सक्किएको इहलीला

लेखिका पिपला ढुङ्गाना/ pipala dhungana

माघ महिनाको कठ्याङ्ग्रिँदो जाडोमा आधा आधी फाटिसकेको एकसरो घाँघरमा देखिन्छे चमेली।उसलाई देखेर आफ्नो बालापनको एउटा यथार्थ झल्को आउँथ्यो ।फुरुङ्ग परेर हावाको तेज जसरी आउँदै गरेकी उसलाई हेरिरहुन् जस्तो लाग्थ्यो।मेरो हेराइ को गति भन्दा पनि तेज उ मेरो अगाडि आइपुग्छे।दिदी कहिले आउनु भा? म हिजो आएको नानी,तिमी सन्चै छौ?मैले भनेँ।कता हिडेकि नानी? मैले सोधेँ ,त्यहीँ तल गैरीगाँउमा दूध लिन जान ला।उसले भनी।किन गाउँमा दूध पाइँदैन? मेरो प्रश्नको जवाफ मा उसले फर्काई,गाउँमा त सबै बस्तु भुईँचालो ले मरे नि दिदी ।कसै कसैको मा छन्,त्यही पनि त्यति ठुलो भइसक्यो भाइ यिनीहरूको फुर्ती,जे पनि खान्छ नि भन्छन्। दूध दिनै मान्दैनन्। त्यहीभर तल बाटै ल्याउने ग-याछ।यस्ती सानी बच्चीको दिमागमा पनि नराम्रो लागेको कुरा मान्छे हरू कसरी भन्न सक्छन् होला?

मनमनै आफैलाई प्रश्न सोधेँ । दिदी म गएँ है।अहिले पछि हाम्रो घराँ आउनु भन्दै चमेली दौडिन्छे र ओझेल पर्छे मेरो आँखाबाट। मेरा आँखा भने उसले टेकेको जमिन छाड्न मानिरहेका छैनन्  ।अगाडि ममी देखिनुहुन्छ । नानु चिया खान आइज । म झसङ्ग हुन्छु !अनि उठेर चिया पिउन जान्छु । चियाको गिलास समाउँदै मैले भनेँ यो चमेली कति ठुली अनि बुझ्ने भएकी है मामु?

पुतली जस्तै राम्री पनि छे।कति छुनुमुने।उडुँला जसरी हिडेकि म पनि यसरी नै हिँड्थेँ है मामु ? मेरो कुराले ममी लाई मेरो बचपन को याद आयो होला।ममी केही अध्यारिनु भयो ।तँ त यो भन्दा पनि छुनुमुने थिइस्।जे काममा पनि हतार गर्ने ।यहाँ पढ्दा सम्म त ठिकै थियो नजिकै छे भन्ने लाग्थ्यो । ६ कक्षा बाट चाहिँ सारै पिर लाग्थ्यो ।भिरको बाटो,उमेरले पनि अरूभन्दा सानी थिइस्।लड्छे कि भनेर चिन्ता हुन्थ्यो ।सधैँ अरूले छोडेर आँउथेे, हिँड्न नसक्ने भनेर ।लिन जान पनि भ्याइनभ्याइ हुन्थ्यो घरमै।फेरी लिन जाने पुर्‍याउन जाने चलन पनि नहुने ।नआउन्जेल आधामन बनायो त्यति हो।मैले ममी लाई हेरी राखेँ। तैँले एस एल सी पास गरेपछि काठमाडौँ जाने कुराले म कति रुन्थेँ।अर्काको ठाउँ कसैले केही गर्लान् कि जस्तो लाग्थ्यो ।आमाको आखाले आफ्ना बच्चालाई सधैँ साना देख्छन् नि बाबै!ममी त रुन पो थाल्नु भो।मामु किन रुनु भको हो के??म हजुरकै अगाडि सकुशल त छु।मैले भनेँ । चिया सेलाउन लागिसकेछ गफैगफमा चिया सेलाएछ मामु,मैले भनेँ।तताइ दिँउ ?? ममिले सोध्नुभयो ,पर्दैन मैले भनेँ।

साँच्ची मामु त्यो चमेलीका बा कहाँ छन् अचेल ? लीला भाउजू त भूकम्पमा परिन् है बिचरी!ममी केही सम्झिए जस्तो गरेर बोल्नु भयो ।कहाँ हुनु मोरो एउटी स्वास्नी च्यापेर दिल्ली पस्यो रे।घरमा ४ जना बच्चा र बुढी आमा छन्।कमाउने कोही छैन।भएको दैवले हरी हाले!ममी बोलिरहनु भयो । बिर्खे दाइले त्यसो पो गरे है ? मैले मनमनै दोहोर्‍याएँ ।अनि मामु हेर्दैनन् केही पनि?ममीको कुराले प्रस्ट भइसक्दा पनि अझै चित्त नबुझेर सोधेँ मैले।के हेर्थ्यो ४ ठाउँमा पोइल गइसकेकी,आमा कि उमेरिकी  स्वास्नी टिपेर हिँडेको मरे जिउँदोको खुट छैन।

ती साहिँली दिदी पनि सारै अभागी रहिछिन्।उ बेला बाहुन हुँदा नि कहिल्यै सुख दिएनन्।टन्न खान पनि डर थियो।सम्पत्ति जति भए पनि के काम रहेछ र?।पछि ७ वटी छोरी मुनी यो बिर्खे जन्मेको ।न सुत्केरी मा स्याहार पाइन् न टन्न खान।मान्छेहरू छोरा छोरा भनेर मरिहेर्छन् आ केही नाप्दैनन् छोराले पनि!ममी आक्रोश पोख्दै हुनुहुन्थ्यो ।लीला हुँदा कस्ता थिए यी बच्चाहरू अहिले कस्ता छन्,बिचरा!भगवान् लाई पनि राम्रै चाहिँदो रहेछ।सँगै पुरिएकी सासू लाई धन्न बेलैमा निकाले।नभए त अहिले बाटोमै हुन्थे बिचराहरू।बाउ नभएर छोराछोरी टुहुरा हुदैनन ।आमा भनेको आमै हो बाबै। हुने भए नि खुनी भएनि।आमा नभए पछि त बाटोमै आउदारहेछन्।कुनै कुनै बाउ मात्र हुन्छन् आफ्नो कर्तव्य पूरा गर्ने।ममिलाई पनि को सँग पोखूँ जस्तो भएको रहेछ।म सँग पोख्नुभयो।हलुका भयो होला मन।त्यसपछि ममी खाना पकाउन थाल्नुभयो।म घाम ताप्न निस्केँ।पानिपरेको भोलिपल्ट,पानी रोकिए पनि घाम मज्जाले लाग्न सकेको थिएन।जस्ताको कटेरोमा यो ठंडी काट्न मुस्किल परिसकेको थियो पुरै बस्तीलाई।

बाहिरी शरीर लाई झरीले चिसो बनाए पनि मन भत्भति पोलेको छ। फेरी उही बाटो भएर चमेली आउँछे,म हेरी रहन्छु।साँच्चै आमा हुँदा र नहुँदाको फरक कति छ है??मन मनै दोहोरिइरह्यो।हातमा एउटा कोकाकोला को मैलो बोतल ।धुवाँले कालो भएको ,त्यसमा आमाको छातीको न्यानोपन खोजाउनु आफ्नो भाइलाई ।घाम ताप्न ला दिदी ??अगाडि आएर उ सोध्छे।अँ नानी , म त्यति मात्रै बोल्छु।उसलाई देखेपछि मेरा आँखा आँसुले टम्म भए।मन पनि भारी,गह्रुङ्गो!!कुन्नि के ले थिचे जस्तो ।निसास्सिए म !वास्तवमा मेरो मनमा वैशाख १२ को भन्दा पनि ठुलो भूकम्प गयो ।चिच्याउन मन लाग्यो यो बेथितिको विरुद्ध ।

एउटी आइमाई बिना महिना दिनको मेलोमेसो धान्न नसक्ने हरुले महिला माथि नै गरेको अन्याय को विरुद्ध!प्रत्येक दिन रक्सी खाएर घर आउँथे बिर्खे दाइ, पिट्थे ,तथानाम भन्थे र पनि आफ्ना बच्चाहरूको लागि कहिल्यै खाँचो र मायाको अभाव हुन दिइनन् तिनलेेे आज उनी नहुँदाको दशौँ महिना पनि बितेको छैन,पुरै अँध्यारो युगको सुरुवात भएछ । ३बटी छोरी मुनीको चमेलीको भाइ,बिचरा आमाको अनुहार समेत सम्झन सक्ने भएको छैन।यही छोरो पाउनको लागि कति छोरीहरूको हत्या भयो होला लीला भाउजूको कोखमा??जिन्दगी कति गाह्रो छ है ?? चलुन्जेल चल्छ,नचले घिसारेर भए पनि चलाउनु पर्ने ।

जसको अनुपस्थितमा आफ्नो एक जोर मोजा खोजेर लगाउन पनि मुस्किल पर्छ उसकै इज्जत गर्दैन लोग्ने मान्छे ।सती साबत्री जस्ती लीला भाउजूलाई लात्ताले भकुर्ने बिर्खे दाइ जस्ता बाउका कति बच्चाले आफ्नो मातृत्व गुमाए होला??मनमा अनेक वितृष्णा पैदा हुँदैनथ्यो ,ममीको आवाज कानमा ठोकिन्छ।नानु खाना खान आइज।म बिस्तारै घामको आशा कुर्न छाडेर खाना खान जान्छु ।।दिन भर फेरि पानी पर्छ।चिसो झन् मौलाएको छ।टिनबाट पानी चुहिएर झन् आशिलो बनेको छ आच्छ्यान!!अर्को एउटा चिसो निन्द्रा निदायो बस्तीले।

तपतप पानीको छानो ओढेर बिहान उठ्दा गाउँ भरी हल्लाखल्ला थियो।बिर्खेलाई मारेछन् नाकाबन्दी को अवज्ञा ग-यो भनेर ! लास बुझ्न जानू प-यो रे ! आङ सिरिङ्ग हुन्छ ।चमेली उसैगरि दूध लिन जाँदै हुन्छे,उही फाटेको घाँघर र खाली खुट्टा । उसलाई सुनाएका छैनन् होला।बिचरी कति न ठुली छे र के बुझ्ली ? ७ वर्षकी त हुँदै छे। कसरी कट्ला बाँकी समय ? साना साना को कति कति बिजोग होला । हुन त अहिले पनि हुनु नहुनु उस्तै हो ,त्यही पनि मन कहाँ मान्छ र?बिर्खे दाइले यी बच्चाहरू प्रति ठुलो अन्याय गरे । त्यो भन्दा ठुलो अन्याय त भगवान्ले गरे। हे ईश्वर के गर्‍यौ नि ! गाउँ पुरै रुवाबासीले शोकाकुल हुन्छ । शङ्खको आवाज कानमा ठोकिन्छ ! ट…………टुँ…….!

Recent Posts

Leave a Comment

Contact Pipala

I hope you enjoy your visit to my webpage. Do not forget to leave your feedback

pipala dhungana पिपला ढुंगाना