३७.जसको साधनाले ढुङ्गोलाई भगवान बनाउँछ,
जो पुज्छ भगवान र साधकलाई कसरी ढुङ्गो बनाउँछ?
खबरदार परै बस्नु जातियताको वकालत गर्नेहरु हो
तिम्रो बिखण्डनकारी चलखेल अघेरै गन्हाउँछ।।
३८.जब जब रहर सँगै बाध्यता अाउँछ
लाग्छ सपनाको चङ्गा निमेषमै हराउँछ।
नसिकाउँनु पर्ने सिकाइदिन्छ जिन्दगीले त्यतिबेला
जब मिष्ठान्न भोजनकै अघिल्तिर भोको पेट कराउँछ।।
३९.हिजो जिन्दगीले झुक्यायो र रोएँ।
आज फेरी जिन्दगीले दुखायो र रोएँ
आँशु पनि तलतल लाग्ने अफिम जस्तै लत भएछ
पिउँदा पिउँदै मनको तलाउ सुकायो र रोएँ।।
४०.तिमी बस्ने मुटु कतै दुखाईले टुट्यो भने
सुन्दर बगैँचा मायाको असिनाले चुट्यो भने।
मलाई मात्रै नलागोस् दोष, नसकेर आजित भइ
टाल्दा टाल्दै मनको बाँध सदाका लागि फुट्यो भने।।



