मायावी याद

रुँनै लाई पनि बहाना चाहिएको छ यहाँ
कहिले उसलाई सम्झिएर रोएँ
कतै तिमीलाइ सम्झिएर रोएँ
रोएँ कतै आफैँलाइ सम्झिएर
कतै सबै बिर्सन लाई रोएँ।

बिर्सनलाई रोएको दिन
सम्झिएर रोएको दिन
साँच्चै उस्तै रोइएनछ

रुँन त आँखा नै रोएकतै मिठो स्मृती सँगै
कतै तितो इतिहास सँगै
तर मन उस्तै दुख्यो
उकुसमुकुस अनि छट्पटी उस्तै भयो

जिन्दगी को यो दौडधुप मा
मैले माया बुझिन कि पाइन
भगवान जानुन्,

तिमी ले माया ग-यौ या
आकर्षण थियोतिमी नै जान,
म फरक भएछु या
देख्ने ले फरक देखे
देख्ने हरु नै जानुन्
तर
तिमी प्रतिको  मेरो माया
सधैँ माया मात्र हो
अनि रहन्छ पनि माया नै बनेर

मैले आफुलाई पीडाले जलाएको दिन
खरानी साट्न सक्छु
तिमी धुलो सम्झेर नभाग्नु

मैले तिमी लाई नबुझेको दिन
तिमी मलाइ बुझ्ने कोशिस गर्नु
सक्छौ बुझाउने पनि कोशिस गर्नु!

जिन्दगी सधैँ मिठो नहोला

याद जति मिठो त पक्कै नहोला
त्यो दिन म तिम्रो मायाको
याद पिएर बाँच्न चाहन्छु
मदिरा नमिसाइकन

अनि लागोस् एउटा
शक्तिशाली नशा।
जसले मलाई आँट देओस्
भरोसा देअोस्
उठ्ने हिम्मत दिलाअोस्।

पिपला ढुङ्गाना, pipala dhungana

अन्तिम लडाइँ

जवानी भरीको माया भरेर

बाटेको बिश्वास को डोरीमा

धमिरा लागेपछि

सपनाहरू बिर्सिएर भोगेको

अमिलो जिन्दगीमा मिठास पस्दैगर्दा

किरा लाग्न थाल्छ भन्ने जाने देखि

प्यारी अामा

तिम्रो संझना गाढा भएर अाएको छ।

सपनाको बिस्कुन पोको पारेर

तिमीले ननिदाएरै  म माथि देखेका

सपनाहरुको धज्जी उडिरँहदा

हावाको त्यो झोक्काले गाडेको

तिम्रो यादको खिल

मुटु सम्म बिझ्नेगरि चस्किरहेछ बाबा

जब अनिँदा सपनाहरुसँग

मस्त  निन्द्राको सपनाको तालमेल हुँदैन

जिन्दगी बोझ लाग्ने रहेछ,

निरस लाग्ने रहेछ,

बकवास लाग्ने रहेछ,

अनि ग्लानी लाग्ने रहेछ

हो अाजकल यस्तै लाग्छ जिन्दगी ।।

सुनेथेँ जति पुरानियो उति पक्का हुन्छ रे नाता

तर खै

पुरानो डुंगा जस्तो प्वालै प्वाल  परेको छ अाजकल

अाँशुको भेल  पसेरै डुबाउला जस्तो ।।

विश्वास पुरानिन्छ भनेर

तिमीले सिकाइदिएकि भएपनि त हुन्थ्यो

तिमी दुई बाहेकको माया अाकर्षण मात्रै हो भनेर

बताईदिएकि भए पनि त हुन्थ्यो

हेर त तिमीले त्यति नसिकाईदिनाले

मैले मायाको अर्थ खुट्याउनै सकिनछु

मलाई ठुलो भ्रम सँग प्रेम भएछ मेरी अामा

बल्ल अाज बिउझिएको छु।

र पछुतो लागेको छ

एउटा हिंश्रक निद प्रति

विश्वास चुडिएर  बज्जारिएको

मनको घाउ अालो छ

थाहा छैन शंकाले रेटेको मायाको घाँटी

ठीक होला नहोला

अति समर्पण बाट निमोठिएको

प्रेमको मुना पलाउला नपलाउला

चाहन्छु तिमी अाकास धर्तीको

भरोसा नतोडियोस्

उठ्ने छु पक्कै  अझै म हारेको छैन

तिम्रो पवित्रता प्रति अौँला ठड्याउने हरुलाइ

थाहा होस कि बाँकी चार अौँला उनिहरुलाई नै इंगित गर्दैछन् भनेर ।

अर्को एक पटक

हिम्मत गरेर लड्दैछु एउटा जंङ्ग

मेरो हिम्मत बनेर खडा हुनु ।।

गल्ती ठहरिएछ भने ठुक्क हुनु

अन्तिम   अन्तिम गल्ती हुनेछ ।।

तर नभन्नु अविश्वास माथि विश्वास को जलप लगाउन ।।

छोरी भएकै कारणबाट

मुटु माथि पहाड खस्दा सहनुपर्छ नभन्नु।

नभन्नु समाजले के भन्ला भनेर

तिमी दुईको विश्वास मेरो पुर्ण विश्व हो

अाउ र अाँट भरिदेउ

मेरो  अन्तिम लडाइँको लागि

र बनाउ मलाई योद्धा जिन्दगीको ।

 

उद्धघोष

प्रेमको आँधिहुरिमा
सिमलको सेतो भूवा उडाएर,
पहाड छिचोल्दै फर्केपछिका ढाक्रेहरु जस्तै
जिवनको एउटा पहाड
मैले पनि काटेको छू

एउटा सुन्दर संसारको परिकल्पनामा
गन्तव्य पछ्याऊँदै उडिरहेको चखेवा
शिकारिको जालमा फसेजस्तो,
उर्लदो खहरेको वेगलाई
पहाडले छेके जस्तो
साँच्चै पिंजडा भित्रको सुगा जस्तै लाग्छ
तिमीले र मैले पार गरिरहेको क्षितिज ।

मान्छेलाई मान्छेले मान्छे बनाएपछि
खै कुन देवताको अस्थित्व
कुन मन्दिरमा साँघुरियो थाहा छैन
कुन मन्दिरमा कैदि भगवान
अझै पनि तिम्रो र मेरो भाग्यरेखा कोरिरहेछ?

हिमालको चट्टानलाई बन्दी  बनाउँदैमा
पहाडको खोच भएर बग्ने  हिमनदिमा
खै कुन कल्पवृक्षले प्राण संचित गर्न नसक्ला र?
हो म त्यहि कल्पवृक्ष जस्तै
तिम्रा यादहरुको हिमनदिमा हुर्कदैछु।
तर
कोइलीले हाम्रो प्रेमको चर्चा नगरेजस्तो
झरनामा प्रेमिल घ्वनि नगुञ्जिएझैँ
जस्तो
रोमको वाँसुरिमा लैला र मजनु
प्रिय सखा जन्जिरले वाँधिएको समयसँग
एउटा युद्ध शुरु गर्दैछु ।

पिपला ढुङ्गाना, pipala dhungana

आमा

सपनामा  अाज आमा मझेरीमा
बामे सर्दै थिइन्
सम्झेर सन्तान
रापिलो तापले पिरोलिएर।

भनिदिएँ मैले
आमा यता पनि सन्तान
तिमीले देखे जस्तो खुसी छैनन्
सपनाहरूले थिचिएका
तृष्णाले गलेका
र तृप्ति बिहिन
उनिहरुको अनुहारमा
मुश्किल छ
खुसीको एक धर्शो भेट्टाउन ।
र पनि
अभिनय गरेर बाँच्दैछन्
जसरी रंगमञ्चमा अभिनय गर्छ
एउटा कलाकार ।

अामा    दुरी मेटाउन
सपना र विपना बिचको
दौडिरहेका तिम्रा सन्तानहरु
कहिलेकाहीँ बिर्सेर दौडिन्छन्
तिमी पनि धर्तिको कुनै कुनामा
दियालो बालेरै पुकार्छ्यौ
उनीहरूको दीर्घायू भनेर।

चिसो सम्बन्धको कठ्याङ्ग्र्ीदो तापक्रम
बढाउनमै ब्यस्त छन् ।
बिर्सेर तिम्रो पोल्टाको न्यानो ।
र पनि तिमी पुकारी रहन्छ्यौ
उनिहरुको हाँसो ,खुसी र जीवन

अामा तिमी सपनामा नअाउनु है
मलाई झन् पोल्नेछ
मैले ननिभाएको जिम्मेवारीले
नदिएको समयले

कतै लगानी गरेको मिथ्या संघर्षले

कुरेको त्यो प्रहर

pipala dhungana पिपला ढुंगाना

हाम्रै निम्ति कुरेको त्यो प्रहर हुनेछ।
प्रेम नै प्रेम को मायावी त्यो शहर हुनेछ।।
जब पर्खाइको सिमा अन्तिम तिर ढल्दै  हुन्छ ।
मेरो सामु तिम्रो प्रेमिल नजर हुनेछ !

~Pipala Dhungana पिपला ढुङ्गाना

ऊ के गर्दै होला?

ऊ के गर्दै होला? एतिबेला
सम्झँदै मैलाइ होला कि
हराउँदै आफैँमा होला?
म त
म त सम्झिएरै हराउछुँ उसैमा
साँच्चै उ पनि हराएरै सम्झँदो हो त?
ऊ के गर्दै होला एतिबेला??
त्यो थुम्को माथि को बादलु ले
ऊसकै झझल्को दिलाइ रहेछ
ऊसले पनि हेर्दै होला कि
बिर्सियो होला ?
हाम्रो माया
ऊसले मलाइ सम्झे पनि
या नसम्झे पनि
म त उसकै अाकृति  मनभरि सजाएर
बिर्सिरहेछु आफ्नो धरतल!
डाँडा को सल्लाको रुख
ढल्यो होला कि उस्तै होला?
म त उसै गरि नाम कोरिरहेछु
सल्लेबिर को जङ्गल भरि
साँच्चै उ मलाइ बिर्सेर पनि सम्झँदो हो कि
सम्झेर पनि बिर्सँदो हो?
आज केतुकेको झाङ देखेँ
म त चुर्लुम्म डुबेछु
त्यही  झाडिमा
चसक्क बिझाउने गरि
उसको यादको इतिहास
उसलाइ पनि
दुख्यो होला त मेरो
चहराउने घाउहरु ले??

पिपला ढुङ्गाना, pipala dhungana

ढलेको बिद्रोह

मैले उन्मुक्तिको नारा लाउन
उसै दिन छाडिदिएँ मेरी अामा
जब बुख्याचाहरूको बस्तीमा
तिम्रो चिच्याहट विलीन भयो ।
तिम्रो अस्मिताको लूटमा
यो शहरले खुसी मनाईरह्यो।
अनि
रङ्गीन साँझका लागि ओछ्याइए
तिम्रा कुमारी छोरीहरु
मैले बिद्रोह त्यसै दिन छाडिदिएँ मेरा बा
जब
तिमीलाई कठपुतली बनाएर
रगतको होली मनाए राक्षस हरुले
तिमी उचालियौ र बजारियौ भुइँमा
तमाशेहरुको भिडमा काटियो फेद
टुप्पोमा चडाएर तिमीलाई
उन्मुक्तिको नारा उन्मुक्त हुन
काफी नदेखेपछि
बिद्रोही स्वर न्याय प्राप्तिको
मिसाल नभेटेपछि नै हो
मेरा बा
मैले शालीन र शान्त भएर
तिम्रा प्रत्येक रगतका छिटाहरुको
बदला चाहेको

लाचार बेश्या बनेर पाई पाई हिसाब खोजिरहेछु
तिम्रो अस्मिताको
मेरो भाइको अर्थी उठेको दिन
दाइको चिता बलेको दिन
अनि दिदी बलात्कृत भएको दिन
यो दुनियाँले मनाएको तिहार सम्झेरै हो
मैले युद्ध त्यागिदिएको
रगत उमाल्ने संगीतले
आजकल मलाई छुँदैछुँदैन
मैले उमालेर पोखाउनेहरुको
बस्ती नियालिसकेँ
मौनताको तागत बुझेरै हो
मेरा बा
मैले होहल्ला छाडिदिएको
र प्राप्त गरेको हुँ मोक्ष ।

पिपला ढुङ्गाना, pipala dhungana

चिसो शरीर

एउटा चिसो शरीर थियो ,तातिएको बाटो छेउमा ,

सुग्घरीलो भिडभाडमा देखेँ उसलाई माटो छेउमा,

कुल्चिएरै हिड्थे मान्छे बिर्सिएर मानवता ,
धर्म गर्ने होडबाजी सबेरै त्यो घाटो छेउमा ।

शंख घण्टी अावाज त्यो भित्रै पनि सन्नाटा थियो ,
कोलाहल मै शुन्य थिई उ समाजसेवा को दोबाटो छेउमा ,

कति गर्छौं? ए दुनियाँ ! ढोंगको खेती बन्द गर,
अालो घाउ नजरअन्दाज मल्हम लाँउछौ खाटो छेउमा ।

रक्ताम्य थियो फरिया उसको ,कुन्नि कति भोक मेटिए¿¿
खह्रो लागि ढल्दा पनि कतै थिएन अाँटो छेउमा ।

पिपला ढुङ्गाना, pipala dhungana

अलग आवाज

तिमी प्रेमज्वाला बढाएर आउनु

सरिता जसरी गड्गडाएर आउनु।।

मसँगै रमाई कटाउन यो जुनी

ती वैरी र पर्खाल लडाएर आउनु।।

हरेक पल पुजामा पुकारी मलाई

र विन्ती ईश्वरमा चढाएर आउनु।।

मुटुमा बनेको लुकाउन घाउ

नदि पारी बग्गी अडाएर आउनु।।

नदेख्लान् दुनियाँ रिस  गर्ने हरुले

तिनलाई रिसमै वेद  पढाएर आउनु।।

सदावहार यात्री

pipala dhungana पिपला ढुंगाना

अतिक्रमणमापरेको नेपथ्यको

सदावहार यात्री म

मलाई छिचोल्नु छैन कुनै प्रतिस्पर्धा

म्याराथुनकै गतिमा हुँदो हुँ र पनि ।

टुकुचाको गल्लीमा नाक थुनेरै

यात्रा कटाइ रहन्छु

तर

कहिल्यै गन्हाएन मलाई

छेवैमा सेकुवा बेचिरहेकी

आमाको परिश्रम

गन्हाएन कसाइ दाजुको

रगतले लत्पतिएको हात

गन्हायो त केवल एउटा

अन्धाधुन्ध अव्यवस्था ।

डोकोभरि साग बेचिरहेकाहरु

पुल ढाक्ने गरी बसिरहेछन्

कपडा बेच्नेहरुको घुइँचो उस्तै छ

कठ्याङ्ग्रिदो जाडोको वेपर्बाह।

म देख्दैछु परिश्रमीहरु

नाथे गरिबीलाई

कति सजिलै लगाइरहेछन् पाखा

र लडिरहेछन् यो अस्तब्यस्त शहरसँग ।

पोहोर साल उजेली बम्बैमा मरी अरे

गरिबीबाट मुक्ति खोज्न निस्किएकि ऊ

अाफैं मुक्त भई

कुन्नि कति उकुसमुकुसपछि

सपनाको शहरले निल्यो उसलाई

यो साग बेच्दै गरेकी युवती

उजेली भैदिएकी भए।

मन भारी भएर पनि यो उजेली होइन

केवल गरिबी मात्रै मिलेको हो उसको ।

तल्लो गाउँकी चमेलिलाई कुवेत मा

झुन्ड्याइयो अरे कुन्नि कुन बेकसुरमा

त्यो बाटोको कपडा बेच्ने दिदी

चमेली भएर पनि चमेली होइनन् ।

जब रहर लाग्दो सपना काल बनेर

अाँखै अगाडि लमतन्न परि दिन्छ

मान्छे विवश बन्दोरहेछ

अात्मसमर्पण गर्न जिन्दगीसँग ।

विज्ञान विषयको डिग्री बोकेर

खाडी भासिएको रामे

हिजै हो काठे बाकसमा फर्किएको

विद्वान बन्ने सपनाको हत्या भएपछि

मलाई नसोध कसरी चल्दै छौ यो शहरमा भनेर

भ्याइनभ्याई छ मलाई

तमासेहरुको चटक हेरेरै

म नियाली रहेछु एउटा लाचार समय।

ज्याद्रो ब्यवस्था

भावना शून्य बस्ती

मानवता हराएका एक झुण्ड मान्छेहरु।।