पीपला ढुंगाना
ए मलाई नङ्ग्याउन
लागिपरेका मान्छेहरू !
म नाङ्गै छु सदियौँदेखि
निडर भएर उभिएको
वस्त्र च्यातिएको
जुलुङ्गोजस्तो ।

जसको लज्जा
जमानामा नै लुटिसके
एक हुल बाँदरहरूले
अनि
थिल्थिलो हुने गरी
भिजाएर छाडेको छ
बेइमानी झरीले
मक्किने गरी कोमल मुटु ।

ख्याल राख्नु तिम्रो निच वस्त्रको
जो खुस्किएला रङ्गमंचमा,
बिस्तारै
मच्चिएला कोकोहोलो
र, ताली बजाएर हाँस्लान्-
लावालस्कर रमितेहरु
जो वर्षौँदेखि पर्खाइमा थिए
तिम्रो पछारिने पालो ।

चिच्याइरह्यो एउटा भुँइमान्छे
लगाइरह्यो नारा
समयको विरुद्ध
थिचोमिचोको विरुद्ध
ओकलिरह्यो विसंगति
माथि भन्दा पनि माथिबाट
आफ्नो शिर कुल्चिरहेका मान्छेहरूसँग ।

Recommended Posts