लालबाबुको दोस्रो अवतार

Pipala Dhungana पिपला ढुङ्गाना.

केपी शर्मा ओलीको प्रधानमन्त्री पदको शपथ ग्रहण कार्यक्रममा पुगेका एमाले सेलिब्रिटी नेता लालबाबु पण्डितलाई ओलीले ‘सरप्राइज’ दिएर जनसंख्या तथा वातावरणमन्त्री बनाइदिए। नवप्रधानमन्त्री ओलीबाट दुनियाँले अपेक्षाका पोका उन्दै गर्दा असली राष्ट्रवादी छवि बनाएका पण्डितबारे झनै बढी अपेक्षा सुनिन थालेका छन्। नेपालको सरकारी जागिर खाँदै अमेरिका र युरोपमा स्थायी बसोवासको दोहोरो हैसियत बनाउनेहरू स्वतः सरकारी कर्मचारीबाट बर्खास्त हुने गरी कानुन बनाउने काममा सफलता पाएका पूर्वसामान्य प्रशासनमन्त्री लालबाबु पण्डित सोही लोकप्रिय भए।

आफ्नै पार्टीका कतिपय ‘राष्ट्रवादी र युवा’ नेताले त्यस्तो कानुन नबनाउन दबाब दिँदा पनि उनी डेग चलेनन्। लालबाबुको आत्मकथा ‘सिंहदरबार बदल्ने कथा’ पढेपछि लालबाबुको नियतबारे धेरै कुरो बुझिन्छ। किताब पढ्दा यस्तो लाग्छ, नैतिक रूपमा बलशाली मान्छेका अघि बडेबडेको समेत केही लाग्दैन। लालबाबुविरुद्ध अन्य दलका बाबुसाहेबहरू त लागे नै, एमाले, युवासंघ र महिला संघका ‘बडे’ हरू पनि लागेका कथा किताबभित्रआएका छन्। ऐनविरुद्ध लवि गर्नेहरूको एकएक नाम किताबमा निर्भीकताका साथ उनले उल्लेख गरेका छन्। लालबाबुको इमानदार मिसन पुस्तकबाटै प्रस्टिन्छ।

मधेसमा जन्मेर पहाडी स्कुल पढेका लालबाबु एमालेभित्रका वैचारिक नेता हुन्। मजदुर फाँटबाट आएका उनी पहाड–पर्वत–हिमाल र मधेसको मर्म राम्ररी बुझ्छन्। मदनकुमार भण्डारीसँगै पञ्चायतकालीन संघर्षबाट खारिएर आएका उनले पार्टी, सरकार र समाजमा हुने विभेद, अर्घेल्याईं र षड्यन्त्रका कथा राम्ररी बुझेका छन्। जीवनभर नेपालको जागिर खाएर मर्नेबेलामा सुकिलो देशतिर गएर मर्ने रहर गर्ने सरकारी कर्मचारीबाट देशको विकासको अलिकति पनि अपेक्षा गर्न सकिँदैनथ्यो। नेपालको जागिर खाने, जागिरकै सिलसिलामा अकूत सम्पत्ति कमाएर बालबच्चा विदेश ‘एक्सपोर्ट’ गर्ने अनि पेन्सन पाकेपछि विदेश जाने, पेन्सन झिक्न र बेलाबेला ट्रेकिङ जानका लागि नेपाल आउने ! यो रोगले नेपाल आक्रान्त थियो र एउटा इमानदार नेताले गरेको पहलकदमीले कमसेकम त्यो बेथिती आज रोकिएको छ।

मान्छेहरू भन्छन्, ‘तानाशाही शासनमा मात्रै हो व्यक्तिले समाजमा ठूला परिवर्तन गर्न सक्ने, हाम्रोमा प्रणाली नै बर्बाद छ, एउटा मान्छेले के नै गर्न सक्छ ? ’ लोकतन्त्रमा अनेक जञ्जाल र सञ्जालको हस्तक्षेप र प्रभाव चर्को हुन्छ। कानुन, थिति, रीति, ऐन, विधिविधान र प्रक्रियाजस्ता कुराले आमूलालबाबुको दोस्रो अवतारल सुधारको बाटो रोक्छ। तर पण्डितले सबै व्यवधान पाखा लगाएर मन्त्रीकालमा अहम् काम गरे। उनको पुस्तकका सबै कथन मान्ने हो भने उनी लाखौं–करोडौंमा बिकेनन्। इमानका अघि पैसाका बिटा कायल भए। गत चुनावमै पनि पण्डितको इमानदारी झल्कियो। पैसा नकमाएका ‘आम आद्मी’ उनले कांग्रेसको गढ मानिने मोरङमै कोइराला परिवारका शेखर कोइरालालाई हराइदिए।

ठेकेदार, जग्गा दलाल र म्यानपावरका पैसावालाहरूका पैसा र डोनेसनमा चुनाव लड्ने नेतालाई चुनौती बन्दै उनले चुनावी अभियानमा जनतासँग चन्दा मागेर चुनाव लडे। पण्डितलाई विदेश बस्ने व्यक्तिहरूले समेत केही सहयोग पठाइदिए। इमानदार भएर बाँच्न कठिन हुँदै गएको समयमा पण्डितको इमानदारीले सबैलाई कायल पार्‍यो। चुनावपछि उनले आफ्नो चुनाव खर्च पनि सार्वजनिक गरे। चुनावी प्रचारका क्रममा उनी पत्रकारहरूसँग भनिरहेका थिए, ‘मन्त्री हुँदा मैले गर्न खोजेको कामलाई सकारात्मक रूपमा चर्चा गरिदिएर मलाई सहयोग गर्नुभयो, अब चुनाव सय–पचास पैसा रुपैयाँ दिएर सहयोग गर्नुहोस्।’ चुनावमा उनलाई लक्षित गरेर बमसमेत फ्याँकियो, तर बलले उडाएन लाल सपना।

वाम सरकारको घोषणापत्रमा विद्युतीय सवारीमा शतप्रतिशत कर छुटको कुरा उल्लेख छ। यतिमात्रै कार्यान्वयन गराउन सके भने स्वच्छ हावाको जस पण्डितले पाउनेछन्।

राष्ट्रपति भवनमा ओलीको शपथ कार्यक्रममा पुगेका पण्डितलाई ओलीले मन्त्रीमा नियुक्त गर्नुपछाडिको मूल कारण पण्डितको नैतिक बल नै हो। आलोेपालोका नाममा प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट नहट्ने योजनाका साथ अघि बढेका ओलीलाई आफूले चुनेका अनुहार विवादरहित मात्रै होइन, लोकप्रिय पनि चाहिएको थियो। पण्डितको नियुक्तिमा कसैले विरोध गर्न सक्दैनन् भन्ने ओलीले बुझेका छन्। पार्टीभित्र अर्को पक्षको आवाज सुन्नेभन्दा पनि तिनलाई कमजोर तुल्याउनेतिर अग्रसर भएका ओलीसमेत पण्डितको लोकप्रियताबाट नतमस्तक भए। प्रदेश ३ को मुख्यमन्त्रीमा अष्टलक्ष्मीलाई जिल्याइदिने ओलीले नत्र घनश्याम भुसालको वैचारिक स्कुलका पण्डितलाई अनौठो ‘सरप्राइज’ दिने थिएनन्।

हाम्रोमा ‘फलानो मन्त्रालय बलियो र ढिस्कानो कमजोर’ भन्ने मान्यता छ। शक्तिको अभ्यासमा त्यस्तो हुन्छ पनि। बुझिल्याउँदा अहिले पण्डितलाई थमाइएको मन्त्रालय शक्ति र जिम्मेवारीका हिसाबले ‘मालदार’ होइन। उसो त अघिल्लोपटक पण्डितले सम्हालेको मान्त्रालय ‘धन्दा र कमाइ’ का हिसाबले खासै चर्चित र मालदार थिएन। कामै गरेरै उनले आफ्नो र मन्त्रालयको नाम उजिल्याएका हुन्। तर झन्डा हल्लाउन मात्र मन्त्री नभएका उनलाई यहाँ अवसर उत्तिकै देखिन्छ।

बीस वर्षअघिका हाम्रा खोलानाला, पहाड, पर्वत र फाँट हेरे मात्र पनि हामीले कति वातावरण विनाश गर्‍यौं थाहा हुन्छ। सडक, बजार र राजमार्गमा कालो धुवाँको मुस्लो उडाउँदै हिँडेका गाडी हेर्दा हाम्रो वातावरण र स्वास्थ्य कति खतरामा छ भन्ने देखिन्छ। सडक र सार्वजनिक स्थानमा ठालु पल्टेर चुरोट पिउँदै बुङबुङ्ती धुवाँ उडाउनेहरू देख्दा हाम्रो कानुन उल्लंघन भएको बुझिन्छ। क्यान्सरका कारण अस्पतालका बेडमा किमोथेरापी लिँदै जीवनसँग संघर्ष गरिरहेका बच्चाहरू देख्दा हामी वायु प्रदूषणको कति भयावह अवस्थामा छौं भन्ने थाहा हुन्छ। इँटाभट्टाबाट निस्केको धुलो र धुवाँका कारण घुर्मैलो बनेको आकाशबाट हाम्रो वातावरणको वास्ताविकता देखिन्छ।

काला धुवाँ उडाउने सवारी चालक र धनीलाई गम्भीर कारबाही गर्ने हो भने कालो धुवाँ रोक्न कठिन छैन। विद्यमान कानुनलाई कडा कार्यान्वयन गरे मात्रै पनि सार्वजनिक स्थानमा निकोटिनका धुवाँ उडाउनेहरू नियन्त्रित हुनेछन्। पोलिथिन, गुट्खा, चाउचाउ र टफी (साना चक्लेट) का कागजले हाम्रो माटो भरिएका छन्। त्यस्ता उत्पादनमा नियन्त्रण र पोलिथिन ब्याग नियन्त्रणसम्बन्धी विद्यमान कानुन लागू गर्ने हो भने परिवर्तन देखिनेछन्। खोलामा ढल मिसाइएका कारण र खोलामा मनलाग्दी करेन्ट लगाएर र विषादी हालेर माछा मार्ने कामले समग्र पर्यावरण सखाप भएको छ। हाम्रा जलचर लोप भएका छन्। यस्तोमा पनि कानुन र कडा कारबाही आवश्यक छ।

पण्डितले पहिले बनाएको छविका कारण पनि मन्त्रालयले ल्याएका नयाँ कार्यक्रम लागू गर्न सहज हुनेछ। वाम सरकारको घोषणापत्रमा विद्युतीय सवारीमा शतप्रतिशत कर छुटको कुरा छ। यसैमा पण्डितले ‘डिल’ गरे भने पनि भोलि स्वच्छ हावाको जस उनले पाउनेछन्। चुनाव पहिले पण्डितका प्रतिस्पर्धी उम्मेदवार शेखर कोइरालाले कुनै मन्तव्यमा आफूले लालबाबुलाई नचिनेको बताए।

लालबाबुले यो कुरा थाहा पाएपछि ठट्यौली पारामा प्रतिक्रिया दिए, ‘डा. सापले मलाई चिन्नुभएको रहेनछ, अब चुनाव जितेपछि कोइराला निवासमा साइकल चढेरै पुग्छु र उहाँलाई लड्डु खुवाउँछु।’ उनले चढ्ने साइकल सादगीको त प्रतीक हो नै, सँगै विश्वभर कार्बन उत्सर्जन नगर्ने सफा सवारीसाधनको प्रतीक पनि हो। दिगो, विकास, मानव स्वास्थ्य, पर्यावरण संरक्षण र जनसंख्या नियन्त्रणजस्ता विषयमा चट्टानी अडानी लिएर लालबाबुले आफूलाई फेरि प्रमाणित गरून्। डीभी प्रकरणमा धेरै नेपालीले चिनेका उनलाई यति गर्न सके विश्वले चिन्नेछ, वातावरणसम्बन्धी ठूलाठूला अन्तर्राष्ट्रिय संस्थाले चिन्नेछन्। उनको दोस्रो अवतार हेर्ने रहर छ।

यो लेख  अन्नपुर्ण पोस्टमामा ७ फागुन २०७४ मा   प्रकाशित भएको थियो http://annapurnapost.com/news/91357#undefined.uxfs

Recent Posts

Leave a Comment

Contact Pipala

I hope you enjoy your visit to my webpage. Do not forget to leave your feedback