave a Comment

Contact Pipala

I hope you enjoy your visit to my webpage. Do not forget to leave your feedback