निर्मला हत्या प्रकरण: यो भन्दा ठूलाे दसी प्रमाण के हुन सक्छ सरकार ?

  • लेखिकाः पिपला ढुंगाना

नेपाल प्रहरीले निर्मला पन्त बलात्कार र बलात्कार पश्चातको निर्मम हत्या प्रकरणमा यति बिघ्न लापरबाहीपुर्ण ढंगले अनुसन्धानको नाममा सम्पूर्ण जनतालाई थाङ्गनामा सुताउने कार्य गरिरहेको छ।मुकदर्शक बनेर बसेको गृहमन्त्रालय र यस सँग सम्बन्धित शक्ति र पहुँचमा हुनेहरुमा अलिकति पनि लाज शरम ,आत्मग्लानी साथै नैतिकता नामको केही चिज बाँकी छ भने गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने हो ।

नभए त देशमा सानालार्इ एेन ठुलालार्इ चैन सदैव कायमै रहन्छ । यति कठोर र घिन लाग्दो अपराधलाई पनि राजनीतिकरण गरेर एक अर्काको खुट्टा तान्ने, दोषारोपण गर्ने मौकाको रुपमा रुपान्तरण गरिएको देख्दा लाग्दैछ सीमान्तकृत जनता भनेका मान्छे नै होइनन्, केवल तिनका बुढि अौँलाको छाप मात्रै खरिद गरिन्छ र मुनाफा को प्रलोभनमा लुटिन्छन्ग, गरिबीले खिइएका तिनै बुढीअौँलाका छापहरु, चुनाव नामको पसल थापेर ।

निर्मला पन्त हत्याको हत्यारालाई लुकाउनकै निम्ति भएका होइनन्, भने के को निम्ति भएका हुन् ? नक्कली अभियुक्त सार्वजनिक गर्ने कुचेष्टा, समाजको तल्लो वर्ग जसको मानसिक स्थिति ठीक छैन उसलाई सुगा रटार्इ गराएर अपराध स्वीकार्न लगाउनु, समाजको निम्छरो वर्ग भित्रैबाट अभियोग स्वीकार्ने दबाबसहित धम्कीको भाषामा कुनै युवकलाई बिना पक्राउपुर्जी कानुनी राज्यको खिल्ली उड्ने गरि पक्राउ गर्नु, रातभरिको वर्षा पश्चात भिजेको लास नजिकैबाट ओभानो पुस्तक बरामद हुनु, जुन घरमा अध्ययनको लागि गएकी आफ्नी छोरी घर नपुगेको तोड लिएर ब्याकुल भएकी एउटी आमाले छोरी खोज्न पुग्दा अपमानित भएर धम्कीपूर्ण भाषामा फर्किनुपर्छ भने त्योभन्दा ठूलो दसी प्रमाण के हुन सक्छ ?

कुन कानुनको कुनचाँही पृष्ठमा लेखिएको छ, भनिदेउ सरकार घटना घटेको हुनसक्ने स्थानको बिना कुनै अनुसन्धान रंगरोगन गरेर हुलिया परिवर्तन गर्न पाइन्छ भनेर ? नक्कली अभियुक्त बनार्इएको ब्यक्तिलार्इ प्रहरीले पक्राउ गरिँदाको बखतमा लगाएको सग्लो कमिजको बगली कसरी च्यातिएर करिब १ महिनाको अवधिमा लाश बरामद भएको स्थानमा पुग्छ ? प्रयोग गरिएको कण्डम किन उहीँ दिन बरामद हुँदैन ?

१ महिनासम्म कहाँ थिए यी सम्पूर्ण प्रमाणहरु ? जनता त्यति पनि लाटा छैनन् कि पानी माथि ओभानो हुन्छ, अनि यो बर्खामा करिब १ महिनासम्म बलात्कारमा प्रयोग भएको कण्डम सुरक्षित भेटिन्छ । अनि बलात्कारी कण्डम प्रयोग गर्ने होशहवासमा हुन्छ पनि ? सामान्य नागरिकको चेतनाले पनि ठम्याउन सक्ने सच्याई माथिको जलपले अरु कति दिन चल्छ तिम्रो शान्ति सुरक्षा ?

जसको घरमा अध्ययनको निम्ति निर्मला पन्त गइन र फर्किइनन् त्यो घर शंकाको घेरामा आँउनुभन्दा पनि रंगरोगन गरिन्छ अनि रिक्सा चलाएर गुजारा गर्ने एउटा सीमान्तकृत परिवार भित्रबाटै अर्कि चेलिले प्रहरी दमन खप्नुपर्छ भने कहाँ छ न्याय यो देशमा ? संवैधानिक ब्यबस्था बदलिनु मात्रै हो मुलुकमा न्यायको स्थापना हुनु भनेको ?

यी सम्पूर्ण कुराहरु हेर्दा नै थाहा हुन्छ कि घटना भवितव्य नभएर सुनियोजित थियो भनेर । कथित ठुलाबडा भनिएका मन रोगीहरुले समाजमा रहेका न्यून स्तरको जीवनयापन गर्ने हरु माथि जे गरे पनि हुन्छ भन्ने रोगी मानसिकता जहिलेसम्म हावी भैरहन्छ तबसम्म समान बर्गको समाज र वर्ग संघर्षका खोक्रा नाराहरु केवल सीमान्तकृत जनताकै रगत तताउने र तिनैलाई बलीको बोका बनाउने खेल भन्दा अरु केही हुन सक्दैन ।

देशले आज जुन गणतन्त्र पाएको छ, त्यसको निम्ति पनि कथित एलिट वर्गको रगत बगेको छैन । अभाव, अशिक्षा र गरिबीले आगो लगाएको बस्तीमा पसेर मीठा भाषण र प्रलोभन पस्किएर तिनैलाइ सडकमा उतार्ने कला पनि नौलो होइन यिनको । जसको मारमा जहिले पनि तल्लो बर्गको समाज नै पर्छ, किनभने उपल्ला बर्गहरुलाई न त मतलब छ सामाजिक उत्पीडितको न त अनुभव नै ।

त्यसकै उपज हो कन्चनपुरमा भएको शनि खुनाको मृत्यु । दुनियाँको लागि कुनै १ जना बालकको मृत्यु केही होइन, केबल २,,,,,,४ दिनको निम्ति सामाजिक सन्जालमा सरगर्मि बढाउने बहाना बाहेक, होला अलिकति सहानुभूति केही समयको लागि, त्यसमा पनि सीमान्तकृत परिवारको, तर जुन परिवारले उसको आफ्नो सन्तान गुमाएको हुन्छ नि उसको विश्व हो त्यो सन्तान।

कहिले बुझ्ने हामीले यो यथार्थ ? निर्मला पन्तको ठाँउमा कुनै घरानिँया बालिका हुन्थिन भने आजको दिन जुन हामीले देखिरहेछौँ यो दिन देख्नु पर्दैन थियो । मेरो आशय यो पटक्कै होइन कि अत्याचार कुनै एलिट क्लाशको बालबालिका माथि हुनुपर्छ, तर यो भने पक्कै हो कि चोट कति चोटिलो हुन्छ भनेर थाहा पाउन चोट नै लाग्नुपर्छ । सहानुभूति दुख्ने र चोट दुख्ने दुखाइ फरकफरक हुन्।

आज हामी आवेशमा आएर मृत्युदण्डको माग सहित सडक तताइरहेछौँ । किनकि हामी मध्ये धेरैलाई थाहा छैन त्यो मृत्युदण्डले निम्त्याउने अर्को समस्या ।

के बदला र मृत्युदण्डले समाधान ल्याउछ त ?

बदलाले समस्या सुल्झाउने भन्दा बढाउने मात्रै हो । हामीले आक्रोशमा आएर गरेका हाम्रा निर्णयहरु हामीलाई नै भारि पर्छ । इतिहासलाई नै हेरौँ लिच्छविकाल लाई न्याय व्यवस्थाको निम्ति आदर्श युग मानिन्थ्यो ।

ज्यान, चोरी, डकैती, बलात्कार र हातहतियार सम्बन्धि अपराधलाई पञ्च अपराधमा राखेर मृत्युदण्डको सजाय दिइन्थ्यो । त्यस्तै मल्लकाल पनि न्यायको निम्ति युगान्तकारी परिवर्तन भएको युग मानिन्छ, कारण हो जयस्थिति मल्लको मानव न्यायशास्त्र । जसले दण्डहीनता रोक्न ठुलो भुमिका खेलेको पाइन्छ ।अंङ्गको बदलामा अङ्ग, ज्यानको बदलामा ज्यान भनेर पनि यो युगमा न्याय सम्पादन गरियो ।

शाहकालिन न्याय व्यवस्थामा पनि मृत्युदण्डको प्रचलन थियो । गौहत्यामा समेत मृत्युदण्ड दिने व्यवस्था थियो । तर के ती युगहरुमा निष्पक्ष न्याय सम्पादन भए होला त ? पक्कै चित्तबुझ्दो न्याय सम्पादन भएन, र त जनआन्दोलन २०४६ सालको उपलब्धि स्वरुप आएको नेपाल अधिराज्यको संविधान २०४७ ले मृत्युदण्डको व्यवस्था खारेज ¥यो ।

जनताहरु सार्वभौमसत्ता सम्पन्न मुलुकका स्वतन्त्र नागरिक बने ।देशमा प्रजातान्त्रिक व्यवस्थाको उदय भयो । लोकतान्त्रिक व्यवस्था हुँदै देश आज संघीय गणतान्त्रिक मुलुकमा प्रवेश गरेको छ, तर बिस्तारै हामी पुरानै व्यवस्थाहरुलाई ब्युँताउनु पर्ने माग लिएर नारा जुलुस गर्दैछौँ । कारण हो देशमा मौलाएको दण्डहीनता । तर के हामीले सोचे जस्तो सजिलो स्थिति आँउछ त मृत्युदण्ड ले ? कदापि आँउदैन । यदि मृत्युदण्डको कानुन बन्यो भने दण्डहीनता अझै मौलाउनेछ । फरक स्वरुप लिएर।

त्यस पश्चातको क्षती तपाईं हाम्रो आँकलन भन्दा बाहिरको कुरा हो । मृत्युदण्ड समाधान हुन्थ्यो भने हिजोका व्यवस्थाहरु परिवर्तन गरिनुपर्ने नै थिएन नि ।

मृत्युदण्डको व्यवस्था नभएको वर्तमान परिप्रेक्ष्यमा त तल्लो वर्गको थाप्लोमा दोष थोपरेर ठुलाबडाहरुको अपराध लुकाइन्छ भने मृत्युदण्डको व्यवस्थाले कति बर्बर समयलाई निम्तो दिन्छ सोचनिय विषय हो।

मृत्युदण्डको व्यवस्थाबाट विश्वमा कति निर्दोषहरुले अपराधीको विल्ला भिरे होलान् ? कतिले बरण गरे होलान् त्यो क्रुर अत्याचार ? त्यसमा पनि तल्लो बर्गले कति झेल्नुपरेको होला यो बेथितिको चपेटा ?

३ जना पाकिस्तानी नागरिकको सामुहिक हत्याको आरोपमा, सन् २००९ मा पाकिस्तानमा २ जना दाजुभाइ गुलाम सर्बर र गुलाम कादिर लाई मृत्युदण्ड दिइयो । निर्दोष साबित गर्नको निम्ति मुद्दा अदालत पुग्यो । दोस्रोपटकसम्म मुद्दा सुनुवाइ पुर्व नै खारेज भयो।तेस्रो पटक पुनरावेदन गरिएको उक्त मुद्दाको फैसलामा उनिहरु निर्दोष सावित भए ।

सर्बोच्च अदालतले पुनरावेदन गर्ने अनुमति दिएपछि त्यस अघिका आदेशहरु स्थगित हुन्छन् र प्रतिवादीलाइ मृत्युदण्ड दिन पाइदैन । तर त्यसको बिरुद्धमा गएर उनिहरुलाइ मृत्युदण्ड दिइयो।

९ अप्रिल १९९६ मा चीनका १८ वर्षीय हुगजिल्ट ले सार्वजनिक शौचालयमा एउटी महिलालाई बलात्कार गर्ने माथि हमला ग¥यो । हूगजिल्ट आफैले हमला गरको अपराध को लागि मात्र सजाय पाउन प्रहरीलाई आफुलाई पक्राउन को लागि फोन ग¥यो ।

२ महिना नबित्दै हुगजिल्ट लाई दोषी ठहर गर्दै गोली हानी हत्या गरियो । ९ वर्ष पछि अर्को बलात्कारीले हुगजिल्ट निर्दोष छ भन्दै सार्वजनिक शौचालयमा भएको बलात्कार मैले गरेको हो भनेर स्वीकार ग¥यो ।

उसको माता पिता लाई मृत्युदण्डको क्षतीपूर्तीको लागि मात्र ४३०० अमेरिकी डलर दिइएको थियो । विश्वका विकसित मानिएका र विज्ञान प्रबिधिमा आफुलाइ अब्बल स्थानमा राख्न सफल राष्ट्रहरुमा समेत शुक्रकिट परिक्षण जस्तो सजिलो परिक्षणमा यति ठूलो गल्ती हुन्छ ।

हामी त नाम मात्रको डिजिटल युगमा छौँ । स्मार्ट सिटी, डिजिटल सेवा सुबिधा भनेका हाम्रो निम्ति फुर्लुङ्गमा झुण्ड्याइएको हरियो घाँसको मुठा जस्तै हो जसलाई देखेर निरन्तर दौडिरहन्छ दशैँको बलिको निम्ति बेचिएको जनावर ।

अनि हामी माग्दैछौँ, मृत्युदण्ड । बिर्सिएर मानविय संवेदनशीलता । मानव सभ्यताको शुरुआत देखि नै मौलाएको बर्ग संघर्षको खाडल नपुरिने दिनसम्म कठोर कानुनले निम्न बर्गलाई नै निशाना बनाइरहन्छ केवल रुप मात्रै फरक पर्नेछ अन्यायको ।

अर्को कुरा निष्पक्ष न्याय सम्पादन हुने हो भने र निर्दोषहरुलार्इ दोषी करार गरेर कठघरामा नल्याईने हो भने पनि मृत्युदण्ड सहि समाधान होइन । कसैले अपराध गर्छ भने उसले त्यसको सजाय जिन्दगीभर भोग्नु पर्छ र कुर्नुपर्छ प्राकृतिक मरणलार्इ । किनकि मृत्यु ध्रुब सत्य हो ।

जुन एक दिन आँउछ नै।किन उन्मुक्तिको निम्ति सघाउने उसलाई त्यो कठिन समय सँगको यात्राबाट ? अर्को कुरा अपराधीलाई किन चुपचाप दालभात खुवाएर राख्छौँ हामी ?

किन उनिहरुलाई शारीरिक रुपले गर्नुपर्ने कठिन कार्यहरुमा लगाउदैनौँ ? उनिहरुलाइ मृत्यु होइन कठिन जिन्दगी दिनुपर्छ जसले तर्साउनेछ र अपराध गर्नु पहिले सचेत बनाउनेछ । मर्न त सजिलो छ नि गाह्रो त बाँच्नु हो ।

मृत्युदणड समाधान होइन त्ससमाथि हाम्रो जस्तो राजनैतिक अस्थिरताले जकडिएको मुलुकको निम्ति मृत्युदण्ड श्राप हो । सीमान्तकृत माथि दोषारोपण गरेर ठुलाठालु जोगाउन सहयोग गर्ने कसी हो ।दण्डहीनता मौलाउन सहयोगी युरिया हो । जसले तल्लो बर्गलार्इ नै निचोर्ने शिवाय केही गर्न सक्दैन ।
त्यसैले मृत्युदण्ड अर्को अभिषाप हो। महाँअपराध हो ।

Recent Posts

Leave a Comment

Contact Pipala

I hope you enjoy your visit to my webpage. Do not forget to leave your feedback

Pipala Dhungana पिपला ढुंगाना पिपला ढुङ्गाना